सोमबार, वैशाख २९, २०८२

आशिफको अर्धशतक मद्दतमा नेपालको मलेसियामाथि सहज जित

नेपालखोज २०७८ चैत १६ गते १५:३३

काठमाडाैं । त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले मलेसियालाई ६ विकेटको भारी अन्तरले हराएको छ । आशिफ शेखले टी-ट्वान्टी अन्तराष्ट्रियमा उच्च स्कोर बनाएसँगै नेपालले सहज जित निकालेको हो ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १४ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको मलेसियाले खाता खोल्न नपाउँदैस् पहिलो विकेट गुमायो । उसका ओपनर बिरनदिप सिंहले खाता खोल्न नपाउँदै आउट भए ।

त्यसपछि ४९ रन हुँदा दोस्रो विकेट झर्यो । उसका जुबेइदी ३२ रनमा पेभेलियन फर्किए । त्यसपछि सेइद अजिज १४ रनमा आउट भए भने कप्तान अहमद फेइजपनि ब्यक्तिगत २४ रनमा आउट भए । जसका कारण मलेसियाले ७४ रनमा चार विकेट खेर फाल्यो । मलेसियाका लागि सरभिनले नौं रन बनाए भने मुहम्मद अमिरले १६ रन बनाए ।

बलिङमा करण केसी र सन्दिप लामिछानेले दुई दुई विकेट लिए भने अभिनाश बोहरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।

जवाफमा नेपालले १३ ओभर चार बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । तर नेपालले सुरुवात भने राम्रो गर्न सकेन ।नेपालको स्कोर मात्र एक रन हुँदा ओपनर कुशल भुर्तेल एक रनमा आउट भए । उनलाई भिरनदिप सिंहले पेभेलियनको बाटो देखाए । त्यसपछि नेपालको स्कोर २५ रन हुँदा दोस्रो विकेट झर्यो । रोहित पौडेल १२ रनमा आउट भए । उनलाई पवनदिप सिंहले पेभेलियन फर्काए ।

त्यसपछि दिपेन्द्रसिंह ऐरी ब्यक्तिगत २१ रनमा आउँट हुँदा नेपालले ९५ रनमा तेस्रो विकेट गुमायो । त्यसको लगत्तै आशिफ शेख ब्यक्तिगत ५७ रनमा आउट भए । जसका कारण नेपालले एक सय आठ रनमा चौथो विकेट गुमायो । उनले ३८ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । उनको टी २० अन्तराष्ट्रियमा दोस्रो अर्धशतक हो । जसमा ३१ बलमा उनले अर्धशतक पुरा गरेका थिए । साथै उनको टी २० अन्तराष्ट्रियमा ब्यक्तिगत उच्च स्कोर हो ।

अन्तिममा टी-ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका दिलिप नाथले सात बलमा तीन चौकाको मद्दतले १५ रन बनाए भने कुशल मल्लले दुई रनको योगदान गरे । यो जितपछि नेपालले अंक तालिकामा चार अंक बनाएको छ । मलेसियाको दोस्रो खेलमा पहिलो हार हो । यसअघि उसले पीएनजीलाई हराएको थियो ।

प्रतिक्रिया