शुक्रबार, वैशाख ७, २०८१

ओमिक्रोनको नयाँ स्ट्रेन बीए.टू कति खतरनाक ?

नेपालखोज २०७८ माघ १२ गते ११:५९

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसँग जुधिरहेको संसारलाई यसको नयाँ सब-भेरियन्ट स्ट्रेन बीए.टु (BA.2) ले फेरि एकपटक चिन्तामा पारेको छ । बीए.टूलाई ओमिक्रोनको सबैभन्दा तीव्र प्रसार हुने भेरियन्ट मानिँदै छ । ब्रिटिस हेल्थ अथरिटीले ओमिक्रोनको यो नयाँ सब-भेरियन्टका सयौं नमुना फेलापारेको बताइएको छ ।

होल जिनोम सिक्वेन्सिङ (WGS) का माध्यमबाट ब्रिटेनमा अहिलेसम्म ओमिक्रोनको बीए.टू भेरियन्टको ४२६ केसको पुष्टि भइसकेको छ । यसैगरी अहिलेसम्म लगभग ४० देशमा ओमिक्र‍ोनको यो नयाँ सब-भेरियन्ट फेला परिसकेको बताइन्छ । यो नयाँ सब-भेरियन्ट बीए.टू पहिलोपटक ६ डिसेम्बर २०२१ मा नोटिसमा आएको थियो । ब्रिटेनको लन्डन सहरमा यसको सबैभन्दा बढी संक्रमित फेला परेका छन् । जसको संख्या १४६ बताइएको छ ।

अहिलेसम्म के साबित हुन सकेको छैन भने बीए.टू ओमिक्र‍नको बीए.वानभन्दा बढी खतरनाक छ कि छैन । यूकेएचएसए (UKHSA) का अनुसार, ओमिक्रोन बीए.टूको तुलनामा यो नयाँ भेरियन्ट निकै तीव्र गतिमा फैलिरहेको छ । यूकेएचएसएका अनुसार बीए.टूको कुनै खास म्युटेसन छैन जसका कारण यसलाई डेल्टा भेरियन्टबाट अलग गर्न सकियोस् ।

डेनमार्कमा पनि बीए.टू का संक्रमितहरु देखापरेका छन् । त्यहाँका अध्ययनकर्ताहरुले यो नयाँ भेरियन्टका कारण ओमिक्रोन भाइरसको महामारीमा दुई अलग-अलग चरमविन्दु देखापर्नसक्ने आशंका व्यक्त गरेका छन् । जोन हपकिन्स विश्वविध्यालयका विषाणु विज्ञानी ब्रायन जेलेका अनुसार ओमिक्रोनको यो सब-भेरियन्ट बीए.टू फ्रान्स, डेनमार्क, स्विडेनलगायत पूरा युरोप तथा उत्तरी अमेरिकामा महामारी बढाउन सहायकसिद्ध हुन सक्छ ।

नेपालको कुरा गर्ने हो भने हामी यसको उच्च जोखिममा छौं । निकट छिमेकी मुलुक भारतमा ओमिक्र‍ोनको यो सब-भेरियन्टका ५३० तथा सिंगापुरमा १२७ संक्रमित फेला परिसकेका छन् । यसैगरी नेपालसँग प्रत्यक्ष सम्पर्कमा रहेको अर्को ठाउँ हङकङ पनि यो नयाँ भेरियन्टको जोखिममा छ ।

ओमिक्रोनको बीए.टू सब-भेरियन्ट जिनोम सिक्वेन्सिङका माध्यमबाट मात्र पत्ता लाग्छ । यसले ओमिक्र‍ोन भेरियन्टमा उप-वंश निर्माण गर्छ जसलाई तीन उप-प्रकारमा विभाजित गरिएको छ अर्थात् बीए.वान, बीए.टू तथा बीए.थ्री ।

फ्रान्सिसी महामारी विज्ञ एन्थोनी फ्लेहल्टले एएफपीलाई बताएअनुसार वैज्ञानिकहरु ओमिक्रोनको यो नयाँ सब-भेरियन्टमाथि गहिरो निगरानी गरिरहेका छन् । एन्थोनी भन्छन्, ‘फ्रान्समा जनवरीको मध्यदेखि ओमिक्रोनको महामारी बढ्ने अनुमान गरिए पनि पहिले नै संक्रमितहरु बढ्न थाले । यसको कारण सम्भवत: नयाँ सब-भेरियन्ट हो जुन बीए.वानको तुलनामा अझ तीव्र गतिमा फैलन्छ । यद्यपि यो पनि त्यति घातकजस्तो देखिँदैन ।

के बीए.टू खतरनाक छ ?
भाइरसको प्रकृति सधैं परिवर्तित भइरहन्छ । त्यसैले यो महामारीका क्रममा नयाँ-नयाँ भेरियन्ट तथा तिनका सब-भेरियन्ट देखापर्नु स्वभाविक हो । अहिलेसम्म बीए.टू ओमिक्र‍ोनको बीए.वान भेरियन्टको तुलनामा बढी हानिकारक वा जोखिमपूर्ण छ भन्ने कुरा प्रमाणित भइसकेको छैन । तर यसको अर्थ यो बीए.वानभन्दा कमजोर छ भन्ने कदापि होइन । हो, यो ओमिक्र‍ोनको बीए.वान भेरियन्टभन्दा पनि तीव्र प्रशारक देखिएको छ । यसमा थप अध्ययन-अनुसन्धान जारी छ ।
-एएफपी

प्रतिक्रिया