सोमबार, वैशाख १७, २०८१

बबरमहलका मालिकको कथा

सुनील उलक २०७८ पुष १८ गते १३:२८

यो तस्विर हो बबरशमशेरको परिवारको । अलि झोक्की स्वभावका बबरशमशेर राणा शासन समाप्तिपछि बनेको पहिलो मन्त्रिपरिषद्‌मा रक्षामन्त्री बनेका थिए । यदि राणाशासन २००७ सालमा समाप्त नभएर केही समय अझै रहेको भए रोलक्रमअनुसार श्री ३ बन्थे । चन्द्रशमशेरका माहिला छोरा बबरशमशेरलाई पोखरेलीले पनि सम्झनुपर्ने आवश्यकता छ । उनले नै पोखरामा सार्वजनिक कलधारा स्थापना गरेर बस्ती विकासका लागि महत्त्वपू्र्ण योगदान गरेका थिए ।

वि.सं. १९७७ मा बेलायतबाट मगाइएका आधुनिक कलधारा पोखराका प्रमुख १४ स्थानमा जडान गरेका थिए । यी धाराका पानीको स्रोत पोखराको पश्चिममा मूलको पानीलाई जम्मा गरेर तीनवटा पानीको ट्यांकी बनाइ वितरण गरिएको थियो । धाराको पानी जम्मा गरिएको स्थानको नाम नै पछि धारापानी रह्यो ।

वि.सं. १९६२ मा जन्मिएका जेठो छोरा बालशमशेरको केवल १४ वर्षको उमेरमा असामयिक निधन भएपछि उनकै सम्झनामा पोखरामा बालधारा जडान गरिएको थियो । तस्बिरको दायाँतर्फ उभिएका तिनै बालशमशेर हुन् । तस्बिरको बायाँतर्फ उभिएका बबरशमशेरका माहिला छोरा मृगेन्द्रशमशेर हुन् । नेपालको शिक्षाको विकासमा प्रमुख भूमिका खेल्ने शिक्षा विभागको डाइरेक्टर तथा नेपालको पहिलो संग्रहालय शिलखानाका समेत डाइरेक्टर बनेका मृगेन्द्रशमशेर गोर्खा दलका प्रमुख एवं भारतीय चलचित्रका निर्मातासमेत रहेका भरतशमशेर, इतिहासकार सागरशमशेर तथा जगदीशशमशेरका बुबा हुन् । बाबुले समाएर बसेका सबैभन्दा सानो बालक इतिहासकार एवं नेपालको महाभूकम्पका लेखक ब्रम्हशमशेर हुन् ।

कुर्सीमा बसेकी जेठी छोरी चक्रधुर राज्यलक्ष्मी हुन् । उनको विवाह भारत गुजरातमा रहेको सानो राज्य गोन्दलका राजकुमार शिवराजसिंहजी भोजराजसिंहजी साहिवसँग भएको थियो ।

देशमा प्रजातन्त्रपश्चात केही समयपछि नै भारतको बैंगलोर पलायन भएका बबरशमशेर केही वर्षको भारत प्रवासपछि नेपाल फर्केका थिए । उनको २०१७ वैशाख ३० गते बबरमहलमै निधन भएको थियो ।

No description available.

प्रतिक्रिया