सोमबार, वैशाख २४, २०८१

कुडा कर्णाली, बन्दुकदेखि कोरोनासम्मका कविता नेपाल प्रज्ञा प्रतिष्ठानमा वाचन

नेपालखोज २०७८ चैत ७ गते १९:३६

काठमाडाैं । आज विश्व कविता दिवस । नेपालमा पनि विभिन्न स्थानमा कविता वाचन तथा गोष्ठी गरेर अन्तर्राष्ट्रिय कविता दिवस मनाइएको छ ।

यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्य (पद्य) विभागद्वारा आयोजित विशेष कवि गोष्ठी समारोहमा नेपालका वरिष्ठ कवि तथा कवियत्रीहरुले आफ्ना गद्य र पद्यका साहित्यिक सिर्जनाहरु वाचन गरेका छन् । उनीहरुले विश्वमा अहिलेसम्म कोरोना भाइरसले बनाएको दुर्दशा, प्रकृतिमाथि हस्तक्षेप गरेर बाइएका कृत्रिम हातहतियारले पुर्‍याएको असर, नेपालमा भइरहेको राजनीतिक चलखेलको असर र गणतन्त्र आएपछि नेपाली जनताले के पाए भन्ने कुरालाई साहित्य रचनामार्फत् व्यंग्य गरेका छन् । कवि तथा कवियत्रीहरुले गद्य र पद्य शैलीमा आफ्ना रचनाहरु प्रश्तुत गरेर नेपालको अवस्थाको बारेमा चित्रण गरेका छन् ।

यस्ता छन् रचनाकारहरुको कविताका अंशः

कवियत्री डा. बेञ्जु शर्माको कविताः

अभिभानको आगोले प्रज्वलीत अर्कोलाई तुच्छ नीच देखाउन, अनेकौँ षड्यन्त्रका तानाबाना बुन्ने । अनेक आर्थिक प्रदर्शनले सबैलाई किन्ने, स्वप्रभुत्वको शंखघोष गर्दै सबैको टुपी समाउँदै फन्फनी घुमाउने, तीनै लोकलाई मुठभरी पारेँ भनेर आडम्बर, अभिमान र अहंकारको मदमा मस्त तुच्छ प्रतिष्पर्धात्मक दौडमा तिमीहरुको बुद्धि र शक्तिलाई हाँक दिइरहेछ, एउटा सुक्ष्म कोरोना भाइरस । विश्वलाई बिध्वंस पार्नसक्ने एउटा सुक्ष्म भाइरस । भूलोक, अन्तरिक्ष लोक, पातल लोक, तीनै लोक आफ्नो मुठिभित्र पारेँ भन्ने तिमीहरु, तिम्रा शक्तिा, शानलाई धराशायी बनाउँदैछ एउटा सुक्ष्म जीव । अति सानो भाइरस । मरुभूमिमा महल ठड्याउने, फूल फुलाउने प्रकृतिलाई हाँक दिँदै प्रकृतिलाई चुट्न र लुट्ने तिमीहरुसँग प्रतिशोध लिन तिमीहरुलाई विषादको आगोमा पिल्साउँदै अनुसन्धानको प्रयोगशाललाई पनि झुक्याउँदै कोरोना भाइरस तिमीहरुभित्र लडिबुडी खेलिरहेको छ ।

कवि मातृका पोखरेलको कविताः

सपनामा बारम्बार देखिरहेको मान्छे खोज्न हिँडेको पनि धेरै भयो । अब त हिँड्दा हिँड्दा अल्छि पनि लागिसक्यो । हिँड्दा हिँड्दा थकान पनि बढीसक्यो । सपनामा देखेको सग्लो मान्छे कहिल्यै मेरो अघिल्तिर आएन । सधैँ सधैँ बेग्लै बेग्लै देखियो । सपनामा देखिएको ग्लो मान्छे विपनामा आँखा हराएर उपस्थित हुन्छ । अर्को हात हराएर उपस्थित हुन्छ । कोही खुट्टा हराएर मेरो अघिल्तिर आइपुग्छ । यी सबै मान्छेहरु निन्याउरो मुख लगाएर भन्छन्, तिमीले सपनामा देखेको मान्छे मै हुँ ।

कवियत्री नर्मदेश्वरी सत्यालको कविताः

सक्षमता र पौरखमा धावा बोल्नेहरु नतमस्तक बनेका छन्, नाक खुम्च्याउनेहरु । ङिच्च परेका छन्, ओठ लेप्राउनेहरु । म हर्षोल्लासमा तिम्रा पाइला, पाइला तिम्रो बोली वचन र कामको कायिदा हरपल नियालीरहेछु । तिम्रो उत्प्रेरक बनेर ।

कवि ईश्वरचन्द्र ज्ञवालीको कविताः

अस्याद लागेछ भने आमा हेर्नु रातो क्षितिजमा बिहानै उदाउने रातो घामलाई । म त्यहीँ रातै हासिरहेको देखिनेछु । गोधुली सन्ध्यामा सेतो हिमालमाथि जब रातो हावा फैलिनेछ, म त्यहीँ हिमाली दृश्यपटमा झलमल्ल प्रतिविम्वित रहनेछु । स्वच्छ निर्मल, शान्त र स्निग्ध बगिरहेको नदीको वेगमा म हिँडिरहेका छु आमा । सपना झैँ म निरन्तर भञ्ज्याङमा चल्ने मन्द समीरमा आफ्ना चालु स्पन्दन पोखेर बाँचिरहनेछु । म वर र पिपलका पातमा सदावहार रहीरहनेछु ।

कवि श्रवण मुकारुङको कविताः

कुनै नौलो सपना देख्यो कि, कि आफैँ भित्र डढिरहेको सगर देख्यौ । कि हजार बिन्ती गर्दा पनि जुनेलीको बाला जस्तो तिम्रो हात बेस्सरी झड्कालेर गयो कोही, कि भागेर आफू आइपुग्यौ यहाँ । पक्कै केही न केही त भएकै छ तिमीलाई र त यो अफ्ठ्यारो मोडमा उभिएर खुट्टाको बुढी औँलाले मेटाउँदै सिग्रेटको खरानी, हरिरहेछौ सूर्यास्त तर बनिरहेछ अक्षरहरुको सूर्योदय ।

कवियत्री विना थिङको कविताः

सुन्ने ठाउँमा एउटा बाटो बनाएँ । बाटो न हो कुल्चिएँ, हिँडे, गन्तव्यमा म पुगेँ कि पुगिन कुन्नि । म आफैँ नै बाटो भइसकेको मान्छे । रातको पदचापलाई रातमै डुबेर, सुन्न सकिन्छ, हल्ला नगर है बिच्किन्छ रात ।

कवि विश्वविमोहन श्रेष्ठको कविताः

छिनोले निरुन्तर खोपेपछि ढुंगाको पनि मूर्ति बन्छ । यात्रामा अनन्त अवरोधहरु हुनसक्छन् । निरन्तर हिँडेपछि एकदिन गन्तव्यमा पनि पुगिन्छ । वर्षामा बाढी आएर नदीनालाहरु बढ्न सक्छन् । हिउँदमा तुषारोले नागी र फाँटहरु लान सक्छन् । पहिरोले कतै बाटोहरु भत्केका होलान् । बाढीले कतै करेसा र बारीहरु लगेका होलान् । सल्लाको चीसो स्याँठले उसै पनि मुटु हल्लाउँछ । अल्छि बोकेर आङमा पिलुवामा त्यसै बस्ने हो भने छेपारोले पनि घर बनउँछ ।

कवि राजेन्द्र सलभको कविताः

करिव दुई दशकअघिको कुरा हो, जंगलको कुनै चौतारीमा दुई फरक सैनिकको भेट भयो । धन्य दुवैसँग हतियार थिएन । संशयले हेर्दै पहिलोले सोध्यो, कहाँ जान लागेको ? दोस्रोले भन्यो आमा बित्नुभयो त्यसैले घर जाँदैछु । अनि तिमी नि । सजग हुँदै पहिलोले भन्यो म पनि छुट्टिमा घर जान लागेको । एकछिन गाउँ ठाउँका कुरापछि पहिलोले सोध्यो । कहिल्यै प्रेम गरेका छौ ? दोस्रो भावुक भयो एकछिन केही बोल्नै सकेन । फेरि सम्झँदै बोल्यो एकफेर होइन, दुई दुई पटक प्रेम गरेको छु । पहिलो प्रेम ९ कक्षा पढ्दा भएको थियो । अचानक उनी छुटिन्, प्रेम छुट्यो अचानक हातमा बन्दुक आयो ।

कवि नरनाथ लुइँटेलको कविताः

पराइसँग मायाप्रिति गाँसिरहेछौ तिमी ।

धुरुधुरु देश रुँदा हासिरहेछौ तिमी ।

मुर्छनामा परेको छ मेरो प्यारो गीत ।

देश हार्दा कसरी भो तिम्रो जितैजित ।।

कवि दयाकृष्ण राईको कविताः

लाटाको देशमा गाणा तन्नेरी भएर आयो गणतन्त्र । तरवारबाट काँचुली फेरेर संग्रहालय बनेर डोलीमा चढेको बेहुलीझैँ तरक्क आँशु चुहाएर फिस्स हासिरहेको छ नारायणहिटी । नयाँ नेपालको नयाँ संविधान चाहीँ कसरी के भएर पो आयो कुन्नि । सबै कुरा नापेँ, सबै कुरा लेखेँ भन्ने नेताहरु, इस तिमीहरुको संविधान, खै हामी कहाँ अटायौँ ।

कवि नन्दकृष्ण जोशीको कविताः

नेपालबाट चिलगाडीमा आएका एक हुल नरनारीहरु, कर्णालीको सुसाइमा, भेरीको सौन्दर्य चुम्दै जम्मा हुन्छन् मनमा योजना लिएर कुडा कर्णालीका ।

प्रतिक्रिया