मंगलबार, जेठ १, २०८१

धवलागिरिका साहित्यको थप अनुसन्धान आवश्यक

नेपालखोज २०८० वैशाख १७ गते १०:००

पर्वत । धवलागिरि क्षेत्रको साहित्यिक इतिहास र साहित्यकारका बारेमा थप खोज र अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

पर्वत साहित्य सङ्गम र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त पर्वत सदरमुकाम कुस्मा बजारमा आयोजित ‘धवलागिरिका कवि र कविता’ विषयक साहित्यिक गोष्ठीमा सहभागीले धवलागिरिका साहित्यका बारेमा थप खोज र अनुसन्धान गर्नका लागि सामूहिक प्रयास गर्न सुझाव समेत दिए ।

कार्यक्रममा साबिकको पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा कविता लेख्ने क्रमको सुरुआत भएको प्राचीन अवस्थादेखि आधुनिक कालसम्मको अवस्थामा भएका विकास क्रमका बारेमा कार्यपत्र प्रस्तुत गर्दै त्यसमाथि छलफल भएको छ ।

साहित्यका क्षेत्रमा विगतदेखि नै प्रभावशाली लेखक यस क्षेत्रमा रहँदै आएकामा यसको थप विकासका लागि साहित्यिक क्षेत्रमा गर्न सकिने सम्भावनाका बारेमा गोष्ठीमा कुरा राखिएका छन् ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले साहित्यकार बन्नका लागि सुख प्राप्त हुने ठाउँमा जन्मनुपर्ने नभई खरको छहारीमा जन्मेकै भए हुने बताए ।

नेपालका झुपडीमा जन्मिएका साहित्यकारले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिएको जनाउँदै उहाँले साहित्यकारमा अध्ययनशीलता आवश्यक हुने बताए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य कृष्णप्रसाद पौडेलले प्रतिष्ठानलाई विकेन्द्रीकरण गरी केन्द्रबाट प्रदेशमा पनि विस्तार गर्दा प्रदेशमा रहेका कला र संस्कृतिको खोजी र अध्ययनमा सहज भएको बताए ।

प्रतिष्ठान स्थापना भए लगत्तै कोभिडको सङ्क्रमण फैलिँदा सोचेअनुसारको काम गर्न नसकेको भए पनि पछिल्ला दिनमा भने प्रतिष्ठानले हरेक जिल्लामा रहेका कला, संस्कृति र भाषाको संरक्षणमा काम गरिरहेको जानकारी दिए ।

कार्यक्रममा प्राध्यापक डा. षडानन्द पौडेलले विमर्श पत्र प्रस्तुत गर्दै राज्यका निकायले धवलागिरि क्षेत्रका कवि र कवितालाई प्रवर्द्धन गर्न सक्नुपर्ने सुझाव राखेका थिए ।

पार्वतीको जन्मभूमिसमेत रहेको यस क्षेत्र धार्मिक र साहित्यिक रूपमा प्राचीन समयदेखि नै सक्रिय रहेको प्रमाण म्याग्दी राखुदेखि प्रकाशन भएका पुस्तकहरूको रहेको उनको भनाइ थियो ।

कतिपय प्रमाणले नेपालको साहित्यअन्तर्गत कविता लेखनमा धवलागिरि नै पहिलो भएको प्रमाण देखिएका भए पनि त्यसको आधिकारिक पुष्टि नभएको प्रा.डा. पौडेलको भनाइ थियो ।

प्राध्यापक डा दिनबहादुर थापाले कुनै बेला प्राचीन सभ्यता र संस्कारले भरिएको नेपाल बिस्तारै पाश्चात्य शैलीको मारमा पर्दै गएको तर्क गरे । मौलिक रचना र कलामा रमाउने परम्परा छाडेर आफ्ना सन्तान कुनै देशमा पुगेको कुरामा गर्व गर्ने परम्पराले मौलिकता सङ्कटमा पर्दै गएको उनको भनाइ थियो ।

धवलागिरि क्षेत्रको साहित्यको विकासमा जनतातिको योगदान पनि महत्त्वपूर्ण रहेको धेरै उदाहरण भेटिएको जनाउँदै थापाले अब पनि संस्कृतिप्रति चिन्ता नगर्ने हो भने नेपालको मौलिक कला र इतिहास नै सङ्कटमा पर्न सक्ने जोखिम देखाए ।

कुस्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालले नेपाली साहित्यको श्रीवृद्धिमा विज्ञहरूले गर्दै आएका काम महत्त्वपूर्ण रहेको बताए । साहित्यको शक्तिले मानव स्वभावमा परिवर्तन ल्याउन सक्ने जनाउँदै उहाँले रचनाले व्यक्तिलाई मुग्ध बनाउने उल्लेख गरे ।

पर्वत साहित्य सङ्गमका पूर्व अध्यक्ष राजेन्द्र पहाडीले धवलागिरि क्षेत्रमा स्थापित साहित्यिक रेखामा खोतल्ने मौका दिएको बताए । सोही अवसर पारेर पर्वतका साहित्यकार गोविन्दप्रसाद भुसालको गीति सङ्ग्रह ‘पुष्पाञ्जली’ को विमोचन गरिएको थियो ।

प्रतिक्रिया