शनिबार, जेठ ५, २०८१

परम्परा

केशव आचार्य २०७८ माघ २९ गते ११:११

कविता भएर –
कविज्यूहरुका कवितामा लेखियो।
भाषण भएर –
नेताज्यूहरुका भाषणमा पोखियो।
विज्ञापन भएर –
सहरहरुका भित्तामा टाँसियो।
नाराहरु भएर –
आक्रोशित स्वरहरुमा गाँसियो।
तर, उसको जिजीविषामा कुनै अन्तर आएन।
००
ऊ चुपचाप
सडकमा रिक्सा तान्दै रह्यो
आफ्नो बारेमा सोच्न भ्याएन।
बेफुर्सद सधैं बेफुर्सद,
कुनै बिहानीले न्यानो घाम ल्याएन।
००
ऊ फगत यन्त्र जस्तो चलिरह्यो।
इन्धन जस्तो जलिरह्यो।
अन्यय खायो- अघायो।
अत्याचार सह्यो- निदायो।
ब्यभिचार पियो- पचायो।
ऊ सन प्रूफ भयो।
ऊ वाटर प्रूफ भयो।
उसको मूल्य नै विलायो।
००
ऊ- वीरबहादुर,
अर्थात बिरे।
ऊ- डम्बर बहादुर
अर्थात डम्बरे।
अर्थात्- जे भने पनि,
बिरे, डम्बरे अन्तरे ।
००
कुनै डम्बरेले , अन्तरेलाई चिनेन ।
जो ऊ जस्तै थियो ।
कुनै अन्तरेले बिरेलाई जाने
जो हाकिमको मोटरले किचियो ।
कुनै बिरेले डम्बरेलाई बुझेन,
जो साहुको दूना ब्याजले थिचियो ।
यसरी- एक्लै- फगत एक्लै
ऊ सुक्तै गयो ।
सकिँदै गयो ।
मर्दै गयो।
त्यही रीतिथीति त्यही परम्परा
सन्तान दरसन्तान सर्दै गयो।
अस्ति ईईई– सम्म ।
तर अहिले
उसले एउटा नौलो विचार पायो ।
बाँच्ने अधिकार खोज्ने आधार पायो ।
बिरे, मकरे, डम्बरे, अन्तरे र तल्लाघरे
अरु धेरैलाई निम्त्यायो ।
हातका नङ्ग्रा खियाएको किन ?
अर्थ बुझायो।
पसिनाको मूल्य चिनायो।
सबैलाई एकसूत्रमा समेटेर,
देशको माटो छोएर किरिया खायो-
अब निर्धो भएर नबस्ने ।
अब विचरा भएर नबाँच्ने ।
कोही कसैले-
थिचोमिचो गरेमा,
त्यसका हात खुट्टा भाँच्ने।
००
सबैले उसलाई आँखामा राखे ।
नारा उराल्ने भाखामा राखे।
००
ऊ गयो- मात्थी गयो ।
माथि माथिकै साथी भयो ।
कमिलो हुर्किएर हात्ती भयो ।
००
तल अहिले
अर्को बिरे रिक्सा तानीरहेकोछ।
अर्को मकरे आली हानीरहेकोछ।
अन्तरे र तल्लाघरेको पनि –
हालत जस्ताको तस्तै छ ।
ऊ अर्थात् उपियाँ ।
ऊ अर्थात रुपियाँ ।
टोपी ढ्ल्काएर,
लोगो टल्काएर-
सिंहदरबार पस्तै छ ।

प्रतिक्रिया