एमालेमा देउताको वरिपरि पूजक र भजनमण्डली बस्छन् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा कुनैपनि नीति नभएको दाबी गरेका छन् । नेकपा एकीकृत समाजवादी काठमाडौं महानगर कमिटीको कार्यक्रममा उनले एमालेमा देउताको वरिपरी पूजक र भजनमण्डली बस्ने गरेको बताए ।
ओलीले एकैदिन ७७ वटै जिल्लामा अधिवेशन उद्घाटन गरेकोमा पनि नेपालले विरो जनाए । उनले भने, ‘त्यहाँ कुनै नीति पद्धति छैन । नेताको देवत्वकरण गर्ने, देउता जस्तो मान्ने । देवत्वकरण भइसकेपछि त्यो देउताको वरिपरी पूजक र भजनमण्डली मात्रै बस्ने प्रवृति छ ।’
उनले एमालेमा पूजक र हनुमान प्रवृत्तिका मानिस रहेको बताए । उनले भने, ‘त्यहाँ सिद्धान्तनिष्ठ कार्यकर्ता, आलोचनात्मक चेत, विश्लेषण गर्ने, सही र गलत छट्टाउन सक्ने मानिसहरु नै छैनन् । त्यहाँका मानिस वौद्धिकताको विकास गर्ने आधुनिक ज्ञान र चेतना हासिल गर्ने व्यक्ति होइनन् । पूजक र हनुमान प्रवृति, अझ भन्दा गणेश प्रवृति भएकालाई मात्रै ठाउँ छ । त्यसैले त्यो समूह भित्र विद्रोह भइरहेको छ ।’
नेपालले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि बताए । उनले भने, ‘निरकुंश सत्तालाई हिजो पनि चुनौती दिएका थियौं । अहिले पनि पार्टी कब्जा गर्नेको पार्टी सत्ता र सरकार कब्जा गरेको सरकारी सत्तालाई हटाएका छौं ।’
ओलीले सरकारमा हुँदा पार्टीमा लोकतान्त्रिक मूल्यमान्यतालाई धुजाधुजा पारेकापछि विद्रोह भएको नेपालको भनाइ छ । उनले ओलीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो हार र पराजय स्वीकार गरिसकेको पनि बताए । उनले भने, ‘आज तपाईंहरुले केपी ओलीको एउटा भाषण सुन्नुभयो होला । भाषणमा उनले राष्ट्रिय सभाको निर्वाचनमा हाम्रो पराजय निश्चित छ भनेर भने। । हार स्वीकार गरेका छन् । पराजय स्वीकार गरेका छन् ।’

प्रतिक्रिया