देउवा-ओली छलफलमा, एमसीसीदेखि सरकार र सभामुखको विषयमा घनिभूत छलफल हुँदै

नेपालखोज २०७८ फागुन १० गते १८:५९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । प्रधानमन्त्री र ओलीको भेटवार्ता बालुवाटारमा जारी छ ।

एमसीसीलाई लिएर सत्ता गठबन्धनमा विभाजन आइरहेका बेला प्रधानमन्त्रीले लगातार एमाले अध्यक्ष ओलीसँग संवाद बढाएका छन् । देउवा एमसीसीलाई अनुमोदन गर्ने रणनीतिमा कम्मर कसेर लागेका छन् । उनले एमसीसी पास गर्न जस्तोसुकै मूल्य चुकाउन पनि पछि नहट्ने बताइसकेका छन् ।

ओलीले भने गठबन्धन तोडेपछि मात्र कांग्रेससँग अरु विषयमा सहकार्य हुन सक्ने बताएका छन् । गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने बताउँदै आएका छन् । माओवादी र समाजवादीको धम्कीपछि प्रधानमन्त्री ओलीसँग नजिकिएका हुन् । एमालको साथ चाहिए सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग ल्याएर हटाउनुपर्ने पनि एमालेको माग छ ।

गठबन्धनले विपक्षमा मत हाले सरकार छाड्नुपर्ने कांग्रेसले बताइरहेको छ । सरकारको विपक्षमा लाग्नेसँग एउटै सरकारमा बस्न नसकिने कांग्रेसको धारणा छ । कांग्रेसले गठबन्धनले नै एमसीसी पास गर्न सहयोग गर्नुपर्ने बताउँदै आएको छ ।

ओली र देउवाबीचको वार्तालाई विशेष महत्वका साथ हेरिएको छ । कुनै न कुनै समझदारी शीर्ष तहमा हुनसक्ने बताइएको छ । एमाले र कांग्रेस मिलेर सरकार बनाउने पनि चर्चा सुरु भएको छ । प्रधानमन्त्रीलाई गठबन्धनका पार्टीले साथ नदिए उनले विकल्प खोज्ने स्पष्ट पारिसकेका छन् ।

प्रतिक्रिया