सोमबार, वैशाख १७, २०८१

सस्तो मकैको च्याख्ला कि महँगो कर्न फ्लेक्स खाने ?, विज्ञापनको पछि नलागौं

डा. अरुणा उप्रेती २०७८ फागुन ९ गते १२:५६

आजभोलि धेरै अभिभावक आफ्ना बच्चालाई पत्रु खाना नदिने प्रयत्नमा छन् । तर, भ्रमपूर्ण विज्ञापनकै कारण त्यस्तो खाना बच्चाहरूको दैनिक भोजनको हिस्सा बनिराखेको छ । प्रोटिन, भिटामिन, मिनरल्स आदि रहेको भनिएका प्याकेट-बन्द खानेकुरा बच्चालाई खुवाउँदा अभिभावक ढुक्क बन्छन् । तर, तिनमा के-कस्ता पदार्थ प्रयोग गरिएका छन् भन्नेबारे ध्यान दिएका हुँदैनन् ।

वास्तवमा प्रशोधन नगरिएको अन्नमा शरीरलाई ऊर्जा प्रदान गर्ने सूक्ष्म पोषक तत्त्व हुन्छ । प्रशोधित अन्नबाट बनेका, उच्च मात्रामा चिनी भएका, कृत्रिम स्वाद, सुगन्ध र रङ्गहरू थपिएका खानेकुरा भने स्वस्थ होइनन् । त्यसैगरी बट्टाबन्द फलको रसमा पनि फलको स्वाद त हुन्छ, तर त्यो स्वस्थ नहुन सक्छ । प्याकेटको नास्ता जस्तै हो यो पनि ।

अहिले संसारमै आधुनिक खाना खाने प्रचलन आइसक्यो । नयाँ पुस्ताको खाने शैली र संस्कृति हजुरबुबा-हजुरआमाको भन्दा धेरै फरक छ । व्यस्त जीवनशैलीका कारण हामी पकाउन नपर्ने वा छिटो पकाउन मिल्ने विकल्प खोज्दै छौं । दुःखलाग्दो कुरा, हामी सानो छँदा खाजामा सिङ्गै मकै पोलेर वा उसिनेर खान्थ्यौं, तर अहिलेका बच्चाहरूमा कर्नफ्लेक्स खाने चलन बढेको छ ।

हामीले कस्ता खाद्य पदार्थ किन्ने अनि भान्सामा कस्ता कुरा पकाउने त ? टीभी र रेडियोमा देखिने र सुनिने विज्ञापनबाट प्रभावित भई खाद्यवस्तु नकिनौं ।प्याकेटका सबै खाद्य पदार्थ अस्वस्थ हुन्छन् भन्ने चाहिं होइन । हिजोआज दाल, गेडागुडी, तिलको लड्डु, घिउ आदि पनि प्याकेटमा आउँछन् । यी स्वादिला र स्वस्थकर खाना हुन् ।

किनमेल गर्दा आफ्नो मूल रूपमा भएका खाना छानौं । जस्तै- अम्बाको रसको साटो अम्बा । बालबालिका र आफ्नो पोषणका लागि बट्टाको भन्दा दूध, दाल, अण्डा, सागपात, तरकारी, मही जस्ता घरकै खाना खाऔं । यसो गर्दा स्वास्थ्य र पैसा दुवै जोगिन्छ । पहिलेकै जसरी स्वस्थकर कोदो र फापरलाई भोजनको हिस्सा बनाऔं । पहिले मौसम अनुसारको खाना हुन्थ्यो । स्थानीय रूपमा उत्पादित खानेकुरा खाइने भएकाले त्यो सस्तो र स्वस्थ दुवै हुन्थ्यो । खाना घरमा प्रायः ताजा पकाइएको हुन्थ्यो ।

खानाका नामले पनि भ्रमित भइराखेका हुन्छौं हामी । स्वस्थकर भनेर खैरो पाउरोटी खोजिरहेका हुन्छौं । अप्रशोधित गहुँबाट बन्ने यस्तो पाउरोटी तुलनात्मक रूपमा बढी पौष्टिक हुन्छ । तर, खैरो देखिने सबै पाउरोटीमा अप्रशोधित गहुँ नहुन सक्छ । त्यसमा खैरो रङ्ग मात्रै हालिएको पनि हुन सक्छ ।

परम्परागत खाना नै बढी लाभदायक हुने विभिन्न अध्ययनले पुष्टि गरेका छन् । त्यसैले अहिले हजुरबुबा-हजुरआमाकै वेलाको जस्तो खाना जुटाउन सकिँदैन तर पनि स्वस्थ र प्याकेटका सबै खाद्य पदार्थ अस्वस्थ हुन्छन् भन्ने चाहिं होइन । हिजोआज दाल, गेडागुडी, तिलको लड्डु, घिउ आदि पनि प्याकेटमा आउँछन् । यी स्वादिला र स्वस्थकर खाना हुन् ।

तर, प्याकेट खोलेर तुरुन्त खान मिल्ने आलु चिप्स, बिस्कुट, चाउचाउ जस्ता सामग्रीमा भने अत्यधिक नुन/चिनी र रसायन मिसाइने भएकाले अस्वस्थकर हुन्छन् । त्यसैले के खाने भन्ने निणर्य गर्दा खानाको पोषण-मूल्यलाई सधैं विचार गरौं ।

प्रतिक्रिया