सोमबार, वैशाख १७, २०८१

कसरी सुरु भयो रङ खेल्ने चलन ?

सुनील सापकोटा २०७८ चैत ३ गते ९:४३

होली भनेको प्रसन्नताको पर्व हो । होली पर्वको नाम सुन्नेबित्तिकै हाम्रो हृदयमा एउटा खुसी र रमाइलो गर्ने भावनाको उदय हुन्छ । यो पर्वका दिन समाजका सबैले रिस, राग, द्वेष बिर्सेर एक-अर्काप्रति रङ, अबिर दलेर आपसमा खुसी बाँडछन् । हिन्दु पात्रोअनुसार यो पर्व वसन्त ऋतुको फागुन महिनाको पूर्णिमाको दिन मनाइन्छ । नेपालमा होली पर्व पहाडमा आज र तराईमा भोलि हो । हिन्दु महिनाअनुसार पहिले होलीको दिनदेखि नयाँ संवतको सुरुवात हुन्थ्यो ।

होली पर्वको उत्सवको थालनीको सम्बन्धमा हिन्दु पुराणहरुमा कैयौं कथा पाइन्छन् । त्यसमा प्रचलित कथा हीरण्य कश्यप, प्रह्‌लाद र होलिकाको रहेको छ । यो पर्व राधा-कृष्णको प्रेम र कृष्णद्वारा राक्षसी पूतनाको वधसँग पनि जोडिएको छ । एक अन्य कथाको अनुसार यो पर्वको सुरुवात राजा रघुको समयमा केटाकेटीलाई डर देखाउने ढोंढा नामकी राक्षसीको अन्त्यसँग पनि जोडिएको देखिन्छ । तर यी सबै कथा र किंवदन्तिहरु हुन । सत्यता कति छ, छैन त्यता जान्नँ ।

मलाई लागेको कुराचाहिँ होली पर्व उत्सवको उत्पत्तिको तार्किक विवरण वेदबाट आएको हो कि जस्तो लाग्छ । किनभने होलीको दिनलाई नवान्नेष्टि यज्ञ पनि भनिने गरिएको छ । वैदिककालमा यो समयमा खेतहरुमा पाकेका अन्नहरुलाई घरमा भित्र्याउने चलन थियो । अनि त्योकालमा खेतबाट घरमा ल्याएका अन्नहरुलाई आगोमा भुटेर त्यसलाई प्रसादका रूपमा बाँडिथ्यो र उत्सव मनाइन्थ्यो । त्यसैले त्यो प्राचीन कालमा आफ्नो आहारप्रति मनुष्यको कृतज्ञता-ज्ञापन गर्ने दिन थियो । त्यस्तै प्राचीनकालमै नयाँ वर्षको सुरुवात फागुन पूर्णिमाका दिन होलिका दहन गर्दा पुरानो संवत पनि सँगै जलाउने चलन रहेको हुँदा आज पनि भारतका कतिपय स्थानमा होलिका दहन गर्दा पुरानो संवत जलाएपछि रङहरु खेलेको देखिन्छ । मेरो विचारमा होली पर्वमा रङ र अबिर खेल्ने चलन त्यहीँ प्राचीनकालको कडी होला ।

प्रतिक्रिया