हेटौंडा मेयर कप बुद्धिचालमा क्षितिज र प्रकाशको अग्रता

हेटौंडा । नेपाल खेलकुद महासंघ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा मकवानपुरमा हेटौंडा मेयर कप रेपिड चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन आज चार चरणका खेल सम्पन्न भएका छन् । चार चरणको समाप्तिमा फिडेमास्टर क्षितीज भण्डारी र प्रकाश नेपाल शतप्रतिसत नतिजा निकाल्दै संयुक्त अग्रता बनाउन सफल भएका छन् । उनीहरुको समान चारचार अंक भएको छ ।

चार खेलमा तीनमा जीत र एकमा बराबरीमा गरेका फिडेमास्टर रुपेश जयसवाल ३ दशमलब ५ अंक बनाउँदै अंकतालिकाको दोस्रो स्थानमा रहेका छन् । त्यस्तै वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोतम चौंलागाई, पूर्व राष्ट्रिय च्याम्पियन फिडेमास्टर मनिष हमाल, मकवानपुरका क्यान्डिडेटमास्टर कृष्ण थापा, झापाका राजन सुवेदी तथा सुश्रुत दाहाल, दोलखाका आशिष फुँयाल, धनुषाका शुसील चौधरी, धनकुटाका सुमन श्रेष्ठ, मकवानपुरका नविनकुमार श्रेष्ठ, चितवनका सन्तोष गौतम र रुपन्देहीका चमन गाहा मगर समान तीन–तीन अंक बनाउन सफल भएका छन् ।

पहिलो चरणमा पूर्व राष्ट्रिय महिला च्याम्पियन सिन्दीरा जोशीमाथि जित हात पारेका क्षितीजले दोस्रोमा सर्लाहीका कमल श्रेष्ठ, तेश्रोमा शुसील चौधरी तथा चौथो कृष्ण थापालाई हराए । त्यसैगरी प्रकाशले पहिलो चरणमा सुदेश श्रेष्ठ, दोस्रो चरणमा सर्लाहीका रविन्द्र बहादुर थापा, तेस्रो चरणमा मनिष हमाल तथा चौथो चरणमा सुश्रुत दाहालमाथि विजय प्राप्त गरे ।
शनिबार हुने पाँचौं चरणको खेलमा क्षितीज र प्रकाश आमनेसामने हुनेछन् । तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले आजका चार खेलमध्ये एकमा हार र एकमा बराबरीमा रोकिएपछि २ दशमलब ५ अंक बनाएका छन् । तेस्रो चरणमा कृष्ण थापासँग हार व्यहोरेका बद्रीलाल चौथो चरणमा पुरुषोतम चौंलागाईंसँग बराबरीमा रोकिएका हुन् । बद्रीसँगै काभ्रेका खोमप्रसाद तिमिल्सना, मकवानपुरका बलराम श्रेष्ठ र सुदेश श्रेष्ठ समान २ दशमलब ५ अंक बनाउन सफल भएका छन् ।

हेटौंडा उपमहानगर पालिकाका प्रमुख हरीबहादुर महत तथा नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले चेस गोटी चालेर औपचारिक उद्घाट्न गरेको प्रतियोगितामा ५२ जना खेलाडीको सहभागीता रहेको छ । विभिन्न विधामा गरी नगद २ लाख ५ हजार पुरस्कार रहेको दुई दिने प्रतियोगिता फिडेको स्विस लिग प्रणालीअनुसार ७ चरणसम्म प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया