शनिबार, जेठ ५, २०८१

बानेश्वरमा दरबार शैलीका घर

श्रीहरि अर्याल २०७८ माघ २९ गते १२:३९

६०-७० वर्षअघि दसैँअगाडि बानेश्वरभरि पहेंलै तोरी फूलेको हुन्थ्यो । तोरीका बोटहरु, तारामण्डल (अहिले त्यसलाई सनफ्लावर भन्छन्) हल्लिइरहेका हुन्थे । हरेक घरमा तोरीको साग टिपेर सोह्र श्राद्धको मुख्य तयारी हुन्थ्यो । श्राद्धमा नयाँ सडक पुगेर पान किनेर ल्याउनुपर्थ्यो ।

मैले थाहा पाउँदा बानेश्वरमा मीनशमशेरको गाडी थियो । गणेशबहादुर कर्णेलको पनि थियो रे, तर उनी म जन्मनुभन्दा अघि नै बितिसकेका थिए । चिफ कन्जरभेटर रामबहादुर थापाको मोटरसाइकल थियो रे । बानेश्वरको बाटोमा दिनमा एउटा/दुईटा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो ।

अहिलेको मीनभवन क्याम्पसमा जेटीए तालिम केन्द्र पनि थियो । त्यहाँ २० नम्बरको गाडीबाट जानकीप्रसाद प्रधान भन्ने व्यक्ति आउँथे । बत्तीसपुतलीमा मुरारीशमशेरको छोरा मोटरसाइकल चढ्थे ।

त्यो बेला साइकल नै दुर्लभ थियो । कोहीकोही साइकल चढेर चुरोट खान्थे । हाम्रातिरकाले तिनलाई गुन्डा भन्थे । गाउँमा पनि कसैले त्यसै गर्न थाल्यो भने ‘बाटोमा हिँड्ने गुन्डा आवारा जस्तो हुन थालेको’ भनेर गाली गर्थे ।

बानेश्वरभरिमा १२ वटाजति दरबार शैलीका घर थिए । डिठ्ठामुनिको मानिसले झिँगटीको छाना हालेर घर बनाउन पाउँदैनथ्यो । जुद्धशमशेर कान्छी श्रीमतीसँग बस्थे । हात्ती, घोडा चढेर हिँड्थे ।

एकपटक उनी थापागाउँको बाटो हिँड्दै रहेछन् । चिल्लो टायल हालेको घर देखेर ‘यो कसको घर, बोला त्यसलाई’ भनेर हुकुम भएछ । भोलिपल्टै घरवालाको कोरीखाना (कुष्ठरोगी राख्ने ठाउँ) को जागिर गयो । राणाको आठपहरियाको घरमा झिँगटीको छाना थिए । तिनीहरु पनि ‘आँखा पर्ला’ भनेर डराउँथे ।

२०११ सालमा सुब्बा होमप्रसाद बास्कोटाले बानेश्वरमा सिमेन्ट ढलान गरेको घर बनाए । त्यो नै बानेश्वरको पहिलो आधुनिक घर मानिन्छ । त्यो घर महादेवस्थानभन्दा माथि थियो र त्यसमा अख्तियारको अफिस पनि भाडामा बसेको थियो । त्यो बेला एक लाख रुपैयाँमा बनेको थियो रे त्यो घर ।

त्यो बेला ढलानयुक्त घर किन बन्न सम्भव भएन भने ९-१० सालमा बल्ल त्रिभुवन राजपथको ट्रयाक खोल्न थालिएको थियो । त्यो बाटोबाट बल्ल सिमेन्ट आउन थाल्यो । सुब्बा होमप्रसादको त्यो घर अहिले भत्किसकेको छ । अहिले बानेश्वरमा पुरानो दरबार शैलीको घर त्यही मीनभवन क्याम्पस मात्र हो ।

त्यतिबेला पैसा हुँदैनथ्यो, त्यसैले अर्मपर्मको माध्यमबाट श्रम आदानप्रदान गरिन्थ्यो । एकले अर्कोलाई सहयोग नगरे बाँच्न गाह्रो हुन्थ्यो । मकल बोकेर आगो लिन जाने चलन थियो । अक्कलझुक्कलबाहेक बानेश्वरमा कसैले भैंसी पालेनन् । गाई पाल्थे, तर दूध बेच्दैनथे । घरमा फलेको फलफूल बेचे पाप लाग्ने मान्यता थियो । कुनै पनि घरमा पर्खाल थिएन ।
वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको पुस्तक बानेश्वरको सेरोफेरोबाट ।

प्रतिक्रिया