सोमबार, वैशाख २४, २०८१

नेपाली कांग्रेसको झन्डा

सुनिल उलक २०७८ चैत ५ गते ११:२९

साँच्चै भनौ भने नेपाली कांग्रेस अहिले चारतारे झन्डा रमिरहेको छ । तल माथि क्रान्तिको प्रतीक रातो रङ र बीचमा शान्तिको प्रतीक सेतो रङमा फेरी चार तारा पनि राखिएको थियो । यो झन्डा नेपाली राष्ट्रिय कांग्रेसको थिएन ।

राणाशासनविरुद्ध क्रान्तीको घोषणासहित राणाशासनकालमा जुद्धशम्शेरले भीमशम्शेरका तामाङतिरका सन्तानलाई सी- क्लासमा विभाजन गराइ रोलक्रमबाट निष्कासित सूवर्णशम्शेर र महावीरशमशेरको सक्रियतामा स्थापना गरिएको नेपाल प्रजातन्त्र कांग्रेसको झन्डा थियो ।

वि.सं. २००५ साल साउन १ गते केही जुझारु तर राणाशासनका विरोधीहरुको सानो समुह कलकत्तामा रहेको टाइगर सिनेमा हलमा जम्मा भएका थिए । तिनमा प्रमुख थिए- सुवर्णशम्शेर, महावीरशम्शेर, सूर्यप्रसाद उपाध्याय, महेन्द्र बिक्रम शाह तथा राजेश्वरीप्रसाद उपाध्याय थिए ।

यो समूहको मुख्य उद्देश्य नेपाली राष्ट्रिय कांग्रेससंग एकताबद्ध भइ अन्य राणाशासनविरुद्ध लाग्नेहरुलाई पनि एकत्रित गर्ने थियो । तर २००५ साल कार्तिक २ गते अर्थात कोजाग्रत पूर्णिमाको दिन विधिवत रुपमा पार्टीको घोषणा भयो र नाम राखियो – नेपाली प्रजातन्त्र कांग्रेस ।

वि.सं. २००५ पुस १५ गते यसको प्रथम अधिवेशन कलकत्तामा रहेको टाइगर सिनेमा हलमा सम्पन्न भयो । टाइगर सिनेमा हल वास्तवमा महावीरशमशेरको नीजि सिनेमा हल थियो । यस पार्टीमा अगुवा रहेका सुवर्णशमशेर तथा महावीरशमशेर श्री ३ भीमशमशेरका ल्याइतेतिरका नातिहरु थिए ।

२००५ पुस १५ को महाधिवेशनले महेन्द्रविक्रम शाहलाई सभापति, सूर्यप्रसाद उपाध्यायलाई महामन्त्री, राजेश्वरीप्रसाद उपाध्यायलाई कोषाध्यक्ष र प्रेमबहादुर कंसाकारलाई सहायक महामन्त्री चयन गरेको थियो । तथा सदस्यहरुमा सुवर्णशम्शेर, महावीरशम्शेर, सुन्दरराज चालिसे, लक्ष्मीदत्त उपाध्याय, भीमभक्तमानसिंह बस्नेत, आरबी गहतराज, श्रीमती माया शाह तथा बाबुलाल मोक्तान चयन भएको थियो ।

तर नेपाली राष्ट्रिय कांग्रेसको जन्म भने धेरै अगाडि नै भइसकेको थियो । वि.सं २००३ कार्तिक १५ गते गठित अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस नै पछि माघ १२ र १३ गते कलकत्तामा भएको प्रथम महाधिवेशनले अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसलाई विधिवत रुपमा नेपाली राष्ट्रिय कांग्रेस नामाकरण गरि गोपाल प्रसाद भट्टराई, देवब्रत परियार तथा डि. एन. प्रधानलाई झन्डा निर्माणको जिम्मा दिइएको थियो ।

अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको गठन भएको केही दिन पछि बनारसमा तैयार गरिएको झण्डामा गाढा रङमा तीनवटा सेतो तारा अंकित थियो । तर यस झन्डालाई स्विकार गरिएन । जसले गर्दा नयाँ झण्डाको प्रारुप तयार भयो । यस आयताकार झन्डा तीनबराबर भाग विभाजन गरिएको थियो ।

जसमा हिमाली क्षेत्रको प्रतिकात्मक रुपमा सबैभन्दा माथिल्लो भागलाई सेतो रङ बनाइएको थियो । बीचको भाग डाँडाकाँडासहितको पहाडी भाग भएको हुँदा हरियो रङ बनाइएको थियो । भने तराइको उर्वर भूमिको प्रतीकात्मक रुपमा तलको भाग पहेंलो बनाइएको थियो ।

साथै नयाँ युगको आगमनको रुपमा हिमाली क्षेत्रमा उदाउँदो सूर्यको रुपमा माथिल्लो सेतो भागको बाँया तर्फ उदाइरहेको सूर्य अंकित गरिएको थियो । उता सुवर्ण शम्शेरसहितको नेपाल प्रजातन्त्र कांग्रेसको झन्डा भने आयताकारमा विभाजित तीन बराबर भागमा माथिल्लो र तल्लोमा रातो रङ राखिएको थियो भने बीचको सेतो भागको बीचमा चार तारा बनाइएको थियो ।

यो चार तारा सम्बन्धमा दुइ किसिमको अभिमत छ । यसमा राखिएको चार तारा सुवर्ण कांग्रेसका चार हस्ती सूवर्ण, महावीर, महेन्द्रविक्रम शाह तथा सूर्यप्रसाद उपाध्याय हुन् भन्ने पनि तर्क दिनेहरु छन् । वि.सं. २००६ चैत २७ गते नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको संयुक्त सम्मेलन कलकत्तामा सुरु भयो ।

यो पटक पनि सम्मेलन महावीरशमशेरको टाइगर सिनेमाहलमा नै भएको थियो । यही सम्मेलनमा संयुक्त भइसकेपछिको नेपाली कांग्रेसको झण्डा कुन हुने भन्ने तय भएको थिएन । तर अचानक बिपीले नेपाल प्रजातन्त्र कांग्रेसको झन्डा नै नेपाली कांग्रेसको झन्डा प्रस्ताव राखे ।

अचानक आएको यो प्रस्तावले नेपाली राष्ट्रिय कांग्रेसका तर्फबाट सहभागीहरुमा हल्लाखल्ला मच्चियो । आखिर बीपीले किन सुवर्ण शम्शेरको कांग्रेसको झण्डालाई नै स्विकार्ने प्रस्ताव ल्याए भन्ने प्रश्न सबैले राखे । यसको जवाफमा बिपीले जे जवाफ दिए त्यो हास्यास्पद थियो ।

सुवर्णशमशेरको झन्डा अपनाउनुको कारण बीपीले जे भने त्यसबेला त्यो भने केही अस्वभाविक तर्क लाग्दछ । सुवर्ण शम्शेरले एकता प्रयास अगाडि नै लाखौ रुपैया खर्चेर हजारौ चार तारे झन्डा बनाइसकेको हुँदा सूवर्णशमशेरको नेपाल प्रजातन्त्र कांग्रेसको झन्डालाई नै नेपाली राष्ट्रिय कांग्रेसले स्वीकार्न बाध्य भएको हो ।

प्रतिक्रिया