शुक्रबार, जेठ ३, २०८२

बाइडेनको चेतावनी- मस्कोले युक्रेनमा हमला गरे रुसी पाइपलाइन बन्द गराइदिन्छौं

नेपालखोज २०७८ माघ २५ गते ८:३७

काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि मस्कोले युक्रेनमा हमला गरेमा जर्मनीसँग जोडिने एउटा मुख्य ग्यास पाइपलाइन बन्द गरिदिने वाचा गरेका छन् । जर्मन चान्सलर ओलाफ सोल्जसँगको वार्तापछि वासिङ्टनमा बोल्दै उनले नर्ड स्ट्रीम टू पाइपलाईनबारे त्यसो भनेका हुन् ।

फ्रेन्च राष्ट्रपति एमानुअल माँक्रो र उनका रुसी समकक्षी पुटिनबीच मस्कोमा युद्ध छल्न सकिने भन्दै भेटवार्ता भइरहँदा वासिङ्टनमा बाइडेन र सोल्जले छलफल गरेका हुन् ।

अमेरिकी अधिकारीहरूले आइतबार रुसले पूर्ण आकारको हमलाका लागि चाहिने सैनिकको ७० प्रतिशत फौज भेला पारिसकेको बताएका छन् ।

पछिल्ला सातामा मस्कोले पश्चिमा सैन्य गठबन्धन नेटोमा युक्रेन कहिल्यै सदस्य बन्न नपाउनु पर्ने माग राखेको छ । उसले पूर्वी युरोपमै नेटोका सैन्य सङ्ख्या घटाउनुपर्ने समेत भनिरहेको छ ।

नेटोले ती दुवै मागलाई अस्विकार गरेको छ । बरु उसले आणविक अस्त्र सीमित पार्नेजस्ता अन्य क्षेत्रमा वार्ता गर्न सकिने जनाएको छ ।

रुस, युक्रेन र पश्चिमा विश्व बीचको तनाव झण्डै ८ वर्षअघिदेखिएको हो । जतिखेर रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नोमा गाभेको थियो । बीबीसी

प्रतिक्रिया