बिहीबार, वैशाख १३, २०८१

स्कुल चाहिँदैन

प्रेम राई परीक्षित् २०७८ पुष २७ गते १२:२३

स्कुलै छेउमा मदिरा पसल
दिनभरि खुलेको छ
त्यसैको छेउमा स्कुलमा चाहिँ
भोटे ताल्चा लागेको छ
पढ्न जाउ भन्यो पढ्न पाइँदैन
अब देशलाई स्कुल चाहिदैन !
मदिरा पसलमा
जोडीहरु अँगालो हालेर बस्छन्
कोरोना सर्दैन
स्कुलमा स्वास्थ्यको मापदण्ड हुन्छ
त्यसैले
सरकारलाई बच्चा स्कुल गएको मन पर्दैन
गेट बन्द छ सिक्न पाइँदैन
अब देशलाई स्कुल चाहिँदैन !
चुरोटको धुवाँ उडेको छ
चिया पसलहरुमा
नेताहरु गफिएका छन फोस्रा गफहरुमा
बसमा उभिने ठाउँ छैन
यातायातमा ठेलम्ठेल छ
मालपोतमा पेलम्पेल छ
कोरोना स्कुलमा मात्र छ पस्न पाइँदैन
अब देशलाई स्कुल चाहिँदैन !
पार्टीको अधिवेशन चलेको छ
त्यहाँ कोरोना सर्दैन
बजारमा तछाड र मछाड चलेको छ
त्यहाँ कोरोनाले कोही मर्दैन
तर स्कुलभित्र आजकल कोरोना पसेको छ
पढ्न जान पाइँदैन
अब देशलाई स्कुल चाहिँदैन !
लाग्छ स्कुलका शिक्षक कोरोना हुन्
उनीहरुले पढाएको ज्ञान ओमिक्रोन हो
बालबालिका बस्ने डेस्क-बेन्चभरि
कोरोनाको डङ्गुर छ
बाटो चाहिँ जाम छ
कोरोना निसासिएर मरेको छ
यहाँ गर्न पाईन्छ पढ्न पाइँदैन
अब देशलाई स्कुल चाहिँदैन !
सरकार भन्छ
स्कुल भन्दा सडक सुरक्षित छ
स्कुलभन्दा भट्टी पसल सुरक्षित छ
अनि स्कुलभन्दा साझा बस सुरक्षित छ
यातायात विभाग र मालपोत सुरक्षित छ
स्कुल जान मनाही छ
त्यसैले स्कुल जान पाइँदैन
अब देशलाई स्कुल चाहिँदैन !
पढेर मान्छे जान्नेसुन्ने भए
पढेर मान्छे कर्तुत बुझ्ने भए
पढेर मान्छे वाइडबडी र ओम्नी बुझ्ने भए
मिलमतोमा देश सकिएको बुझ्ने भए
त्यसैले स्कुल जान पाइँदैन
अब देशलाई स्कुल चाहिँदैन !

प्रतिक्रिया