निर्वाचनको दिनसम्म थप २ लाख मतदाता थपिने अनुमान

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीको सम्बन्धमा राजनीतिक दलहरुसँग छलफल गरेको छ । आयोगले आज स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरुसँग आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सम्बन्धमा छलफल गरेको हो ।
छलफलका क्रममा आयोगले निर्वाचन तयारीको सम्बन्धमा गरेका कामहरु राजनीतिक दलका प्रतिनिधिहरुलाई सुनाएको र निर्वाचन आचारसंहितालगायतको विषयमा छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । राजनीतिक दलहरुले आयोगले जारी गर्ने आचारसंहिता पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएको पनि उनले बताए । त्यसैगरी राष्ट्रिय मान्यता नपाएका राजनीतिक दलहरुले पनि पार्टी दर्ताको क्रममा पाएको चुनाव चिह्न निर्वाचनमा पनि पाउनुपर्ने माग गरेको उनले बताए ।
प्रवक्ता पौडेलले राष्ट्रिय मान्यता नपाएका राजनीतिक दलहरुलाई पनि उनीहरुकै निर्वाचन चिह्न दिने सम्बन्धमा निर्वाचन आयोगले सकारात्मक रुपमा लिएको बताए । प्रमुख निर्वाचन आयुक्तले यसको सम्बन्धमा भएका कानुनी जटिलताहरु फुकाउने सम्बन्धमा कानुनी परामर्श गरिरहेको र दलहरुको बिचमा सोही कुरा राखिएको उनले जानकारी दिए ।
प्रवक्ता पौडेलका अनुसार केही दलहरुले निर्वाचनमा खर्च गर्न पाउने सिलिङ बढाउनुपर्ने माग गरेका थिए भने केहीले भने खर्च नियन्त्रण गर्नका लागि आयोगले तोकेको सिलिङ ठिक भएकाले खर्चको सिलिङ बढाउनु नहुने धारणा राखेका थिए ।
छलफल पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपा (माओवादी केन्द्र)का नेता लिलामणि पोखरेलले निर्वाचन आयोगले तोके भन्दा बढी रकम खर्च भएको अवस्थामा आयोगले अनुगमन गर्नुपर्ने धारणा राखिएको बताए । निर्वाचनलाई कम खर्चमा धाँधलीरहित रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएको बताए । जनता समाजवादी पार्टीका नेता प्रकाश अधिकारीले उमेर पुगेका सम्पूर्ण मतदाताको नाम मतदाता नामावलीमा आउनुपर्ने बताए । निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने उनले बताए ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झाले निर्वाचनको दिनसम्ममा थप २ लाख मतदाता नामावली थपिने जनाएको बताए । मतपत्रको रङको सम्बन्धमा स्वस्तिक छाप स्पष्टसँग देखिने गरी विशेषज्ञहरुसँगको परामर्शको आधारमा तय गरिएको आयोगले प्रष्ट पारेको उनले जानकारी दिए ।

प्रतिक्रिया