शनिबार, जेठ ५, २०८१

म जहिले पनि कुर्सीका चार खुट्टा

ओम आचार्य २०७८ माघ १६ गते १४:३७

सुतिरहेको थिएँ
मुलुकको चार दिशाबाट
चारवटा आत्मा आएर
म भित्र पसे
मैले हेर्ने आँखा
सोच्ने मष्तिष्क
र बोल्ने मुख
अचेल
धर्मभक्त, गंगालाल
शुक्रराज र दशरथचन्द्र हुन थालेछ ।

तिमीले प्रयोग गरिरहेको
स्पिकरबाट
तिम्रो आवाज हैन
तिम्रो भावना हैन
मेरो आवाज/भावना हुनु पर्थ्यो

यहाँसम्म कि
त्यो श्वर
मेरो श्वर हुनु पर्थ्यो !
पारदर्शी ग्लासमा कैद भएको
फोटोमा मात्रै फूल चढाइन्छ
ढुंगाबाट निर्मित
सालिकलाई माला लगाइन्छ

त्यो विचारलाई
त्यो भावनालाई
कहिल्यै फूल माला लगाइएन
मञ्चमा चढे उनीहरु
फोटोहरुलाई चढाए
त्यो विचार चढेन

म जहिल्यै पनि टेबुलमा
हिजो पनि टेबुलमा
आज पनि टेबुलमा
जसले राखे पनि टेबुलमा
कुर्सीका चार खुट्टाहरु भएँ
बस्ने त अरु नै !

जहिल्यै पनि विरुद्धमा लडें
जसको विरुद्धमा लडे
र सहिद भएँ
मेरै शालिकमा अडेस लागेर
मेरै सालिकमा जिउ अड्याएर
सहिद बनाउनेको सालिकलाई
रंग
रोगन र मर्मत गरी
अझ क्रूर बनाइयो

विचार फेरि एकपटक
यसरी सहिद भयो !

प्रतिक्रिया