बुधबार, जेठ २, २०८१

के पृथ्वीनारायण गलत थिए ?

शान्तिमान श्रेष्ठ २०७८ पुष २७ गते ९:५२

पृथ्वीनारायण शाहले उपत्यकाका ३ राज्यहरुमध्ये सबैभन्दा अन्तिममा मात्र कब्जा गरेको भक्तपुरसँगको युद्ध बारे प्रशस्त चर्चा र परिचर्चा हुनेगर्छ र यस बारे प्रशस्त लेखहरु आइरहन्छ । पृथ्वी नारायण शाहसँग नेवार समुदाय अनिवार्य रुपले जोडिन्छ किनभने पृथ्वीनारायण शाहले जितेका राज्यहरु मध्य रणनैतिक र आर्थिक रुपले सबैभन्दा महत्त्वपूर्ण राज्य उपत्यकाका मल्ल राज्यहरु थिए । यसैले कतिपय नेवार समुदायमा पृथ्वीनारायण शाह प्रति एक खालको धारणा छ ।

तत्कालिन समयमा पुरै एसिया महादेशमा बेलायती साम्राज्य लज्जास्पद तरिकाले हारेको पहिलो युद्ध गोर्खा सेना सँग भएको सिन्धुलीगढिको युद्ध थियो, यो युद्धमा ७० प्रतिशत बेलायती सेना मारिएर पुरै हतियार गोर्खाले कब्जा गरेको थियो । यो युद्धको परिणामले बेलायतीहरुलाई एउटा आक्रोश र बदलाको भावना जागेको थियो ।

तत्कालिन समयमा बेलायती साम्राज्यलाई टक्कर दिन चीन, फ्रान्स, जर्मन, रुस, पोर्चुगल, स्पेन लगायतका शक्तिशाली राज्यहरु समेत हिच्किचाउँथे र सकभर बेलायत सँगको मूठभेड टार्ने प्रयत्न गर्थे । बेलायती साम्राज्यलाई हराउनु असम्भव जस्तै हो भन्ने मत विश्वव्यापी रुपमा स्थापित भएको समयमा पृथ्वीनारायणले बेलायती साम्राज्यलाई ठुलो धक्का दिएका थिए र बेलायती साम्राज्यको जग हल्लाइदिएका थिए ।

तत्कालिन परिस्थितिमा उपत्यकाका मल्ल राज्यहरु समक्ष केही सीमित विकल्पहरु थिए :

१- उपत्यकाको मल्ल राजाहरु एकजुट भएर फेरि एउटै बलियो राज्य बनाउने र नेपाल एकिकरणको नेतृत्व गर्ने ।

२- नेपाल भित्रकै कुनै राज्यद्वारा पराजित भएर अधिनस्थ हुने ।

३- भारत कब्जा गरिसकेको अंग्रेज साम्राज्यको अधिनस्थ हुने ।

४- कालान्तरमा तिब्बत निलेको चिनियाँ साम्राज्यको अधिनस्थ हुने ।

उपत्यकाको नेवा: राज्यहरु समक्ष यी ४ बाहेक अन्य विकल्प थिएन । यी ४ विकल्प छलेर आजको मिति सम्म पनि उपत्यकाका ३ मल्ल राज्यहरु त्यही स्वरुप र आकार-प्रकारमा आजसम्म अस्तित्वमा रहिरहन्थे भनेर सोंच्नेहरु या त बुद्धि भुटिएका पटमूर्ख हुन् या त कसैको दानापानी खाएर परिचालित हुन् । अत्यन्त संकिर्ण, साँघुरो र स्वार्थपरक चिन्तन र स्वभावका कारण उपत्यकाका मल्ल राजाहरुले पहिलो उत्तम विकल्पको मार्गबाट च्युत भए ।

नेवार समुदायको सदस्यका रुपमा मेरो लागि सबैभन्दा उत्तम र अनिवार्य विकल्प यहि थियो । यो विकल्प प्रति मल्ल राजाहरु आफैं उदासिन रहेपछी बाँकी रह्यो ३ विकल्प । उपत्यकाको मल्ल राज्यहरु समक्ष रहेको ४ विकल्पहरु मध्ये सबैभन्दा उपयुक्त विकल्प पहिलो विकल्प थियो ।

उपत्यकाका राज्यहरु आर्थिक रुपले समृद्ध पनि थिए उनीहरुले यहि समृद्धिको उपयोग गरेर सैन्य क्षेत्रलाई मजवुत बनाएर एकिकरणको नेतृत्व गर्न सक्थे तर उपत्यकाको ३ राज्यहरु एक आपसमा लडन र एक आपसलाई कमजोर बनाउन तल्लिन रहे । बेलायत, पोर्चुगल, फ्रान्स, डच, टर्किसहरु ७ समुन्द्र पार गरेर पुरै भारत निलेर, नाकको डाँडी मुनि आइपुगेर तिब्बत हुँदै चीन तर्फ आँखा लगाइरहँदा समेत उपत्यकाका मल्ल राज्यहरुको ध्यान थानकोट काटेर बाहिर जान सकेन बरु एक अर्कालाई कमजोर बनाउन ईसाई मिशनरी र अंग्रेजहरुसँग सम्बन्ध बढाउने होडबाजिमा लागे ।

जय प्रकाश मल्लले रातो कार्पेट बिछाएर ईसाई पादरिहरुलाई भित्राए, अंग्रेज सेनालाई उपत्यका भित्राउन पहल गरे । व्यापारको निहुँमा भारतको गुजरात स्थित सुरतमा पहिलोपटक छिरेको धोकेबाज अंग्रेजले जुन राजा संग व्यापारिक सम्झौता गरेर सुरत छिरेको थियो त्यही राजालाई धोकापूर्ण तरिकाले हत्या गरेर राज्य हत्याउँदै बिस्तारै पुरै भारत निलेको तथ्य भित्रको अन्तर्वस्तु ठम्याउन जय प्रकाश मल्ल असमर्थ रहे र गद्धी जोगाउन आत्मघाती कदम चाले ।

विश्वभर साम्राज्यवादी विस्तारको होड चलेको तत्कालिन परिस्थितीलाई ठिक तरिकाले ठम्याएर राज्यको अस्तित्व जोगाउन राज्य विस्तार को नेतृत्व गर्नुपर्ने अनिवार्य आवश्यकतालाई मल्ल राजाहरुले बुझ्न सकेनन् । यद्यपि एउटा निकै सानो र पछौटे राज्य गोर्खाका राजा पृथ्वीनारायण शाहले यो सब परिस्थितिलाई गहिरिएर नियालिरहेका थिए, नाकको डिलैमा आइपुगेको अंग्रेज साम्राज्यको नियत, लक्ष, रणनिती र चालबाजि अनि सम्भावित परिणामलाई उनले राम्ररी ठम्याएका थिए ।

सैन्यकरण गरि राज्य विस्तार गरेर राज्यलाई शक्तिशाली बनाउनु बाहेक आफ्नो सानो राज्य र नेपालको अस्तित्व जोगाउन अन्य विकल्प नरहेको कटु तथ्य उनले बुझे तर यो तथ्यलाई उपत्यकाका मल्ल राजाहरुले बुझ्न सकेनन् । पृथ्वीनारायण शाहले उपत्यकामा जित हासिल गरे लगत्तै धर्म प्रचारको बहानामा अंग्रेजको बिस्तारबादी अभियानको लागि जाशुसी गर्न उपत्यका छिरेका पादरिहरुलाई देश निकाला गरे फलस्वरुप अंग्रेजहरु पृथ्वीनारायण शाह प्रती थप आक्रोशित बने र बदला लिएरै छोड्ने अठोट लिए । यसकारण उपत्यका बाट अपमानजनक ढंगले धपाइएका पादरिहरु र सिन्धुलिगढिको युद्धमा लज्जास्पद ढंगले हराइएका अंग्रेज सेनापती बेलायत पुगेर पृथ्वीनारायण शाह विरुद्ध वमन गर्दै पुस्तकहरु लेखे । निश्चय नै युद्धमा परास्त भएको समुदायहरुको युद्ध विजेताप्रती सकारात्मक भावना आउनु कठिन नै हुन्छ तर तत्कालको परिवेशलाई निकै फराकिलो ढंगले व्याख्या, विश्लेषण गरेर गहिराईमा केलाउन जरुरी हुन्छ ।

तत्कालिन अवस्थामा विश्वभर तरबारको बलमा राज्य विस्तार गर्ने होडबाजी थियो, जुन राज्यले सैन्यशक्ती मजबुत बनाएर आफ्नो राज्य विस्तार गर्दै मजबुत बनाउन सक्यो त्यो राज्य बाँच्यो, अन्य राज्य पराजित भएर कुनै राज्यमा गाभियो, योभन्दा अर्को विकल्प थिएन, यो तथ्यलाई पृथ्वीनारायण शाहले राम्ररी बुझेका थिए । नत्र गोर्खा राज्य पनि कुनै राज्य द्धारा पराजित भएर अधिनस्थ हुनुपर्थ्यो ।

जस्तो मानिलिउँ : पृथ्वीनारायण शाहले नेतृत्व गरेको गोर्खा राज्यले उपत्यका माथी हमला गरेर आफ्नो राज्यमा नगाभेको भए र पृथ्वीनारायण शाहले राज्य विस्तार वा एकीकरणको अभियान नछेंडेको भए आजको मिति सम्म गोर्खा राज्य र उपत्यकाका राज्यहरु त्यही स्वरुप, आकार र स्थितिमा रहिरहन्थे त ? उपत्यकाका ३ वटा मल्ल राज्यहरु आजको मितिमा स्वतन्त्र राष्ट्रको रुपमा रहिरहेका हुन्थे त ? यो सम्भव छ ? पृथ्वीनारायण शाहले उपत्यकामा विजय हासिल नगरेको भए के परिणाम हुन सक्थ्यो भन्ने तथ्यगत बाटोलाइ सूक्ष्म रुपले नियाल्नैपर्छ ।

यो सम्भावित सिनारियो बुझ्न शमसुद्धिन ईलियासले उपत्यकामा गरेको आक्रमणको पृष्ठभूमी र परिणाम प्रती दृष्टि लगाउन जरुरी हुन आउँछ । शमसुद्धिनले उपत्यकाका तिनै शहरमा आक्रमण गरेर, ७ दिनसम्म तिन ओटै शहरमा आगजनी गरेर, छोरीबेटी बलात्कार गरेर सम्पूर्ण मन्दिर, पाटी, पौवा तोडफोड गरेका थिए । पशुपती र स्वम्भू क्षतविक्षत बनाएका थिए र शमसुद्धिनले तोडफोड गरेर क्षतविक्षत बनाएका हजारौं मुर्तीहरु अहिले पनि पशुपती लगायतका सयौं ठाउँमा छन् ।

उपत्यका भित्र शमसुद्धिनले आक्रमण नगरेको केबल एउटै मन्दिर अहिलेको भाटभटेनी नजिक रहेको बराहको मन्दिर थियो, मन्दिरको अगाडि बराह (सुँगुर)को प्रतिमा रहेकोले ईलियासको फौजले यो मन्दिर छोएका थिएनन् । मकवानपुर गढिमा पृथ्वीनारायण शाहको फौजले मिर कासिमको सेनालाई धुलो चटाइन नसकेको भए र मिर कासिमको फौज उपत्यका छिरेको भए काठमाडौका नेवार, नेवारी सम्पदा र संस्कृतिको के हालत हुन्थ्यो भन्ने अनुमान गर्न मीर कासिमले भारतमा आंतक मच्याएर हत्या गरेको मानिसको संख्या र उनले ध्वस्त गरेका सम्पदाहरुको संख्या बुझेर अनुमान लगाउन सकिन्छ । नेपालमा पृथ्वीनारायण माथी योजनावद्ध रुपले हमला गरिएको छ ।

उपत्यका पृथ्वीनारायणको अधिनमा जानु हुँदैनथ्यो भन्नुको सिधा मतलब उपत्यका अंग्रेज वा चिनियाँ वा मुश्लिम आक्रान्तकारिको कब्जामा जानुपर्थ्यो भन्नू होईन ? उपत्यकाको नेवारहरुले उपत्यका पृथ्वीनारायण शाहको अधिनमा जाँदा के भयो भन्ने जगजाहेर छ, अब यस तर्फ गहिरिएर बिचार गर्नु जरुरी छ कि उपत्यका बेलायती साम्राज्य, चिनियाँ साम्राज्य वा मुश्लिम आक्रान्तकारिको कब्जामा गएको भए के हुन्थ्यो ? मकवानपुर सम्म आइपुगेको मिर कासिमले भारतमा के गरे ! शमसुद्धिनले उपत्यका हमलाको दौरान के गरे ! युद्धको समय बेलायतले खाद्यान्न संचय गर्न भारतमा कति नागरिकलाई भोकमरिमा पारेर मराए ! चिनियाँ कब्जा पछि कति तिब्बतिहरु शरणार्थी भएर लखेटिएका छन ! यो सब विचार गर्न जरुरी छ ।

अहिले पृथ्वीनारायण शाहले तरबार चलाए, राज्य एकीकरण गरेको होइन विस्तार गरेको हो भनेर होहल्ला गर्नेहरु लाई के प्रश्न गर्न सकिन्छ भने के बेलायती वा अन्य कुनै साम्राज्यवादिले हातमा फुल लिएर राज्य विस्तार गरेका हुन ? जर्मनिमा विश्मार्क वा रुसमा जारहरुले फुल लिएर राज्य एकीकरण गरेका हुन ? उनीहरु घुमाउरो तरिकाले के भन्दैछन् भने हामीलाई दानापानी दिलाउने मालिकहरुले बन्दुक र तरबारको बलमा साम्राज्य लादे पनि पृथ्वीनारायण शाहले बन्दुक र तरबार बोक्न हुँदैनथ्यो, फुल लिएर युद्धमा जानुपर्थ्यो ।

अहिले पृथ्वीनारायण शाहले राज्य विस्तार गरेको हो कि एकीकरण गरिएको हो भन्ने विवाद निकालिँदैछ, विश्वमा लाखौं साना राज्यहरु थिए ती सब नामेट भएर अहिले स्वतन्त्र राष्ट्रको रुपमा २०० हाराहारीको राष्ट्र छन् जस मध्यको एउटा नेपाल हो, पृथ्वीनारायण शाहको यत्नको परिणामस्वरूप नेपाल एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा विश्व माझ परिचित छ, उनको ध्यय राज्य विस्तार हो कि राज्य एकीकरण हो भन्ने विषय गौण हो, नियत वा लक्ष जे सुकै भएपनि परिणाम चाहिँ नेपाल स्वतन्त्र राष्ट्रको रुपमा अस्तित्वरत छ ।

संसारमा जसले राज्य एकीकरण गरे चाहे विश्मार्क हुन वा जार हुन ती प्रती त्यहाँका पछिल्लो शासकहरुले कहिल्यै यस्तो विवाद निकालेको देखिंदैन बरु बडो श्रद्धापूर्वक सम्झिएर राष्ट्रनायकको रुपमा आदर गरिन्छ तर नेपालमा त्यसको ठिक उल्टो हुन्छ ।

जसको नेपाल राष्ट्रको लागि दुइ कौडिको योगदान छैन बरु यो राष्ट्रलाई कमजोर र छिन्नबिन्न पार्न हदै सम्मको घटिया हर्कत गरिरहन्छन तिनैले पृथ्वीनारायण शाहको सत्तोसराप गरिरहेको देखिन्छ ।

अंग्रेज साम्राज्य , इस्लामिक साम्राज्य मात्र नभएर विशाल चिनियाँ साम्राज्यलाई समेत चुनौती दिएर नेपाल र नेपालिको नाम गौरवका साथ उच्च राख्ने पृथ्वीनारायण शाहको छवि धुमिल बनाएर बदनाम गर्नेहरु यो देशको प्रमुख पदमा छ्यापछ्यापती हुनु लज्जास्पद स्थिती हो ।

(सामाजिक संजालमा उपलब्ध सामग्रीको सम्पादित अंश )

प्रतिक्रिया