बिहीबार, जेठ ३, २०८१

क्रिसमस डे !

सुनील सापकोटा २०७८ पुष १० गते १०:०५

आज क्रिसमस, क्रिसमसको कथा बडो रोचक छ । क्रिसमस ईसा मसीहको जन्मदिनको खुसीमा मनाइने इसाई धर्मावलम्बीहरुको एउटा महान् चाड हो । क्रिसमसभन्दा बार दिन अगाडि ‘क्रिसमस टाइड’ सुरु हुन्छ । क्रिसमस शब्द ‘क्राइस्ट र मास’ दुई शब्द मिलेर बनेको हो जुन मध्यकालको अङ्ग्रेजी शब्द ‘क्रिटेसस’ र पुरानो अङ्ग्रेजी ‘क्रि स्टेसमैसे’ शब्द बाट बनेको हो । सन् १०३८ इस्वीबाट यसलाई क्रिसमस भनिन लागियो। ‘क्रिस’ को अर्थ ईसा मसिह र ‘मस’ को अर्थ इसाईहरुको प्रार्थनामय समूहलाई बुझाउँछ ।

भारत, नेपाललगायत अन्य देशहरुमा २५ डिसेम्बरबाट क्रिसमस मनाउने गरिन्छ भने रुस, मिश्र, अर्बेनिया, इथोपिया, युक्रेन, जार्जिया, सर्बिया र कजाकिस्थान आदि देशहरुमा चाहिँ ७ जनवरीमा यो चाड मनाउने चलन छ । त्यस्तै इटलीमा ६ जनवरीमा क्रिसमस मनाइन्छ । इतिहासकारहरुले यशूको जन्म २ डिसेम्बरदेखि ७ डिसेम्बरभित्र हुनुपर्ने हो भन्ने अनुमान गरेका छन् । वास्तवमा भन्ने हो भने यशूको जन्म तिथि अज्ञात छ भन्दा हुन्छ ।

ईसाको जन्म कथा पनि गजबको नै छ । इसाई पौराणिक कथा अनुसार प्रभु (ईश्वर) ले मेरी नाम गरेकी एउटा कुमारी केटी कहाँ गैब्रियल नामक देवदूत लाई पठाए । उक्त देवदूतले मेरी लाई प्रभुको पुत्र तिमिले अब जन्माउने हो भनेर भने । त्यो पुत्रको नाम ” जीसस ” हुनेछ । यो बच्चा ठुलो भएपछि राजा हुनेछ र उसको राज्यको कुनै सिमा हुने छैन । मेरीले आश्चर्य मान्दै भनिन -” यो कसरी सम्भव छ ?” देवदूतले भने, ‘यो हुन्छ, हेर्दै जाऊ’ । पछि जोसफ नाम गरेको कुनै केटा सङ मेरीको बिवाह हुन्छ र ईसाको जन्म हुन्छ ।

हिजोआज हाम्रो नेपाली समाजमा क्रिसमस चाड मनाउनेहरुको संख्या बढदै गएको छ । क्रिश्चियन धर्म अपनाउनेहरुको जनसंख्या पनि बढी रहेको छ । यहाँ यो धर्म र यो चाडको बिरोध गर्नेहरु पनि धेरै नै छन । मलाइ लाग्छ बिश्वका कुनै पनि धर्म – संस्कृति नराम्रो छैन । सबै मानव कल्याणको लागि हुन तर कुनै पनि धर्म संस्कृति कुनैपनी देशमा दबाब र प्रभोलनमा लादिनु चाहिँ हुँदैन । कुनैपनी धर्म र संस्कृति अपनाउने कुरा स्वेच्छिक हुनुपर्छ। मानव संस्कृतिको निर्माणमा यो दुनियाँमा सबै धर्म र संस्कृतिको योगदान रहेकोछ जस्तो मलाई लाग्छ । वेद- उपनिषद्, त्रिपिटक, गीता, बाइबल, कुरआन, गुरुग्रन्थ साहबको पनि मानव कल्याणमा योगदान छ। कट्टरता लाई छोड्ने हो भने कुनै पनि धर्मको विरोध गर्नु हुँदैन ।

किनभने सबै धर्मको चुरोमा प्रेम, दया, करुणा, क्षमा, परोपकारजस्ता मानवीय मूल्यहरु छन् । यसको प्रयोग तोड्नमा होइन जोडनमा गर्नु पर्छ । हरेक धर्मको मूल सिद्धान्त मानवताको सेवा हो । सुख र समृद्धिको परिकल्पना हो। ईश्वर, अल्ला, प्रभु (गड) लाई हामीले कहिल्यै पनि आपसमा झगडा गरेको सुनेका वा पढेका छैनौं । त्यसैले हामी अनुयायीहरुमा वैमनस्य किन ? यो कुरा हरेक मानवले सम्झने र बुझ्ने हो भने यो दुनियाँलाई स्वर्ग भन्दा सुन्दर बनाउन सकिन्छ ।

क्रिसमसको सबैमा शुभकामना ।

प्रतिक्रिया