सलमानले आलेलाई भने- ‍‍सगरमाथा चढ्छु, नेपाल मनपर्छ

नेपालखोज २०७८ चैत ९ गते १७:२४

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले भारतीय अभिनेता सलमान खानसँग भिडियो संवाद गरेका छन् । ‘दबंग टुर’का क्रममा नेपाल आउने तयारीमा रहेका सलमानसँग आलेले नेपालको पर्यटन प्रवर्द्धनबारे संवाद गरेका हुन् ।

कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा असर परेको भन्दै अब सबै सामान्य भएको आलेको भनाइ थियाे । उनले भने, ‘यो कुराकानीलाई जोडेर यदि तपाईँसँग समय भए माउन्टेन फ्लाइटबाट एभरेस्टको हवाई सफर गराउन चाहन्छु । तपाईँलाई थाहै होला, माउन्ट एभरेस्ट एकदमै प्रख्यात छ ।’

संवादका क्रममा उनले सलमानलाई माउन्टेन फ्लाइटबाट नेपालको सगरमाथा अवलोकन गर्न अफर गरेका हुन् । हिन्दीमा बोल्दै मन्त्री आलेले भने, ‘सलमानजी आप से मिलके हम बहुत खुस हुआ । हम आपको स्वागत करनेके लिए आतुर हे ।’

सलमानले पनि आलेसँग कुरा गर्न पाउँदा निकै खुसी लागेको बताए । आफूलाई नेपाल निकै मन पर्ने भन्दै उनले चाँडै नेपाल आउन लागेको बताए । मन्त्री आलेले सलमानलाई सगरमाथा आरोहणको निम्तासमेत दिएका छन् । जवाफमा सलमानले समय मिलाएर आफू सगरमाथा चढ्ने बताए । उनले भने, ‘तपाईलाई म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आउनु आग्रह गर्दछु । यदि तपाईको समय मिल्यो भने म तपाईलाई हेलिकप्टरमार्फत सगरमाथाको आरोहण गराउन चाहन्छु। त्यसमा तपाईले सहयोग गर्नुपर्‍याे ।’

आलेले आफूले थुप्रै फिल्म हेरेको स्मरण गराए । आफ्नो चलचित्रको प्रमोसनका लागि सलमान खान आगामी १४ जेठमा नेपाल भ्रमणमा आउँदैछन् । त्यसअघि नै मन्त्री आलेले सलमानसँग भर्चुअल कुराकानी गरेका हुन् । सलमानको प्रशंसा गर्दै मन्त्री आले उनको फिल्म पटक-पटक हेरेको बताए । उनले भने, ‘नेपालमा तपाईंका धेरै फ्यान छन् । मैले पनि तपाईंको मैने प्यार किया, तेरे नाम बहुतबार हेरेको छु ।’

उनले बुद्ध भूमि नेपालमा सलमानलाई स्वागत गर्न आफू आतुर रहेको बताए । कुराकानीका लागि समय दिएकोमा आभार व्यक्त गरे । उनले सलमानलाई भने, ‘तपाईंको व्यस्त समयका बाबजुद मसँग कुरा गर्नुभएकोमा आभारी छु ।’

आलेले हिन्दी र अङ्ग्रेजीमा संवाद गरेका थिए । सलमान भने धेरै बोलेनन् । उनले यस नो जसोगरी आलेको उत्तर दिए ।

प्रतिक्रिया