‘भन्सारसम्बन्धी नीतिगत सुझाव पेस’

काठमाडौं । नेपाल अटोमोवाईल डिर्लस एसोसिएसन (नाडा) र भन्सार बिभागका नव नियुक्त महानिर्देशक कमल भट्टराईबिच भेटवार्ता भएको छ । नाडाका अध्यक्ष धु्र्व थापाको नेतृत्वमा सात सदस्यीय प्रतिनिधि मण्डलले आज भन्सार विभागका नव नियुक्त महानिर्देशक भट्टराईलाई स्वागत गर्दै भेटवार्ता गरेको हो ।
भेटघाट तथा छलफलका क्रममा प्रतिनिधि मण्डलले भन्सार सम्बन्धी नीतिगत सुझाव समेत पेस गरेका छन् । भेटमा अध्यक्ष थापाले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको बताउँदै भन्सार मूल्याङनमा देखिएका विभिन्न समस्याबारे छलफल गरेका छन् । अध्यक्ष थापाले नेपाल विश्व व्यापार संगठनको सदस्य भई सकेको अवस्थामा भन्सार मूल्याङ्कन सन्दर्भसूचि नै खारेजगरी भन्सारमा माल वस्तुको यथार्थ घोषणा र वर्गिकरण गराई भन्सार मूल्याङ्कन पद्धती र कारोबार मूल्यमा आधारित बनाउने आवश्यक पहल गर्नको लागि आग्रह समेत गरे ।
छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले गरेको एम्बुलेन्सको वर्गिकरणमा परिमार्जन गर्नु पर्ने बताउँदै आयातित सवारी साधनको भन्सार जाँचपासमा पनि ढीलाई भईरहेकोले समाधानका लागि अनुरोध गरे । उपाध्यक्ष सुनिल रिजालले एलसीखोलेर सामान आयात गर्दा समस्या परेको बारे बताउँदै एउटै वस्तुमा भिन्न भन्सार कार्यालयमा एचएस कोडको परिभाषामा फरक पर्ने गरेको बताए । बे्रक लाइनिंग जस्ता अत्यावश्यकिय बस्तुमा पनि सतप्रतिशत नगद मार्जिन राखेर एलसी खोल्नु पर्ने नियमले व्यवसायीलाई समस्या परेकोले त्यसको समाधानका लागि पहल गरि दिनु हुन अनुरोध गरे ।
छलफलको अन्तमा महानिर्देशक भट्टराईले भन्सार विभागसँग विगतमा भएको सहमतिमा केही विषय संशोधन गर्नु परेमा दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने बताए । छलफल तथा भेटघाटमा सचिव विक्रम सिंघानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको नाडाले जनाएको छ ।

प्रतिक्रिया