सोमबार, वैशाख २४, २०८१

‘यो सम्झिने मन छ…सजिलो छैन मानिसलाई बिर्सनु’

रमेश क्षितिज २०७८ चैत ६ गते १९:२३

यो सम्झिने मन छ ….
सजिलो छैन मानिसलाई बिर्सनु ।
कलेजका दिनहरु थिए । हामी गीत र कविताहरु लेख्थ्यौँ । प्रतियोगितामा भाग लिन्थ्यौँ । गतिलो पुरस्कार पाउँनसके पकेट नि गह्रौ हुने । फूर्तिफार्ती बेग्लै हुने ।
उमेरले पच्चीस नटेक्दै रेडियो नेपालको उत्कृष्ट गीतकार र प्रज्ञा प्रतिष्ठानबाट प्रथम पुरस्कार पाइसकेको थिएँ ।कसो कसो लाग्थ्यो जुनसुकै प्रतियोगितामा भाग लिइहाल्नु हुदैन ।
एउटा संस्थाले भव्य राष्ट्रिय गीत प्रतियोगिताको आयोजना गर्ने भयो । तर मैले सामेल नहुने सोच बनाएँ । कुनै कुनै पुरस्कारका लागि घरदैलो का्र्यक्रम र अनेक खेल हुने भएकोले यसरी सोच्नु स्वाभाविक नै थियो ।
एक दिन अन्य गीतकारसहित म पनि बसिरहेको ठाउँमा आयोजक व्यक्तिले प्रतियोगिता निष्पक्ष हुने , पुरस्कारको राशी रेडियो नेपालको भन्दा तीन गुना भएको र भव्य समारोहबीच पुरस्कार वितरण हुने कुराको व्याख्या गर्दै हामीलाई विश्वस्त तुल्याउनु भयो ।
र भाग लिन आग्रह गर्नु भयो ।
नभन्दै राष्ट्रिय दैनिकमा गीत आह्वान भयो । गीतकार ,गायक गायिका र सङ्गीतकारहरु पुरस्कृत हुने यो कार्यक्रमा थुप्रै प्रतियोगीका रचना प्रस्तुत भए । प्रतिष्ठित रचनाकार सङ्गीतकार निर्णायक बस्नु भयो र पुरस्कारको घोषणा सञ्चार माध्यममा व्यापकरुपमा प्रकाशन /प्रसारण भयो ।
ताजा पुरष्कृत हुनुको मस्तीमा रमाइरहेको बेला ढोकैमा घरबेटी भेटिए एक दिन । उनले भने – अनि … महिना गएको पन्ड्र डिन नाँघिसक्यो भाडा डिने चाइ कैले ?
म भर्खरै सर्वोत्कृष्ट गीतकार घोषणा भइसकेको र धेरै नगद पुरस्कार प्राप्त गर्ने चरणमा रहेको व्यक्तिलाई यसरी भन्न त नहुने हो टाइपको अनुभूति भयो त्यो बेला ,
मैलै फुर्ति लगाउँदै भनेँ – आ… के रिसाएजस्तो गरेर बोल्नुहुन्छ साहुजी । यसपाला पाँच महिनाको भाडा एकैपालि बुझ्दै हुनुहुन्छ । मोज गर्नुस् !
पहिले त उनले पत्याएनन् । पत्रिकाको हावाला सहित इति वृतान्त बताएपछि उनले पनि मसँगसँगै पुरस्कार वितरणको व्यग्र प्रतिक्षा गर्न थाले ।
आयोजकलाई भेट्दा प्रमुख अतिथी ठूलो व्यक्तित्व ल्याउन लागेकोले ढिलो भएको र समय मिल्नासाथ भव्य कार्यक्रम गर्ने तयारी पूरा भइसकेको बताउथे । म चाही आफुसँग भएको पैसा नि उडाइरहेको थिएँ ।आशै नगरेको ठूलो राशी हात पर्दै थियो – त्यो पनि विद्यार्थीकालमा ।
यसो सकस पर्यो कि पुरस्कारको साह्रै याद आउने ।
पछि पछि भेट हुँदा – पर्खिनु अब तुरुन्तै हुन्छ भनेर कुले ठोक्न थाल्नुभयो उहाँ ।
फोनमा नि निकै मेहनत गरियो । ल्यान्ड लाइन फोन मात्र थियो त्यो बेला । बुथमा गएर रु तीन तिरेपछि फोन गर्न सकिने तर समयअनुसार पैसा बढ्दै जाने । तर उहाँको व्यस्तता यति कि विहान गर्दा नुहाइरहेको हुने ,दिउसो गर्दा मिटिङमा गएको हुने ,सम्साँझै गर्दा ‘ सुकला ‘ भएको हुने ।
एक महिना बित्यो । दुइ महिना बित्यो । छ महिना र वर्ष दिन पनि बित्यो । बिति त गयो !
तर अचानक हिजो – करिब पच्चीस वर्षपछि उहाँ भेटिनु भयो ।
हामी ठूलो समूहमा थियौँ । कति खुशीको कुरा – उहाँ सामाजिक क्षेत्रमा उच्च पदमा हुनुहुँदोरहेछ ।
‘मेरो नाम फलानो हजुर ।’ नमस्कार गर्दै उहाँले भन्नु भयो ।
‘ म फलानो हजुर ‘ हात जोर्दै मैले भनेँ ।
हामी फलाना फलानाको मुलाकात भै त गयो । अहो हामीले एक अर्कालाई चिन्यौँ अब ।
‘ स्थानीय चुनाब त हुन्छ नि हजुर ? उहाँले सोध्नु भयो ।
‘ तयारी छ हजुर ‘ मैले भनेँ ।
उहाँले युक्रेनको लडाईको कुरा उप्काउदै भन्नुभयो – रुसले अलि ज्यादती गरेकै हो ।
प्रकाश सपुतको पीर भन्ने गीतको कुरा गर्नु भयो उहाँले । गर्मी ह्वात्तै बढेको कुरा गर्नु भयो ।डोजरले बाटो बनाएको होइन वातावरण बिगारेको कुरा गर्नुभयो ।
तर त्यो ” फरार ” भएको पुरस्कारको कुरा गर्नु भएन ।
मैले पनि गरिनँ ।
तर गजब भैगयो ।
परिचय भएपछि हामी एक अर्कालाई हेरेर मुसुक्क मुस्कायौँ र हामीले एक अर्कालाई चिनेनौँ अब ।
नसम्झूँ भनेको थिएँ तर – यो सम्झिने मन छ म बिर्सूँ कसरी !!
( दिनाङ्क ६ चैत्र २०७८ )

प्रतिक्रिया