शुक्रबार, वैशाख २१, २०८१

ह्याङओभरबाट मुक्ति कसरी पाउने ?

नेपालखोज २०७८ पुष १७ गते १८:१४

काठमाडौं । मदिरापान स्वास्थका दृष्टिले खतरनाक छ भन्ने कुरा त तपाईं हामी सबैलाई थाहै छ । यद्यपि सेलिब्रेसनको अवसर त्यसमा पनि न्यु इयर, बर्थ डे, एनिभर्सरीजस्ता उत्सवमा धेरैले आफूलाई रोक्न सक्दैनन् । रमाइलो समारोहमा पेग चढाउँदै जाँदा कतिपयले बढी पनि पिउँछन् । यस्तोमा भोलिपल्ट बिहान ह्याङओभर, टाउको दुख्ने वा थकान स्वभाविक हुनपुग्छ । हेरौं ह्याङओभर तथा मदिरासम्बन्धी समस्याहरुबाट जोगिने केही उपाय :

प्रशस्त पानी पिउँ
मदिरामा भएको अल्कोहललाई हाम्रो शरीरले निकै छिटो सोस्छ । अल्कोहलले रगत घुलेर पानीको अणुलाई तोडिदिन्छ । फलस्वरूप शरीरमा पानीको कमी हुनपुग्छ । त्यसैले जुन दिन पार्टी छ त्यस दिन बिहानदेखि नै प्रशस्त पानी पिउनुपर्छ । हर पेगपछि पानी पिउनु पनि फाइदाजनक हुन्छ । यसबाट बढी पिउने समस्याबाट समेत जोगिन सकिन्छ ।

खाली पेट नबसौं
खाली पेटमा रक्सी सेवन गर्नु हुँदैन । रक्सी पिउनुभन्दा कम से कम डेढ-दुई घण्टापहिले आफूले खाने डाइटक‍ो तीनचौथाइ भाग खाइसक्नु उपयुक्त हुन्छ ।

कतिपय मानिस ह्‌विस्की वा रममा पानीको साटो कोकाकोला वा अरु कुनै गुलियो मिश्रित पेय मिसाउँछन् । ह्याङओभरबाट जोगिनु छ भने यसबाट परै रहनुपर्छ । गुलिया पेयमा भएको सुगरले अल्कोहलसँग मिसिएर शरीरलाई चार्ज गरिदिन्छ जसको असर भोलिपल्ट मात्र थाहा लाग्छ । ह्‌विस्की वा रमजस्ता हार्ड ड्रिंक्समा प्रशस्त पानी मिसाउनु उपयुक्त हुन्छ ।

नेपालमा मानिसहरु कुखुरा, खसी, बंगुर वा राँगाको मासुका परिकारसँग मदिरा पिउँन रुचाउँछन् । यद्यपि यो शरीरको स्वास्थका हिसाबले त्यति राम्रो कुरा होइन । खासमा मानिसहरु ड्रिंकसँगै निकै मासु खाएको पत्तो पाउँदैनन् परिणाम भोलिपल्ट पाचनसम्बन्धी गडबडी त देखा पर्छ नै शरीर र दिमागसमेत सुस्त वा बोदो हुन्छ ।

के खाने त ?
पार्टीको दिन पहिलेदेखि नै प्रशस्त फल तथा सलाद खानुपर्छ । यसबाट शरीरले पर्याप्त पोषण प्राप्त गर्छ र भोलिपल्ट शरीरमा भिटामिन तथा खनिज पदार्थको कमी हुन पाउँदैन । ड्रिंक्सका साथ सुप पिउनु पनि फाइदाजनक हुन्छ ।

कतिपय मानिसहरु अलग-अलग ड्रिंक मिक्स गरेर पिउँछन्, यसो गर्नु थप हानिकारक हुन्छ । प्रत्येक किसिमको मदिराले शरीरमा अलग-अलग ढंगले प्रतिक्रिया जनाउने हुन्छ । यस्तोमा रक्सी मिक्स गरेर पिउँदा शरीर निकै बढी तनावमा धकेलिन्छ ।

उल्टी (बान्ता) गर्नु बिमारी मात्र होइन
धेरैजसो युवालाई मदिरा पिएर उल्टी गर्दा बेइज्जती भएको महसुस हुन्छ । यस्तो कुरा मनबाट निकालिदिनुपर्छ । बान्ता आउनुको अर्थ हो शरीरले मदिरा सहज रुपमा ग्रहण गर्न सकिरहेको छैन र हानिकारक तत्त्व बाहिर निकाल्न खोजिरहेको छ । बान्ता आउन लागेजस्तो भए रेस्टरुममा गएर बान्ता गरिदिउँ । यसो गर्नाले आफूसँगै अरुलाई पनि सहज हुनेछ ।
यसैगरी सिगरेटले रक्सीको नशालाई अझ बढाउँछ । खासगरी रगतमा भएको अल्कोहल र निकोटिनको प्रतिक्रियाले मस्तिष्कमा खराब असर पार्छ ।

बिस्तारै पिउँ
केही मानिस सटासट पिउँछन्, यसो गर्नु घातक हुन्छ । शरीरमा अल्कोहलको मात्रा अचानक बढ्नु ठीक होइन । सकेसम्म कम र बिस्तारै पिउने प्रयास गर्नुपर्छ । बीच-बीचमा आँखामा पानी छम्कनु पनि फाइदाजनक हुन्छ । आँखामा चिसो पानी पर्नेबित्तिकै केही पलका लागि नशाको असर कम हुन्छ ।

यसैगरी एकै ठाउँमा बसिरहनुको साटो बीच-बीचमा बाहिर निस्किएर ताजा हावाको आनन्द उठाउने वा हल्का हिँड्ने अभ्यासले स्थिति नियन्त्रणमा रहन्छ । त्यति मात्र पिउनुपर्छ जतिमा आफूलाई सम्हाल्न सकिन्छ । कुनै पनि कुरामा रिसाउने वा उत्तेजित हुनेभन्दा पनि त्यसलाइ टाल्ने र दिमाग ठन्डा राख्ने प्रयास गर्नुपर्छ । केही क्षणको यो रमाइलो आफूमाथि भार हुनुहुँदैन ।

मदिरापानपछि कुनै पनि स्थितिमा गाडी चलाउनु हुँदैन । यो आफू र अरुहरुको सुरक्षाका लागि घातक हुन्छ । राति सुत्नुअघि पानी पिउने, घरका बत्ती, पानी, ढोका आदि चेक गर्ने नियमित काम गर्न नछाडौं । ह्याङओभरबाट जोगिन राम्रो निद्रा अत्यावश्यक हुन्छ भन्ने कुरा पनि नबिर्सौं ।

प्रतिक्रिया