मंगलबार, वैशाख १६, २०८२

राष्ट्र बैंकद्वारा १० अर्बको विकास ऋणपत्र बिक्री आह्‌वान

नेपालखोज २०७८ माघ १० गते १६:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार यही माघ ११ मंगलबार दुई वर्षे अवधिको विकास ऋणपत्र २०८० ‘ङ’ बिक्री गर्न लागिएको हो ।

ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले मंगलबार अपराह्‍न दुई बजेसम्म आवेदन दिनुुपर्नेछ । राष्ट्र बैंकका अनुसार जारी मिति यही २०७८ माघ १२ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी अवधि २०८० माघ १२ तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिनसमेत पाइनेछ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्ध वार्षिक रुपमा व्याज भुक्तानी हुुने र आर्जित ब्याजदरमा ब्याजकरसमेत लाग्नेछ ।

इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्ट्याइएको छ । राष्ट्र बैंकका अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जानकारी समेत राष्ट्र बैंकले गरेको छ ।

खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ । राष्ट्र बैकका अनुसार ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यि बाहेकका वाणिज्य बैंक, विबकास बैंक र फाईनान्स कम्पनीहरुले भने अप्रतिस्पर्र्धीकोरुपमा भाग लिन पाउने छैनन् । प्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम मात्र उल्लेख गर्नु पर्नेछ ।

राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रको दोस्रो बजार कारोवार नेपाल स्टक एक्सचेन्जमार्फत हुनेछ ।

प्रतिक्रिया