बिहीबार, जेठ ३, २०८१

सत्तामोहका कारण पार्टी प्रवेश र विग्रह

ओम आचार्य २०७८ माघ ८ गते १०:५३

नेपाली कांग्रेसको आफ्नै इतिहास छ । २००७ साल अर्थात राणाकालदेखि पञ्चायतकाल अर्थात् राजशाही कालसम्म आइपुग्दा कांग्रेसले आफ्नो परिचय प्रजातन्त्र र मानव अधिकार पक्षधर भएका राष्ट्रहरूसम्म नेपालमा भएको एउटा प्रजातान्त्रिक पार्टीकोरुपमा परिचित गराइसकेको थियो र एउटा इतिहास नै निर्माण गरेको थियो ।

त्यस्तै नेकपा एमाले र माओवादीको एकीकरणपछि विश्वराजनीतिमा कम्युनिस्ट सकिँदै गएको वर्तमान अवस्थामा नेपालमा नेकपाले बहुमतको सरकार स्थापित गरेर इतिहास बनाउन सफल भयो ।

गणतन्त्र स्थापनापछि यसरी बनाएको इतिहास र परिचय जोगाउन यी पार्टीहरूले निकै मिहिनेत गर्नुपरेको देखिन्छ । नेपाली कांग्रेस र नेकपा पार्टीले बनाएको इतिहास बिस्तारै बिँग्रदै गयो । गणतन्त्रको स्थापनापछि प्रतिनिधिसभाको निर्वाचनमा अन्य पार्टीहरू अत्यन्तै न्यून रुपमा राष्ट्रिय पार्टीका रुपमा स्थापित भए भने सरकार निर्माणमा केही पार्टीहरुको मात्र प्रमुख भूमिका रह्यो र अन्य पार्टीहरु गौण रहे ।

यस्तो परिस्थितिमा स-साना पार्टीहरू र राष्ट्रिय पार्टीमा हैसियत बनाएका तर सरकारसम्म पुग्न नसकेका पार्टीहरुमा विचलन सुरु भयो र ठूला पार्टीहरु जस्तो नेपाली कांग्रेस नेकपा एमालेहरूमा सत्तामोह भएकाहरुले प्रवेश गर्ने र ती पार्टिहरूमा आफू र आफ्नो पार्टी विलय गर्ने कार्य सुरु भयो ।

नेपाली कांग्रेस, नेकपा एमाले जस्ता पार्टीहरूले अन्य राजनीतिक दल र ती दलसँग आवद्ध व्यक्तीहरुलाई पार्टी प्रवेश गराउँदा अपनाइने नीति-नियम, विधि-पद्धति किन सरल ? साथै विलय हुने पार्टी वा त्यो पार्टीसँग आवद्ध रहँदा रहेको पदमा नै समायोजन गर्ने र उनीहरुको मागबमोजिम पद दिने पद्धतिसँग सहमत हुन सच्चा कार्यकर्ता सकिरहेका छैनन् ।

नेकपामा तत्कालीन समयमा बढिरहेको मतान्तर, विरोध नै पार्टी फुटको नतिजा हो । नेकपा एमालेभित्र अन्य फरक विचार फरक सिद्धान्त भएकाहरुको प्रवेशले नै हो । यसले पार्टी भित्र तनाव र विघटन पैदा गर्यो र यो तनाव एकीकरणपूर्वको पार्टीले नै सबैभन्दा बढी व्योहर्नुपर्छ । त्यो यस कारणले कि नेकपामा फुट भएर एकीकरणपूर्वको अवस्थामा पार्टी पुग्यो यस्तो अवस्थामा बढी तनाव नेकपा एमाले र त्यससँग आबद्ध नेताहरुले नै व्योहर्नुपरेको छ !

पार्टीहरूको यस्तो परिस्थितिले पार्टीले बनाएको छबि र इतिहास धमिलो हुँदै गएको देखिएको छ ।

नेपाली कांग्रेसको इतिहास सुन्नै नचाहने, नेपाली कांग्रेसलाई अराष्ट्रिय तत्त्वसम्म भन्नेहरुलाई पनि सम्मानपूर्वक पार्टी प्रवेश गराउँदै राम्रो हैसियतमा राखेर पदाधिकारीसम्म बनाउने गरेको देखिएको छ । यस्तो प्रवेशले नेपाली कांग्रेसको भविष्य, नेपाली कांग्रेसको इतिहास सुध्रन्छ कि बिग्रन्छ ? यो पार्टीको नेतृत्वपंक्तिले बुझ्ने कुरा हो ।

अहिले कांग्रेस र नेकपामा जुन आन्तरिक द्वन्द्व छ जुन तनाव छ त्यो पार्टी प्रवेश गर्नेहरुको विषय, कार्यदेखि लिएर प्रवेश गरिसकेपछि देखिएको द्वन्द्व नै हो । कसैलाई पार्टी प्रवेश गराउँदा प्रवेश गरेकाहरुबाट पार्टीमा नै जीवन बिताएका, पार्टीलाई नै जीवन दिएकाहरुमा अपमानित र हीनताबोध हुनुहुँदैन र तत्काल प्रवेश गरेकालाई नै नेता मान्नु पर्ने अवस्था अस्मिताले दिँदैन । अहिलेको समस्या पनि यही हो ।

विदेशी महिलालाई विवाह गरेर ल्याउँदा उनीहरुलाई दिइने नागरिकतामा त एउटा समयावधि निर्धारण गरेर नागरिकता दिने प्रावधान छ त्यो पनि विवाहित नारीलाई जसको थर गोत्र विवाह गरेकै मितिबाट श्रीमानको हुन्छ । पार्टी प्रवेशमा त त्यस्तो केही पनि हुँदैन । प्रवेश गर्नेबित्तिकै पद दिनुपर्छ, यो अलिक मिलेन कि ? त्यसरी पार्टी प्रवेश गर्नेहरुलाई एउटा निश्चित समयावधि तोकेर उनिहरूको आचरण पार्टी हितविपरीत छ-छैन ? परीक्षण गरेर मात्रै पदको समायोजन गर्नु जरुरी छ किनभने इतिहास बोकेको नेपाली कांग्रेस, प्रजातन्त्र र मानव अधिकारका लागि आफ्नो परिचय बनाएको नेपाली कांग्रेसको इतिहास पार्टी प्रवेश भएकाहरुबाट नधमिलियोस नबिग्रियोस् भनेर सचेत हुनैपर्छ ।

नेपाली कांग्रेसमा प्रवेश गर्नु गौरवको कुरा, सम्मानको कुरा हो यसरी यस्तो पार्टीमा प्रवेश गराउँदा एउटा विधि-पद्धति र समय निर्धारणपछि मात्र समायोजन गर्नुपर्छ । एक-अर्काको अन्तिम हदैसम्म विरोध, व्यक्तिगत रुपमा र पार्टीगत रुपमा पनि हदैसम्म विरोध गर्नेहरु पनि सत्तामोहका कारण पार्टी प्रवेश र विलय गर्ने गरेका र पुन: विग्रह पनि सत्तामोहकै कारण हुने गरेको जताततै देखिन्छ । यसले गणतन्त्रको संस्थागत विकासमा समेत बाधा पुर्याएको छ र अर्कोतिर पार्टीको सिद्धान्त र विचारमा पनि विचलन ल्याएको छ ।

प्रतिक्रिया