माओवादी महाधिवेशन : निर्वाचन तालिका प्रकाशन गर्ने तयारी

नेपालखोज २०७८ पुष १५ गते १२:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम जारी छ । २५ समूह बनाइएकोमा बुधबार ११ समूहको निष्कर्ष प्रस्तुत गरिएको थियो भने आज बाँकीले निष्कर्ष प्रस्तुत गर्दैछन् ।

समूहगत छलफलको निष्कर्ष सुनाउन प्रत्येक टोली नेतालाई १५ मिनेटको समय दिइएको छ । प्रस्तुतिको अभिलेखीकरण गर्न तीन सदस्यीय टोली बनाइएको छ । समूहगत छलफलको निष्कर्ष लिखित रुपमा राख्न निर्देशन जारी गरिएको छ ।

बन्दसत्रमा आज प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफलको निष्कर्ष प्रस्तुत गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन र देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदा अनुमोदन गरिने छ । नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु गरिने पनि निर्वाचन समितिले जनाएको छ ।

आज निर्वाचन तालिका प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ । नयाँ नेतृत्वका लागि भोटिङको तयारी पूरा भइसकेको बताइएको छ ।

प्रतिक्रिया