मंगलबार, जेठ १, २०८१

देश

रवीन्द्र समीर २०८० वैशाख १६ गते ८:०२

उ सडक पार गर्दैथियो । अचानक उसको खुट्टो चिप्लिएर हिलोमा डुब्यो । त्यसो त ऊ महानगरको बासिन्दा भएकोले हिलो, धूलो तथा धूवाँ उसका नैसर्गिक अधिकार बनिसकेका थिए । सडकको अर्को दहमा पुगेर खुट्टा चोबल्यो र उसले हिलो धोयो । बाटोमा स्कुल जाने बच्चाहरू हिँडिरहेका थिए ।

“म त अर्जेन्टिना,”– डीडीसी दूधको प्याकेटजस्तो टिसर्ट लगाएका विद्यार्थीले मेसीका बखान गर्दै थिए । अर्को पीतवस्त्रधारी विद्यार्थी हौसिँदै सुनायो– “म त ब्राजिल ।” ऊ सरासर कफी पसलमा पुग्यो । “म जर्मनी,” यहाँ पनि पहिचानको दौड यथावत थियो । जवानीमै तालु खुइलिएको सुकुमार भन्दै थियो, “मचाहिँ फ्रान्स ।”

कोलिफर्म र सोडा मिसिएको मिल्क कफी पिएर ऊ चोकतिर हानियो । पुरानो टोपी, मैला कपडा तथा खुइलिएको नाम्लो बोकेका प्रौढ व्यक्ति चिच्याइचिच्याइ मोबाइल फोनमा कुरा गरिरहेका थिए, “अरू नयाँ त के हुनु र साइँला ? रोनाल्डोले ३ गोल हान्यो ।

तेरो कोरिया छिट्टै घर जाला जस्तो छ ।” यो सुनेर जर्सी पसलेले सोध्यो– “बाजे तपाईं कुन देशको ?” बाजेले सुकेको छाती बम पाउरोटीझैँ फुलाएर भने, “त्यही रोनाल्डोको पोर्चुगल ।” काम परेकोले ऊ सरकारी कार्यालयमा पुग्यो । आँखामा निद्रा झुन्डाएको हाकिमले भन्यो– “म त पूरै स्पेन ।”

अर्को कर्मचारीले बिनाप्रश्न जवाफ फर्कायो– “म क्रोसिया ।” दिक्क मान्दै ऊ आफ्नो घरतर्फ हानियो । सँघारभित्र नपस्दै श्रीमतीले सुनाई– “मैले देश फेरेँ नि बूढा ! पहिले अर्जेन्टिना थिएँ, आजदेखि नाइजेरिया भएँ ।” उसका छोराछोरी पनि के कम ? भने– “आजदेखि हामी जापान, अब यो जर्सी नलगाउने ।” उसले मनमनै भन्यो– “म नेपाल भनेर कसैले भन्दैन त ?”

प्रतिक्रिया