शनिबार, वैशाख २२, २०८१

म तिमीलाई माया गर्छु

किशोर पहाडी २०७८ फागुन १६ गते ११:५९

२०४१ पुस १ गते लेखिएको यो कविताका सन्दर्भमा कवि किशोर पहाडी लेख्छन्- रुसले युक्रेनमाथि हमला गरेपछि मैले आफ्नो यो कविता सम्झिएँ ।

युद्धको बेला सबै मान्छेलाई
बन्दुक समाउन लगाउनुपर्छ,
युद्धको बेला सबै मान्छेलाई
तरवार भिर्न लगाउनु पर्छ,
युद्धको बेला सबै मान्छेलाई
युद्धको सुरसार गर्न लगाउनुपर्छ ।
तर म तिमीलाई बन्दुक हैन,
फूलको गुच्छा समाउन लगाउनेवाला छु ।
युद्धमा तरवार हैन,
म तिमीलाई चन्द्र र तारा भिर्न लगाउनेवाला छु ।
म तिमीलाई युद्धको सुरसार हैन,
सेतो परेवालाई म्वाई खान लगाउनेवाला छु ।
…किनभने म तिमीलाई माया गर्छु ।

म तिमीलाई माया गर्छु ।
त्यसैले बिन्ती छ !
तिमीले समाएको त्यो आगोको मुस्लोलाई
आफ्नो हत्केलाको भाग्यरेखामा डुबाएर निभाइदेऊ ।
तिम्रो हात पोल्ला,
तिमीले निम्त्याएको ज्वालामुखीलाई
आँसुको बागमती खन्याएर साम्य पारिदेऊ ।
सडकमा कमिलाहरू हिंडीरहेछन्,
त्यसलाई नकुल्च –
अलि छेउ लागेर आफ्नो घोडालाई लैजाऊ ।
नदीमा माछाहरू पौडिरहेछन्,
त्यसलाई नकिच –
सुस्तरी आफ्नो डुङ्गालाई खियाऊ ।
डुङ्गा र घोडा त धृतराष्ट हुन्तिनीहरूका आँखा हुँदैनन् ।
डुङ्गा र घोडाका आँखा हुँदैनन्,
तर कमिला र माछाका त हुन्छन् आँखा ।
आँखा – कृष्णको आँखा
आँखा – जिसस क्राइष्टको आँखा
आँखा – गौतम बुद्धको आँखा
आँखा – पैगम्बर मोहम्मदको आँखा



दा

युद्धको बेला तिमी ती आँखाहरू फोड्न पाउँदैनौ,
युद्धमा कसैलाई निसहारा बोकाएर मार्न पाउँदैनौ,
जीवन दिन सक्दैनौ भने तिमी
जीवन लिन पनि सक्दैनौ,
आफ्नो घोडा र डुंगालाई होसियारीका साथ हाँक ।
युद्धमा फूल फुल्दैन, बारुद हाँसेको हुन्छ
युद्धमा परेवा हुँदैन, गिद्ध बिउँझेको हुन्छ
म तिमीलाई फूलको गुच्छा दिनेवाला छु
म तिमीलाई सेतो परेवालाई म्वाई खान लगाउनेवाला छु
किनभने म तिमीलाई माया गर्छु ।

प्रतिक्रिया