सुनसान रातमा हरिया मकै खोज्दै हिँड्ने धनमायाको कथा…

काठमाडौं । मानिसले पारिवारिक जीवन चलाउन धेरै दुःख-सुख झेल्ने गर्छन् । दुःख-सुख झेल्दै जीवन चलाइरहेकै हुन्छन् । सहर होस् वा गाउँ, आफ्नो पारिवारिक जीवन चलाउन मानिसले केही न केही जीविकोपार्जन गर्नैपर्छ । मानिसले आफ्नो योग्यता, क्षमता र पहुँचका आधारमा जीविकोपार्जनका लागि विभिन्न काम गर्छन् । वास्तवमा कुनै पनि काम सानो वा ठूलो हुँदैन । तर सामान्य रोजगार वा स्वरोजगारलाई कामै होइन भनेर कतिपय मानिसहरू पन्छिने गर्छन् ।
काम सानो हुँदैन, सानै काम गरेर पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने धेरै उदाहरणीय मानिस समाजमा छन् । यस्तै झापा घर भएकी धनमाया श्रेष्ठ ठूलो मन लिएर सानै काम गरे पनि आयआर्जन गर्न सकिन्छ भन्ने उदाहरणीय महिला हुन् । उनले कान्ति बाल अस्पतालको ठ्याक्कै पछाडि पानी ट्यांकी नजिकै सडक छेउमै एउटा ठेला गाडा राखेकी छन् । ठेलामा आगो दन्किरहेछ । वरिपरि ग्राहक भुम्मिएका छन् । धनमायाले पोलेका मकै ग्राहकले नुन-खुर्सानीसँग स्वाद लिँदै खाइरहेका हुन्छन् । उता धनमाया भने मकै पोल्न व्यस्त हुन्छिन् । मकै पोलेर उनले परिवारको पेट पाल्नुपरेको छ । उनलाई आगो, धूवाँ, धुलो, घामपानीसँग कुनै पर्वाह नै छैन । धनमाया दैनिक आफ्नो काममा व्यस्त हुन्छिन् ।
उनी मध्याह्न १२ बजेदेखि बेलुका ६/७ बजेसम्म मकै किन्न आउने ग्राहकको पर्खाइमा हुन्छिन् । धनमायाले एकै ठाउँमा बसेर मकै पोलेर बेच्न थालेको ६ वर्ष भएछ । उनको परिवारमा ६ जना सदस्य छन् । अहिले धनमाया पति र एक छोरासँगै काठमाडौंमा डेरामा बस्छिन् । उनका तीन छोरीको भने विवाह भइसकेको छ ।
धनमाया झापा छोडेर महाराजगन्जको कान्ति बाल अस्पतालनजिकै डेरामा बस्न थालेको २१ वर्ष पुगेछ । उनी मकै पोलेर बेच्नुअघि घर निर्माणमा मजदुरी गर्थिन् । ६ वर्षदेखि भने उनको पेसा फेरिएको छ । उमेर ढल्किँदै गयो । ज्यामी काम गर्न उनी नसक्ने भइन् । अन्ततः उनले २०७२ सालदेखि सडक किनारमा ठेला राखेर मकै बेच्न थालेकी हुन् ।
ठेलामा मकै पोलेर बेच्ने काम देख्नेलाई त सजिलै लाग्छ । तर मकै संकलन गरेर ठेलासम्म ल्याउन त्यति सजिलो कहाँ छ र ! उनी भन्छिन्, ‘राति २ बजे महाराजगन्जबाट हिँड्दै–हिँड्दै मकै लिन चाबहिल पुग्नु पर्छ । एकातिर मध्यरातमा महिलालाई असुरक्षाको खतरा हुन्छ, अर्कातिर कुकुरले टाकेर घाउ हुने, रोग लाग्ने जोखिम पनि उस्तै छ ।’
आफू र आफ्नो परिवारका लागि ज्यानसँग पनि कुनै पर्वाह छैन । २ बजे राति सबै मस्तसँग सुतिरहँदा उनलाई पनि निद्रा पुर्याउने चाहना हुँदो हो । तर मध्यरातमा एक घण्टा बढी हिँडेर चाबहिलसम्म पुग्नैपर्ने बाध्यता छ । समयमा नपुग्दा मकै नपाइने डर हुन्छ । चाबहिलमा मकै नपाए उनी कालीमाटीसम्मै पुग्छिन् ।
धनमायाले मकै पाइहाले पनि तीन घण्टासम्म लाइनमा बसेपछि बल्ल पाउँछिन् । मकै बेच्ने धनमायाजस्ता धेरै छन् । धनमाया भन्छिन्, ‘राति २ बजे पुग्दा पनि कहिले त मकै नै पाइँदैन । निराश भएर फर्किनुपर्छ ।’
काठमाडौंको महँगीमा छाक टार्न आफ्नो काममा तल्लीन छिन् उनी । ६ वर्षदेखि मकै पोल्दै गर्दा धेरैपटक उनको हात पोलेको छ । आगोसँग काम गर्दा डढेर हात कालो भएको देखिन्छ । धेरै घण्टा उभिँदा खुट्टा कट्कटी दुख्छ । तर पनि उनी कामले सबै दुखाइ बिर्सिन्छिन् ।
मकै पोलेर बेच्नकै लागि उनले केही वर्षअघि १० हजार पाँच सय रुपैयाँमा ठेलागाडा किनेकी छन् । नयाँ गाडा महँगो हुने भएकाले उनले सेकेन्ड ह्यान्ड गाडा किनेकी हुन् ।
धनमाया झापा छोडेर महाराजगन्जको कान्ति बाल अस्पतालनजिकै डेरामा बस्न थालेको २१ वर्ष पुगेछ । उनी मकै पोलेर बेच्नुभन्दा पहिले घर निर्माण मजदुरका रूपमा काम गर्थिन् । ६ वर्षदेखि भने उनको पेसा फेरिएको छ । उमेर ढल्किँदै गयो । ज्यामी गर्न नसक्ने भइन् । अन्ततः उनले २०७२ सालदेखि सडककिनार ठेला राखेर मकै बेच्न थालिन् ।
आफ्नो परिवार पाल्न धेरै संघर्ष गरेको उनी बताउँछिन् । धनमाया भन्छिन्, ‘उमेर र बल छउन्जेल त ज्यामी काम गरेको थिएँ । ज्यामी काम गर्दा धेरै दुःख हुन्थ्यो । डोकोमा बालुवा र सिमेन्ट बोकेर ४/५ तलामा पुर्याउन धेरै गाह्रो हुन्थ्यो ।’
ज्यामी कामजतिकै दुःख मकै बेच्दा हुने उनको तीतो अनुभव छ । उभिएर मकै पोल्दा खुट्टा दुख्ने, हातका औंला दुख्ने र धूवाँका कारण फोक्सो र आँखामा समेत समस्या भएको धनमाया बताउँछिन् । यस्तै असुरक्षाका बाबजुद राति एक घण्टा हिँड्नुको कथा त छँदै छ ।
व्यापार गरेको पैसाले उनले घरखर्च धान्ने गरेकी छन् । उनले बेलुकासम्म मकै बेच्ने काम मात्र गर्दिनन् । आफू बसेको घरबेटीको घरको काम पनि भ्याउनुपर्छ । आफ्नो घरधन्धा पनि भ्याउनुपर्छ । संघर्षै-संघर्षमा उनको दिनरात बित्ने गरेको छ ।
धनमाया छोरीको उपचारका लागि २१ वर्षअघि काठमाडौं आएकी थिइन् । लामो समयसम्म छोरीलाई अस्पतालमा उपचार गर्नुपर्ने भएपछि ज्यामी काम सुरु गरेकी थिइन् । ज्यामी कामको पैसाले छोरीको उपचार गर्थिन् ।
कामको सिलसिलामा बिरामी छोरीलाई छाडेर काठमाडौंका विभिन्न ठाउँमा पुग्नुपथ्र्यो । दिनको १३० रुपैयाँ ज्याला पाउँथिन् । छोरीको उपचार गर्दै बिहान–बेलुका छाक टार्न मुस्किल परेको उनी दुखेसो सुनाउँछिन् । धनमायाले आजकल झन्डै १२० देखि १३० घोगासम्म मकै बेच्ने गरेकी छन् । मकै बेच्न कहिलेकाहीँ भने आफ्नो स्वास्थ्यमा समस्या हुन्छ । धेरैचाहिँ डर भने नगरपालिका आएर ठेला लगिदिन्छ कि भन्नेमा हुन्छ ।
धनमायाका छोरा अहिले हुर्किएका छन् । साहुको गाडी चलाउँछन् । परिवारमा केही भरथेग भएको छ । कुनै पनि परिवारमा पुरुषको घर चलाउन प्रमुख भूमिका हुन्छ । पतिबाट भनेजसरी आर्थिक सहयोग हुन नसकेपछि धनमाया आफैं जुट्नुपरेको हो ।
पछिल्लो समय उनका पति पनि बिरामी छन् । छोराछोरी मात्रै होइन, पतिको उपचारमा पनि खर्च जुटाउनु उनको बाध्यता छ । काठमाडौंमा छोरीको उपचार गर्न आएदेखि संघर्ष गर्दै असल पारिवारिक भूमिका निर्वाह गर्ने धनमाया सबैकी प्रेरणाकी खानी भने हुन् ।
प्रतिक्रिया