‘सरकारले नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी गरेको छ’

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी गरेको बताएकी छन् ।
सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालले काठमाडौंमा आयोजना गरेको ‘नेपाल पावर मार्केट समिट’ लाई सम्बोधन गर्दै मन्त्री भुसालले अन्तरदेशिय विद्युत व्यापारमा सहयोग पुर्याउनका लागि सरकारले नीजि क्षेत्रलाई विद्युत व्यापारको लागि अनुमति दिने तयारी गरेको बताइन् ।
सरकारले नेपाल विद्युत व्यापार कम्पनीलाई अन्तरदेशिय विद्युत व्यापारको लागि अनुमति दिइसकेको पनि उनले बताए । नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधि ड्राफ्ट गरिरहेको उल्लेख गर्दै उनले सरोकारवाला निकायहरुसँग पनि छलफल गरिने बताइन् ।
उनले भनिन्, ‘हालै सरकारले नेपाल विद्युत व्यापार कम्पनीलाई अन्तरदेशिय विद्युत व्यापारको अनुमति प्रदान गरेको छ । करिब दुईहप्ता अगाडीको क्याबिनेटबाट हामीले यो निर्णय गरेका छौँ । मन्त्रालय अन्तरदेशिय विद्युत व्यापारमा सहयोग पुगोस् भनेर नीजि क्षेत्रलाई पनि विद्युत व्यापारका लागि अनुमति दिने तयारीमा छ । हामी कार्यविधिको ड्राफ्ट गरिराखेका छौँ । त्यसपछि हामी स्टेक होल्डरलाई बोलाउने छौँ र त्यसलाई परिमार्जित गरेपछि एउटा निर्णयमा हामी पुग्नेछौँ । विद्युत व्यापारमा सरकारी र नीजि क्षेत्रको निरन्तर पहलकदमीबाट हामीले सफलता प्राप्त गर्नेछौँ भन्ने मैले विश्वास लिएको छु ।’
मन्त्री भुसालले सरकारको पहिलो प्राथमिकता विद्युत खपतलाई वृद्धि गर्दै लगेकाे बताइन् । देशको समृद्धिका लागि विद्युतको उत्पादन र खपत वृद्धि गर्नुपर्नेमा उनको जोड छ । देशको प्रतिव्यक्ति विद्युत खपत न्यून रहेकाले कम्तिमा प्रतिव्यक्ति विद्युत खपत ७०० युनिट पु¥याउनुपर्ने उनले बताइन् । उनले भनिन्, ‘हामीले चाहेको समृद्धिका लागि विद्युत उत्पादन र खपत वृद्धि गर्दै लैजानु पर्छ । हाम्रो देशको प्रतिव्यक्ति विद्युत खपत न्यून रहेको छ । यसलाई कम्तिमा प्रतिव्यक्ति विद्युत खपत ७०० युनिट पु¥याउनुपर्नेछ । यसका लागि हाम्रो आन्तरिक विद्युत खपत करिब ५ हजार मेघावाट पुर्याउनु पर्छ । हाल हाम्रो पिक आवरको विद्युत माग करिब १६ सय ५० मेघावाट रहेको छ । सरकारको पहिलो प्राथमिकता विद्युत खपतलाई वृद्धि गर्दै लैजाने हो ।’
विद्युत खपतलाई वृद्धि गर्नाका लागि सरकारले विद्युतिय चुल्होको प्रयोग र विद्युतिय सवारी साधनको प्रवद्र्धन गर्ने नीति लिएको मन्त्री भुसालले स्पष्ट पारिन् । उनले बढी विद्युत खपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका नीजि क्षेत्रलाई आव्हान गरिरहेको बताइन् ।

प्रतिक्रिया