‘बिमासम्बन्धी नीतिगत व्यवस्था चाहियो’

काठमाडौं । बाराको कलैया उपमहानगरपालिकामा बिमासम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ । बिमा समितिले गरेको बिमासम्बन्धी कार्यक्रममा प्रमुख अतिथि कलैया उपमहानगरका प्रमुख राजेश राय यादवले आम नगरवासीलाई बिमाको दायरामा ल्याउनु पर्ने बताए । उनले आगामी बैठकमा बिमासम्बन्धी नीतिगत व्यवस्थाका लागि आवश्यक निर्णय गर्ने पनि जानकारी दिए । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले विपद्बबाट हुने हानी नोक्सानीबाट आर्थिक क्षतिलाई न्यून गर्नका लागि बिमा सम्बन्धी नीति ल्याएर आम नगरवासीलाई बिमाको दायरामा ल्याउने बताए ।
कार्यक्रममा निर्देशक दिनेशकुमार लालले बिमाको परिचय, बीमाको महत्व, बिमा दाबी भुक्तानी प्रक्रिया र बिमाको पहुँच विस्तारमा स्थानीय सरकारको भूमिका लगायतका विषयहरु समेटिएको बीमासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरुले बिमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम वडास्तरमा पनि आयोजना गर्नुपर्ने, स्थानीयस्तरमै सहजरुपमा पशुपन्छी र बालीनालीको बीमा गर्न पाउने व्यवस्था गर्नुपर्ने, बीमा दाबी प्रक्रिया सरल हुनुपर्ने, बिमा दाबी भुक्तानी समयमै पाउनुपर्ने लगायतका धारणा राखेका थिए ।
समितिको आयोजनामा भएको कार्यक्रममा पालिका प्रमुख यादव, उपप्रमुख रहिमा खातून, बीमा समितिका अध्यक्ष सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक लाल सहभागी थिए । पालिकाका वडाध्यक्ष र सदस्यका साथै प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरु, बिमा बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, शिक्षक, कृषक र सर्वसाधारण गरी करिव ५० जना कार्यक्रममा सहभागी भएको थिए ।
प्रतिक्रिया