रक्सौल-काठमाडौं बीचको प्रस्तावित रेल मार्गको अन्तिम सर्भे चाँडै

नेपालखोज २०७८ फागुन ३ गते १८:०१

काठमाडौं । रक्सौल-काठमाडौं प्रस्तावित रेल मार्गको फाइनल लोकेसन सर्भेको काम चाँडै सुरु हुने भएको छ । सर्भेको अन्तिम प्रारुप तयार भइसकेको समाचारमा बताइएको छ । भारत सरकारको आर्थिक सहयोगमा य‍ो सर्भेका लागि टिमसमेत गठन भइसकेको छ ।

नेपाल रेल्वेका प्रवक्ता अमन चित्रकारका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमतिअनुसार भारतले आफ्नो खर्चमा यो रेल मार्गको परियोजना तयार गर्नेछ । भारतीय रेल्वे इन्जिनियरिङ विभागले सर्भेका लागि टिम तयार गरिसकेको छ । यो सर्भेमा उपयोग हुने आधुनिक उपकरणहरुमा लाग्ने सीमा शुल्क तथा राजस्व छुटका लागि नेपाल सरकारले नेपाली भन्सारलाई आवश्यक निर्देशन पनि पठाइसकेको छ । यो कार्यको जिम्मा भारतीय कम्पनी कनकोर रेल्वे कर्पोरेसनले पाएको छ ।

No description available.

सन् २०१८ मा यो रेल लाइनको पहिलो सर्भे सम्पन्न भइसकेको छ । त्यसैलाई अन्तिम रूप दिन पुन: सर्भे गर्न लागिएको हो । भारतीय दैनिक जागरणका अनुसार प्रारम्भिक सर्भेअनुसार रक्सौल (भारत) लाई काठमाडौं (नेपाल) सँग रेलमार्गले जोडने यो परियोजनामा २५ हजार करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान छ । यो रेल मार्गले नेपाल र भारतका अतिरिक्त अन्य मुलुकका पर्यटकलाई पनि सीमा आरपारको यात्रा गर्न सहज बनाउनेछ । गएको वर्षको ३१ अगस्तमा रेल्वेको यो परियोजनाका लागि भारत र नेपालका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौतासमेत भइसकेको छ ।

रक्सौलबाट काठमाडौंबीचको सडकको दूरी लगभग १४५ देखि १५० किलोमिटर छ भने यो रेल लाइनको दूरी १३६ किलोमिटर हुनेछ । सर्भेक्षणअनुसार यो रेल मार्ग वीरगन्ज, निजगढ, शिखरपुर, सिस्नेरी हुँदै काठमाडौंसँग जोडिनेछ । यो परियोजनालाई नेपालको वन संरक्षण क्षेत्र तथा राष्ट्रिय उद्यानहरुलाई कुनै हानि नपुग्ने गरी प्रस्तावित गरिएको बताइएको छ ।

No description available.

प्रस्तावित रेल परियोजनामा रक्सौल, वीरगन्ज, बगही, पिपरा, धुमरवाना, काकडी, चन्द्रपुर, धीयाल, शिखरपुर, सिस्नेरी, थसिखेल र काठमाडौं गरी कुल १३ स्टेसन रहनेछन् । यसमा ३२ वटा रोड ओभर ब्रिज, ५३ वटा अन्डर पास, २५९ वटा साना पुल तथा ४१ वटा ठूला रेल पुल निर्माण हुनेछन् । प्रस्तावित रेलखण्डमा ३९ वटा सुरुङ रहनेछन् जसको कुल लम्बाइ ४१.८७ किलोमिटर हुने बताइएको छ ।

प्रतिक्रिया