शुक्रबार, जेठ ४, २०८१

सामाजिक क्रान्ति ?

डा. अरुणा उप्रेती २०७८ माघ १० गते १९:२९

महिलाले शव बोक्नु हुन्न, महिला मसानघाटमा जानु हुन्न भन्ने विचारलाई तोड्ने महिलाहरु हुन् । यहाँ रहेको यो तस्बिर केही वर्षअघिको हो ।

यो फोटोले मलाई सम्झाएको छ सामाजिक क्रान्ति भन्ने कुरा । ३९ वर्षअघि मेरो बुबाको मृत्यु हुँदा मेरा दाइ र आमा बडो दु:खपूर्वक किरिया बसेका थिए । सुकुलमा सुतेर, एक छाक दाउरामा पकाएर, नुन नखाएर, कसैलाई पनि नछोएर शारीरिक र मानसिक रूपमा थकित उनीहरूले १३ दिने संस्कार पूरा गरे ।

त्यसपछि एक वर्षसम्म मेरी आमाले सेतो लुगा लगाएर बसिन् । एक वर्षसम्म घरबाटै बाहिर निस्किनन् । त्यसको १५ वर्षपछि मेरो ठूलो बुबाको मृत्यु हुँदा उनको छोराले ग्यासमा पनि खाना बनाएर खानुपरेन । रोटी र तरकारी घरको भान्साबाटै गयो । ठूली आमाले नाकको फुली पनि फुकालिनन् । १३ दिनपछि ४५ दिनसम्म हल्का नीलो, पहेंलो रङको लुगा लगाइन् । ४५ दिनपछि त उनले लसुन, प्याज, मासु सबै खान थालिन् । वास्तवमा त्यो हाम्रो सामाजिक जीवनमा आएको ‘क्रान्ति’ नै थियो ।

काजकिरियाको कठोर संस्कार समयक्रमसँगै परिवर्तन हुँदै आएको छ । किरिया बस्दा दाउराको चुलोको सट्टा ग्यासमा भात पकाउने चलन आयो । सुत्दा पनि सुकुलको सट्टामा खाटमै पराल बिछ्याउन थालियो । मोबाइलको प्रयोग सुरु भइसकेपछि किरिया बस्नेले मोबाइल चलाउने छुट पनि पाए । पति मरेपछि महिलाले एक वर्षसम्म सेतो लुगा लगाएर घरमै कुँजिएर बस्नुपर्ने चलन हटिसकेको छ ।

घिमिरे थरकी ४० वर्षीया एक महिलाले मलाई सुनाएकी थिइन्, ‘मेरो परिवारमा एक वृद्धाको मृत्यु हुँदा श्राद्धमा झन्डै १२०० जनालाई बोलायौं । त्यहीअनुसार प्रसाद पनि तयार गर्‍यौं । तर ३०० जनामात्र प्रसाद ग्रहण गर्न आए । अरु खाना खेर गयो । मानिसहरू बोलाउँदा पनि श्राद्धमा आउँदैनन् भन्ने थाहा त थियो । तर फेरि आए भने त भोजन नपुगेर लाज हुन्छ भन्ठानेर बनाएका थियौं । भोलिपल्ट खाल्टो खनेर पुर्नुपर्‍यो । थोरै मान्छे मात्रै बोलाउँ भन्ने कुरालाई घरपरिवारले अस्वीकार गरे ।

बरु त्यो खानाको पैसा त कुनै स्कुल, वृद्धाश्रममा दिएको भए पो आत्माले बढी शान्ति पाउँथ्यो होला । तर मेरो कुरा सुनेनन् । तर कमसेकम म मरेपछि चाहिँ मेरो श्राद्धकर्म नगरिदिनु भनेर मेरा छोराछोरीलाई भन्छु । आत्मालाई किन भोजन चाहियो र ? साधारण लेखपढ गरेकी ती महिलाको विचार सुनेपछि मलाई लाग्यो, वास्तवमा हामीले थाहा नै नपाईकन समाजमा परिवर्तन भइरहेछ ।

समाज परिवर्तन आउनुमा सायद हिन्दु धर्मका कतिपय प्रगतिशील विद्वान् र गुरुहरूले पनि पक्कै भूमिका खेलेका छन् । कतिपय धर्ममा त धर्मग्रन्थमा लेखेको बाहेक अरु केही गर्न सकिँदैन भनेर हजारौं वर्षअघिका कठोर नियम समाजमा लागु गरेरै छाड्छन् ।

तस्बिर : कान्तिपुर

कतिपय धर्ममा त धर्मगुरुसँग कसैले बहस गर्न सक्दैनन् । तर हिन्दु धर्म र दर्शनमा जति भने पनि बहसको गुञ्जाइस छ । त्यसैले होला, हिन्दु धर्म मान्ने तामाङले एक तरिकाले, नेवार, बाहुनले भिन्नाभिन्नै तरिकाले श्राद्ध गर्छन् ।

घरमा कसैको मृत्यु भएपछि परिवारका सदस्यको मनस्थिति कमजोर हुन्छ । त्यो बेला कुनै प्रभावशाली व्यक्ति, गुरु, पुरोहितले ढाडसका शब्द भनेर पुराना, गाह्रो रितिरिवाजको सट्टामा सबैलाई सहज हुने रितिरिवाज चलाउँभन्दा परिवारलाई सहज हुन्छ । नत्र अरु मानिसले के भन्लान्, हामीलाई अपमान गर्लान् कि भन्ने भावनाले भयभित भएर परिवारले पुरानै, रुढीवादी संस्कार चलाइरहन्छ ।

विश्वेश्वरप्रसाद कोइरालाको मृत्युपछि उनको किरिया नबसेर परिवारले पनि ठूलो क्रान्तिकारी कदम चालेको थियो । तर यो सामाजिक क्रान्तिलाई उनका विचारमा विश्वास राख्ने प्राय: कसैले पछ्याएको पाइएन ।

प्रतिक्रिया