शनिबार, वैशाख २२, २०८१

प्रेसर !

नारायण तिवारी २०७८ फागुन १४ गते ९:३१

साझा बसमा चढेको छु । अगाडि देखिरहेको छु- जाम छ । सिटमा छु बसेको । भुसुक्कै निदाउँछु । लामो जामले पनि होला आएकी निद्रा देवी ।

अचानक आँखा खुल्दा लाग्छ कौशलटार जहाँ मेरो डेरा छ, कटिसक्यो किजस्तो !

बसेको ठाउँबाट तर्सिँदै, हतारिँदै उठ्छु । र, एक झट्कामा पुग्छु उत्रिने अगाडि राखिएको ढोकामा । जहाँ, पैसा उठाउन तम्तयार बसेका छन् कन्डक्टर !

उनलाई सोध्छु- “कौशलटार आइसक्यो भाइ ?”

उनी मलाई अचम्मसित नियाल्छन् र बोल्छन्- “कटिसक्यो ! कहाँ उत्रिनु पर्ने होला ?”

उनी उमेरको लिहाज गर्छन् र फेरि भन्छन्- “हजुर, अब त अलिकति हिंड्नु पर्यो । कौशलटार छुट्यो ।”

म सोच्दछु, पछि छुट्यो कि ? र, बोल्छु-“गट्ठाघर आएको हो ?”

उनी बोल्छन्- “होइन, जडिबुटी कट्यो । भन्नुस् न हजुर कहाँ उत्रिने ?”

म चकमन्न हुन्छु । घुम्छु, आफ्नै दिमाग सितै । गम खान्छु- के भो मलाई ?

फेरि, जवाफ खोज्छु- “होइन, यो गाडि कहाँ गइरहेको छ ?”

कन्डक्टर फेरि बोल्छन्- “कलङ्की हो हजुर ! हजुर कहाँ जाने ?”

उनी मेरो उमेरको लिहाजले ‘हजुर’ भन्दैछन् । म भ्रमित झैँ “एकछिन्” भन्छु र फर्किन्छु आफ्नो सिटमा बस्न । तर, त्यहाँ अर्को कोही बसिसकेको छ । म घुमिइरहन्छु, उभिइरहन्छु । मलाई कोही सिट छोड्दैनन् ।

बल्ल अलिक नियन्त्रित हुन्छु- चेत फिरेजस्तो । भ्रमबाट छ्याङ्ग भएजस्तो । म कौशलटार आफू बसेको डेरातर्फ होइन, बानेश्वरतर्फ जाँदै रहेछु । एक झमटको निद्राले सब गोलमाल ! लागेछ- साझा बसमा म जाँदै, बानेश्वरतिरबाट कौशलटार डेरा !

बानेश्वर पुगेपछि उत्रिन्छु र कन्डक्टर भाइलाई भन्छु- “अघि म अलमलिएँ भाइ ! म उत्रिने ठाउँ यो हो ।”

उनी सुस्तरी, विनम्र भएर, स्नेही बनेर म उत्रिँदै गर्दा सोध्छन्- “हजुरलाई प्रेसर छ ?”

म जवाफमा बोल्छु- “हो, प्रेसर छ !”

उनी फेरि स्नेही बोल्छन्- “राम्ररी, विस्तारै जानुहोला !”

म टाउको हल्लाउँछु । र, सोच्दछु- ‘हो, मलाई प्रेसर त छ । तर, ब्लड प्रेसर होइन, घर-व्यबहारको प्रेसर…!’

प्रतिक्रिया