शनिबार, जेठ ५, २०८१

अमेरिकी जिन्दगी

आचार्य प्रभा २०७८ माघ २२ गते ११:५३

आमाबाबु उता नेपालमा हर्षविभोर थिए अमेरिका जाने खुसियालीमा । यता छोराबुहारी पनि आमाबाबु (सासूससुरा) आउने खुसीमा मक्ख थिए । अमेरिका जाने दिन आइपुग्यो । बूढाबूढी गमक्क परेर एयरपोर्टतिर लागे । उनीहरुलाई छोराबुहारी, नातिलाई भेट्ने हर्षले आतुर बनाइरहेको थियो ।

अमेरिकाको एयरपोर्टमा छोराबुहारी, नाति लिन आएका थिए । पारिवारिक मिलन बडो हर्षोल्लासका साथ भइेरहेको थियो । अमेरिका पुगेको साता दिनसम्म उनीहरुलाई घुम्दै फुर्सद भएन । छोराबुहारी दुवैजनाले बिदा लिएर ढुक्कसँगले बाबुआमालाई घुमफिर गराए । अमेरिकाको जीवन अति रमाइलो भएको आभास भइरहेको थियो । सबै कुराको सुविधा । निर्धक्कसँग घुमफिर गर्न पाइने । बिजुली, पानीको अभाव पनि नहुने ।

जब समय बित्दै गयो । नातिलाई स्याहारसुसार गर्ने जिम्मेवारी त छँदै थियो बूढाबूढीलाई । छोराबुहारीको मुख हेर्नसम्म पनि शनिबार, आइतबार कुर्नुपर्ने समय आयो । आधारातमै छोरा-बुहारी उठेर काममा जान्थे । आउँदा बूढाबूढी सुतिसकेका हुन्थे । यसरी समय बितिरहेको थियो ।

नेपालमा हुँदा बूढाबूढी गाउँघर, छरछिमेकीसँग हाँस्दै, गफ गर्दै हिँड्ने बानी । स्वतन्त्रसँग जहाँ पनि जानसक्ने, जतिबेला पनि, तर जब अमेरिका आए उनीहरु । पिँजरामा परेको सुगा झैँ भए । न’त, कतै जान सक्नु आफ्नो खुसीले न’त कोहीसँग बोल्न र भेट्न पाउनु । उनीहरुको हर्षोल्लास र उमंगको अमेरिका बसाइ निराशामा अनुवाद हुँदै गयो । उनीहरु कहिले नेपाल फर्कन पाउने ? भन्ने आशामा दिन गन्न थाले ।

कहिलेकाहीँ मौकाको भेट्मा छोराबुहारीलाई उनीहरुले सोध्ने गर्दथे । अब कहिले पठाउँछौ हामीलाई नेपाल ? दिक्क लागिसक्यो । यस्तो पनि जिन्दगी हो ? हामी बूढाबूढी त यो बेला गाउँघर घुमेर, पूजापाठ गरेर, तीर्थ, धर्म गरेर बिताउने समय हो । यसरी एक कुनामा बसेर दिन काट्न कहाँ सक्छौं र ? गरौँ केही छैन ।

यस्तो आशय राख्दा उनीहरुले छोराबुहारीबाट यस्तो जवाफ पाउँथे । ‘के भो त ? बुबाआमा नातिको मुख हेर्दै बस्ने नि । हजुरहरु आउनुभयो र हामीले काम गर्ने मौका पायौं । नत्र हामीले पैसा कसरी कमाउने ? नातिलाई कसले हेर्छ ?’

बूढाबूढी यस्तो उत्तरले मौन बन्थे र सोंच्थे । -‘उहिले बरु छोराबुहारीले तीर्थधाम घुमाउँथे। बूढाबूढीहरु कती प्रशन्न हुन्थे । आजभोलि बाबुआमालाई अमेरिका घुमाउन बोलाउँछन् भनेर आमाबाबु मक्ख पर्छन् तर अमेरिका घुमाउनुको अर्थ त अर्कै पो रहेछ ।‘ भनेर उनीहरु एकार्कालाई हेरेर मौन बन्थे । बूढाबूढीलाई शंका भयो । आमाबाबुलाई अमेरिका बोलाउनुको स्वार्थ सायद सबै सन्तानको यस्तै हो कि ? भनेर ।
-अमेरिका

प्रतिक्रिया