सोमबार, वैशाख २४, २०८१

भेउ पाइनँ

हीरण्य भोजपुरे २०७८ फागुन २८ गते १०:३९

बाउ बिते । लगभग सत्तरी बर्खको जीवनवन्धनबाट उनी विमुक्त बने । लाग्यो उनको आत्मा अनन्तमा डुब्यो । आहा ! स्वतन्त्र ।!
स्वतन्त्रता !
मलाई बिट्ठूको याद आयो । बिट्ठू । बाउले बडो यत्नले बर्खौंदेखि पालेको सुगा । बिट्ठूको पिँजडा नजिक गएँ ।
भनें- ‘बिट्ठू गोपी कृष्ण कहो ।’ बिट्ठूले नकनीकन भन्यो ‘गोपी किस्न कहो ।’
मैले पिँजडाको दरबाजा खोलिदिएँ ।
अरे !
बिट्ठू उडेन । त्यसले स्वतन्त्र हुन चाहेन । अथवा त्यसले उड्न जानेन । वा उड्न बिर्सियो । त्यसलाई उठाएँ । हत्केलामा राखें । भूर्र उडाएँ । तेल्ले वेग मार्न खोज्यो । सकेन । कोठाको कुनोमा भ्वाक्क खस्यो ।
म कुदें।पानी-गाग्रो भएतिर । डबकामा पानी भरें।बिट्टुको अगाडि राखि दिएँ । चामलको चारो पनि चरोचुच्चोको करिब पसारि दिएँ । त्यसले खाने-पिउने चासो देखाएन । मैले त्यसलाई उठाएर भूर्र उडाएँ ।
बिट्ठूले बेग मार्न चाह्यो । विचरा ! सकेन । मुश्किलले भूर्र उड्यो । झ्यालको डँडालीसम्म पुग्यो। म त्यैं पुगें।तेल्लाई घचेडिदिएँ ।
बिट्ठूले ऐले मजाले नै बेग मार्यो। आगनमा उभिएको दाना अथवा रुद्राक्षको एउटा हाँगोसम्म उड्न सक्यो। म खुसी भएँ । बिट्ठूले उड्न जान्यो ।
तर अरे ! बिट्ठू फ्यात्त भूईंमा गिर्यो।दानाको डालीबाट। दौडेर तल गएँ। हेरें। बिट्ठुको प्राण उडिसकेकोरहेछ त्यसको जीउबाट ।

दानाको वृक्षमुनि बाउले ढुंगाको
चौतारी चिनेका थिए ! त्यै चौतारीमा सुतेर बाउले अन्तिम सास फेरेका । हुँदाहुँदा बिट्ठूले पनि त्यै चौतारीलाई चुम्दै आफ्नो ज्यानबाट आत्मा उडाएछ ।
अचम्म !
त्यो किन त्यहीँ मर्न गा’को !!

प्रतिक्रिया