गभर्नर अधिकारीद्वारा विराटनगर कार्यालयमा बीएसबीएसको शुभारम्भ

काठमाडौं । नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा औपचारिक शुभारम्भ भएको छ ।
आज आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले बीएसबीएस मेसिनको स्वीच अन गरेर यसको शुभारम्भ गरेका हुन् । चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बीएसबीएस मेसिनको प्रयोगमार्फत स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने उद्देश्यले उक्त प्रणाली अवलम्बन गरिएको हो ।
सो अवसरमा गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा बीएसबीसको सुरुआत एउटा महत्वपूर्ण उपलब्धि रहेको धारणा राखेका छन् । बीएसबीएसमार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको जानकारी उनले दिए । साथै बीएसबीएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारीसमेत गभर्नर अधिकारीले दिए ।

कार्यक्रममा मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले अयोग्य नोट धुल्याउन बैंकले अवलम्बन गरेको नीतिगत व्यवस्थाबारे चर्चा गर्दै बीएसबीएसको सञ्चालन प्रक्रियाबारे जानकारी दिए । सो अवसरमा कोष तथा लेखा नियन्त्रकको कार्यालय, मोरङका प्रमुख परशुराम नेपालले बीएसबीएसको प्रयोगले नोट धुल्याउने पद्धतिलाई आधुनिक बनाएको धारणा राखे । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक मीना पाण्डेको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
बीएसबीएस मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्र्याएर ब्रिकेट तयार गर्दछ । उक्त मेसिनमा दुई वटा खण्ड रहन्छन् । पहिलो खण्डले नोटलाई टुक्र्याउने कार्य गर्छ, भने दोस्रो खण्डले टुक्र्याइएको नोटबाट ब्रिकेट तयार गर्छ । उक्त मेसिनमा एक पटकमा २०० केजीसम्म बैंक नोट राख्न सकिन्छ, र मेसिनले प्रतिघण्टा १०० केजी नोटलाई टुक्र्याउने क्षमता राख्छ ।








प्रतिक्रिया