शनिबार, जेठ ५, २०८१

अंश बाँडफाँड

निरज दाहाल २०७८ माघ ८ गते ८:३२

याद छ भाइ तँलाई त्यो रात
ज्वरोले च्यापेर सिकिस्त बनाएको बेला
आमाले रुदै तँलाई च्यापेर सुतेको दिन ?
तर आज अंश माग्दा
तैले आमाको काख माग्न किन सकिनस् ?
तैले त त्यो दिन पनि बिर्सेछस्
नभए आज अंश माग्दै गर्दा
बाको काँध कसरी छुटाउँथिस् होला र ?
जुन काँधमा चढ्न
तेरो र मेरो झगडा पर्ने गर्थ्यो।

भाइ,
मैले चाहिँ कसरी भुल्न सके होला है
तँलाई सहरमा राखेर पढाउँदा
बेसीको तीन रोपनी जग्गा बेचेको ?
अनि कसरी बिर्से होला
तेरो बिहे खर्चका लागि
पाखोबारी सस्तैमा बेचेको ?
आमाले कुँडेमा दूध तताएर
कुराउनी कोर्दै गर्दा
बाहिरबाट मलाई चुकुल लगाइदिएर
तँ नै भान्सामा छिटो पुग्थिस् ।

तर आज,
बालाई दमले गाह्रो पार्‍योभन्दा
तँ तेरै घरको ढोकाको
भित्रबाट चुकुल लगाएर बसेको छस्
अनि आइपुगेको छस्
बाको सास गएपछि
सबैभन्दा अन्तिममा।

मलाई अझै याद छ
मेरो बिहेमा
माथिल्लो घरको बस्नेत दाइको कोट

तल्लो घरकी थपिनी भाउजूको सुन
पैँचो मागेर
मैले मेरो बिहे उतारेको दिन
याद त मलाई त्यो पनि छ
तेरो बिहेमा तीन तोलाको सुन
दुईवटा खसी
चारवटा गाडी
तेरो बिहेमा तँ खुशी भइनस् सायद,
जति तेरो बिहेमा म खुसी भएँ।

आमालाई महिला समूहमा
मिस्री बाँडेको दिन
आमाले कान्छाले खाओस् भन्नु हुन्थ्यो
अनि तँ मुख चपाउँथिस्
तर गुलियो मलाई हुन्थ्यो
आज तैले अंश माग्दा
मेरो माया अलिकति दे किन भनिनस् ?

भाइ,
तैले परालको कुन्युमा अन्जानमै आगो लगाइस्
बालाई मैले हो भनेर
बाको पिटाइ मैले सहे
तर
आज अंश माग्दै गर्दा
त्यो दिनको पराल लान्छस् दाइ भनेर किन सोधिनस् ?
तैले अंश खोजेर
सम्पत्ती लिएर गइस्
अनि मैले आमालाई पाल्ने होइन
आमासँगै बस्ने सौभाग्य पाएँ ।

ए सहरमा बसेर वकिल पढेको मेरो भाइ
अब तँ आफै भन त
यो रगतको युद्धमा
मैले जिते कि तैले जितिस ?

प्रतिक्रिया