शनिबार, वैशाख २२, २०८१

बानेश्वरमा दु:खको कमी थिएन

श्रीहरि अर्याल २०७८ फागुन ७ गते ११:१३

बानेश्वरमा बोगटीगाउँ थियो, जुन अहिले एभरेष्ट होटेलपछाडि टेनिस कोर्टनिर पर्छ । १९०३ सालमा कोत पर्व हुँदा त्यहाँका बोगटीहरुका पुर्खा सरदार रहेछन् । उनीहरु काटिएछन् । परिवारका सदस्यहरु सामाजिक बहिस्कारमा परे । त्योबेला सरकारले काटेका मान्छेका परिवारलाई टोल, छिमेक कसैले सहयोग गर्ने कुरा भएन । कुनै तरहले बानेश्वरको निलकाँडा र नर्कटघारीमा आएर बसेछन् । स्यालको बिगबिगी थियो, साँझ परेपछि घरबाट बाहिर निस्कने कुरै थिएन ।

राणाकालभर पनि बोगटीहरुले जागिर खान पाएनन् । काटिएकाहरुको सन्तान भनेर राज्यबाट अवहेलनामा परे । पछि गणेशबहादुर कर्णेल भएपछि बल्ल एक/दुई जनाले पुलिसमा जागिर खाएछन् । सरदारका सन्तानहरु आर्थिक रुपमा तन्नम भएर लामो समय पीडा भोग्नुपरेको रहेछ । एभरेष्ट होटलले बोगटीगाउँ लिइदिएपछि उनीहरु अहिले अलि तल बस्छन् ।

बानेश्वरमा मगरगाउँ पनि छ । सिंहदरबार बनाउने क्रममा पनि उनीहरु बानेश्वर आएर बसेको अनुमान छ । त्योबेला जग्गाको कुनै मूल्य थिएन, जो जहाँ आएर बसे पनि हुन्थ्यो । उनीहरुको एकमुष्ट बस्ती हुन थालेपछि त्यो ठाउँलाई मगरगाउँ भन्न थाले । तर अहिले त्यहाँ २/३ घर मात्र मगर छन् ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भएको ठाउँमा १९८४/८५ सालमा बनेको ब्यारेक थियो । ब्यारेक बन्नुअघि त्यो जग्गामा ठकुरीहरुको भोगचलन रहेछ । उनीहरुका जिजुबाजेहरु खसी बेच्न काभ्रेबाट काठमाडौं आउने रहेछन् ।

कोतपर्वको केही वर्षपछिको कुरा हुनुपर्छ, कसैले पनि उनीहरुको खसी किनेनछन् । उनीहरु खसीहरुको साथमा अहिलेको सम्मेलन केन्द्र भएको ठाउँमा बस्न थालेछन् । विस्तारै उनीहरुले त्यो जग्गा कसको रहेछ भनेर सोधीखोजी गरेछन् । एकजनाले ‘सरकार बक्साउनु, यो जग्गा तेरो हुन्छ’ भनिदिएछ । खासमा त्यो जग्गाअघि कोतपर्वमा काटिएका बोगटीहरुको रहेछ । पछि त्यसमा सरकार लागेको रहेछ ।

खसी व्यापारीहरु त्यहीँ बस्न थाले । पछि राणाहरुले ब्यारेक बनाउँदा उनीहरुलाई लखेटे । त्यो बेलामा राणाहरुले ‘मलाई यो जग्गा चाहियो’ भनेपछि कुनै उपचार थिएन । उनीहरु लाखापाखा लागे ।

२००५ सालमा बानेश्वरलाई विमानस्थल बनाउनुपर्छ भनेर छलफल हुन थालेछ । एकथरीले विमान उडेपछि फन्को लगाउने क्रममा पशुपति मन्दिर नाघिन्छ र त्यसले अनर्थ हुन्छ भनेर विरोध गर्न थाले । अनि विकल्पको रुपमा गौचरणमा विमानस्थल बनाइएको रहेछ ।

दिल्ली घुमेर आएका राजा महेन्द्रले त्यहाँको चाणक्यपुरी जस्तै आवास क्षेत्र बनाउने योजना बनाएछन् । परिणाम, सम्पूर्ण बानेश्वरको जग्गा रोक्का भयो । कहाँ जाने, कसलाई भन्ने, कसरी विरोध गर्ने ? कोही बोल्न सकेनन् ।

जग्गा रोक्का गरेपनि सरकारसँग बजेट थिएन, योजना अलपत्र पर्‍यो । वीरेन्द्रको पालामा २०३२ सालमा जग्गा फुकुवा भयो । त्यसपछि यहाँको जग्गाको मूल्य बढ्न थाल्यो । भक्तपुरको बाटो भनेपछि झनै भाउ माथि पुग्यो । अब फेरि बाटो विकासको अर्को पाटो शुरु भयो ।

२०२०/२१ सालतिर जग्गा प्लटिङ गरेर बेच्ने काम पहिलो पटक बानेश्वर हाइटबाट शुरु भएको हो । जगदिश शम्शेरले ११ सयको दरमा किनेको जग्गा प्लटिङ गरेर टंकप्रसाद आचार्य, कुलशेखर शर्मा र भेषबहादुर थापालाई प्रति रोपनी ४ हजारमा बेचेका थिए ।

२५–२६ सालमा सडक बनेपछि बानेश्वरमा जग्गाको कारोवार छ्यापछ्याप्ती हुन थाल्यो । सबै जग्गा किन्ने, बाटो रोक्का गर्ने, मिलाउने, गोरेटो फराकिलो बनाएर बेच्ने गर्न थाले । बानेश्वरमा अहिले भएजतिका बाटोका रेखांकन कुनैपनि सरकारी योजना अनुसार भएको होइन ।

शंखमूलदेखि पुरानो बानेश्वर चोकसम्मको बाटो मात्र योजनाअनुसार बनेको हो । राणाकालमा सिंहदरबारदेखि मीनभवनसम्म त्यसरी नै बाटो बनेको हो । बाँकी भागमा सरकारी योजना अनुसार कुनैपनि बाटो बनेन । बाटो बढाए जग्गाको भाउ बढ्छ भन्ने भएपछि मानिसहरुले आली फराकिलो बनाएर जग्गा बेच्न थाले ।

पाटन क्याम्पस पढ्दा बाहुनको छोरालाई सुँगुरले छोला भन्ने डर थियो । त्यहाँ बिहानै मानिसहरु कपडा ओढेर दीर्घशौचमा हुन्थे । ‘तिमीहरुको अंग हेरेर पढ्न आउनुपर्ने ?’ भनी विरोध गर्दा पाटनबासी हामीमाथि नै आइलागे ।

उनीहरु सुँगुर हटाउन पनि मानेनन् । बिहान उनीहरुले गरेको फोहोर सबै सुँगुरले सफा गर्दो रहेछ । दिउँसो त्यही ठाउँमा धान सुकाउँदा रहेछन् । अहिले तराईका कतिपय जिल्लामा यस्तै समस्या छ ।

बानेश्वरमा हामी जावलाखेलको चिडियाखानामा बाघ कराएका सुन्थ्यौं । घण्टाघरको घण्टी सुनिने कुरा त मामुली थियो । राति बस्दा उज्यालोका लागि मट्टितेल खर्च हुन्थ्यो । त्यसैले सम्साँझै खाना खाएर घुप्लुक्कै सुत्नमा जोड दिइन्थ्यो ।

केटाकेटीलाई दशैंमा सबभन्दा रमाइलो हुन्थ्यो । इन्द्रजात्रापछि दशैंको माहोल बन्थ्यो । त्योबेला मासु खाने भनेको निकै दुर्लभ कुरा हुन्थ्यो । दशैंमा चाहिँ जतिसुकै गरिबले पनि छोराछोरीलाई पेटभर मासु खुवाउनुपर्छ भन्ने मान्यता थियो ।

श्राद्धका लागि र जमरा राख्ने बाहेक अरु कामका लागि खोलाबाट बालुका झिकिदैनथ्यो । ठूलाबडाको घरमा बाहुनले जमरा राख्थे । व्रत बस्ने, चंगा उडाउने चलन निकै थियो । कोजाग्रत पूर्णिमापछि चंगा उडाउन हुँदैन भनिन्थ्यो ।

मैले २०२० सालमा प्रवेशिका पास गरेपछि दशैंमा पहिलो पटक प्यान्ट छालाको जुत्ता लगाउन पाएको थिएँ । हामी खालीखुट्टा नै स्कूल जान्थ्यौं ।

त्योबेला जग्गाजमिन प्रशस्तै थियो, तर खान पुर्‍याउनुपर्ने भएकोले अन्न बेच्न मिलेन । त्यसरी पैसाको अभाव थियो । सरकारी जागिरेहरु समेत एकजोर खद्दरका लुगा हाल्न दशैंको पेश्की कुर्थे । लुगा सिलाउने दर्जीले पैसा होइन, बालीघरे प्रथा अनुसार अन्न पाउँथे ।

कयौंलाई दशैंका बेलामा दक्षिणा दिन पनि गाह्रो हुन्थ्यो । दशैंमा केटाकेटीलाई रमाइलो हुन्थ्यो, तर अविभावकलाई कति गाह्रो हुन्थ्यो, अहिले मात्र महशुस हुन्छ । त्यतिबेला सेनामा काम गर्नेका लागि तलब होइन, जग्गा थियो । त्यसलाई खान्गीको जग्गा भनिन्थ्यो । त्यो जग्गाबाट कमाएर व्यवस्थापन गर्न कम्ती दुःख थिएन ।

डिल्लीबजारमा बस्नेहरु हामीलाई ‘काँठे, बानेश्ह्वरे’ भन्थे । हामी कोटेश्वरबासीलाई त्यसै भन्थ्यौं । कोटेश्वरमा भैंसी नपाल्ने र दूध नबेच्ने मान्छे हुँदैनथे । उनीहरु दूध बेच्न सहर आउँथे । बाग्मतीमा पुल नभएकोले बाढी आएको बेला तर्न सक्दैनथे ।

अरु बेलामा कतिपयले दूधमा बाग्मतीको जल मिसाएर आउँथे र यता बेच्थे । अनि हामीले जिस्क्याएर ‘यस्तो पनि गर्ने हो ?’ भनेर सोध्थ्यौं । उनीहरुले, ‘बाबु के गर्ने, शहरमा बस्नेलाई के थाहा, बाग्मतीको जल खान दिएर पाप त लाग्दैन नि’ भनेर जवाफ दिन्थे । मान्छेहरुले पहाडको दुःख सुनाउँथे । तर, मलाई लाग्छ, काठमाडौं भन्नु मात्र थियो, यहा पनि दुःखको कुनै कमी थिएन ।
-वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको पुस्तक बानेश्वरको सेरोफेरोबाट ।

प्रतिक्रिया