सोमबार, वैशाख १७, २०८१

चोटपटकबाट बालबालिकालाई कसरी सुरक्षित राख्ने ?

डा. पुष्पराज पन्त २०७८ पुष २० गते १२:२७

बालबालिकालाई हुनसक्ने चोटपटक वा इन्जरीमा कमी ल्याउन अभिभावक, स्याहारकर्ता र आमजनसमुदायले विभिन्न कदम चाल्न सक्छन् । यसका लागि बालबालिकामैत्री सुरक्षित घर, खेल्ने ठाउँ, सडक-बाटोहरू निर्माण गर्नेतर्फ विचार पुर्याउनु अति नै आवश्यक छ । बालबालिकामा हुने चोटपटकका कारण परिवार र समाजमा आइपर्ने बोझ, तिनको रोकथामको महत्त्वको विषयमा छलफल गर्ने गरेमा घाइतेको औषधि उपचार खर्चमा कटौंती गर्न सकिन्छ भने बालस्वास्थ्य प्रवर्द्धनमा प्रत्यक्ष मद्दत पुग्छ ।

एक वर्षदेखि पाँचवर्ष सम्म
म एक वर्ष पुगेपछि तपाईहरू कत्ति खुशी हुनु भएको छ । तर म अलि ठुलो भए पनि आफ्नो स्याहार गर्न र खतरा चिन्न सक्दिन ।
अझै पनि घरभित्र वा घर वरपरकै धेरै कुराहरूले मलाई घाइते बनाउने खतरा छ ।
मलाई कुनै नौलो चिज साना, ठुला, जेसुकै देखेपछि त्यसैसँग खेल्न मन लागिहाल्छ ।
मलाई एक्लै खेल्न पनि जान नदिनुहोस् ।
म हातले समात्न सक्ने जुनसुकै वस्तु पनि मुखमा हाल्छु । यसरी जे पायो त्यही मुखमा हाल्दा घाँटीमा अड्किने, विषालु हुने, वा अन्य पेटका रोग पनि लाग्न सक्छ ।
मेरो वरपर भएका सिक्का–पैसा, गेडागुडी, स–साना खेलौनाहरू हटाउनुहोस् र चाहिएको बेलामा मात्र मलाई दिनुहोस् ।
नुहाउने बेलामा म धेरै चलेर चिप्लिन पनि सक्छु र भुँईमा ठोक्किएर नराम्ररी चोट पनि लाग्न सक्छ । मेरो नुहाउने ठाउँलाई सुरक्षित बनाउनुहोस् ।
मलाई सुताउने ठाउँको पनि ख्याल गर्नुहोस् । तखतामा केही ढल्ने कुरा राख्नु भएको रहेछ भने मुसा, बिरालोले ढलाएर मलाई चोट लगाउन पनि सक्छन् ।

हेर्नुहोस् त म त ठुलो हुँदै छु नि !
अब मलाई माथि माथि पुग्न र त्यहाँबाट हेर्न रहर लाग्छ ।
त्यसैले म पिर्का, डोको वा भाँडाकुँडाको सहायताले झ्यालमा चढेर बाहिरतिर हेर्ने पनि गर्दछु ।
मलाई रुखमा चढ्न पनि धेरै मन पर्छ । एक्लै वा साथीसँग रुखमा चढेर खेल्दा म त्यहाँबाट लडेर घाइते हुने र हाड भाँचिने पनि हुनसक्छ ।
मलाई टेबुल वा अग्लो ठाउँमा राखेको कुरा भेट्न र त्यसलाई समात्न मन लाग्छ । यसो गर्दा मलाई धेरै खतरा हुनसक्छ भन्ने थाहै हुँदैन ।

चर्पी
मलाई एक्लै छाड्नु भयो भने तपाईलाई पछ्याउँदै काम गरेका ठाउँमा पनि आइपुग्छु । एक्लै घरमा बसे पनि चोटपटक लगाउन सक्छु । मलाई तपाईहरूको रेखदेखको धेरै खाँचो पर्दछ ।
मैले तपाईहरू वा हजुरबा–आमाको औषधि भेटें भने पनि खाइदिन्छु । त्यसरी औषधि खाएँ भने मलाई विषालु असर पनि हुनसक्छ ।
घरको भुँइतिर शिशीमा केही किटनाशक, केमिकल वा रसायनिक पदार्थ भेटेँ भने पनि म खाइदिन्छु । यसले मलाई धेरै नराम्रो असर पनि गर्न सक्छ ।
अब म तपाईले सिकाएका सुरक्षासम्बन्धी केही कुराहरू सिक्न पनि सक्छु । त्यसैले मलाई माया गरेर मेरो सुरक्षाका कुराहरू सिकाउन सुरु गर्नुहोस् । तर पूर्ण रुपमा सिकेको कुरा पालना गर्न मलाई अझै समय लाग्छ । त्यसैले घरवरपर र बाहिर मलाई हुनसक्ने खतराहरूको खोजी गरेर तिनलाई हटाउनुहोस् ।

चोटपटकबाट बालबालिकालाई कसरी जोगाउने ?

स्कुल जाने उमेरका बालबालिका
मलाई यो उमेरमा घर भित्रभन्दा घर बाहिर खेल्न मनपर्छ ।
स्कुल जाँदाखेरी मलाई बाटोमै पनि चोटपटक लाग्ने धेरै कुराहरू हुन्छन् ।
एक्लै स्कुल पठाउनु भयो भने मलाई चोट लाग्ने खतरा धेरै बढी हुन्छ ।
म स्कुलबाट फर्के पछि सकभर मेरो शरीरमा कतै चोट पो लागेको छ कि भनेर जाँच्नुहोस् । आफुलाई चोट लागेको कुरा मैले नभनेर लुकाएको पनि हुनसक्छ ।
यसरी जाँच गर्दा मेरो चोटपटकको कारण सोध्नुहोस् र अबदेखि मलाई वा अरुलाई त्यस्तो नहोस् भनेर त्यसको समाधान गर्ने प्रयास गर्नुहोस् ।
मैले एक्लै वा साथीसँग तलका खतरापूर्ण काम गर्दैछु कि ? विचार गरौं ।
-माछा मार्ने, पौडी खेल्ने
-ठुलो साइकल चलाउने
-झ्यालमा उक्लँने, घरको छाना माथि हिंड्ने
-गुलेली खेल्ने, बार नाँघ्ने, धारिलो हतियार खेल्ने,
-रुख चढ्ने, चलिरहेको बसको पछाडि झुण्डिने
-आगोसँग खेल्ने,
-भिरालोमा दगुर्ने, खाल्डो वरपर वा नजिकै खेल्ने
-अँध्यारोमा वा जंगलमामा एक्लै हिंड्ने
-भाँचिएको ढिकिच्याँउ वा अन्य असुरक्षित खेलौनासँग खेल्ने ।

बालरोग विशेषज्ञ डा. पुष्पराज पन्त नेपाल इन्जरी अनुसन्धान केन्द्रमा संलग्न छन् ।
स्रोत : युनिसेफ, नेपाल

प्रतिक्रिया