गठबन्धन गर्ने पाँच दलको निर्णय, प्रधानमन्त्रीले भारत भ्रमणमा सीमाको विषय उठाउने ?

नेपालखोज २०७८ चैत १७ गते १३:४४

काठमाडाैं । गठबन्धनमा आवद्ध दलका नेताहरुले सीमाको विषयलाई कुटनीतिक ढंगले समाधान निकाल्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा उनीहरुले उक्त सुझाव दिएका हुन् ।

५ दलीय गठबन्धनले आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने औपचारिक निर्णय पनि गरेको छ । बैठकले चुनावी तालमेल गर्न प्रदेश, जिल्ला र पालिकास्तरमा कार्यदल बनाउने निर्णय गरेको छ । बैठकमा सहभागी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रदेश, जिल्ला र पालिका स्तरमा ५ वटै दलका नेताहरू सम्मिलित संयन्त्र बनाउने सहमति भएको छ ।

उनले तल्लो तहका संयन्त्रहरुले प्रतिवेदन बुझाएपछि मात्रै कहाँ कसरी तालमेल हुने भन्नेबारे टुंगो लगाउन सजिलो हुने‍ बताए । उनले भने, ‘प्रदेश, जिल्ला र पालिकामा ५ वटै दलका सम्बन्धित तहको नेतृत्व सम्मिलित संयन्त्र बनाउने निर्णय भएको छ । त्यो संयन्त्रले चैत २२ गतेभित्र सम्बन्धित पालिका, जिल्ला र प्रदेशमा ५ दलीय गठबन्धनको अवस्थाबारे प्रतिवेदन केन्द्रमा पठाउनेछन् ।’

गठबन्धन बैठकले स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै चैत २२ गतेभित्र स्थानीय र प्रदेशको रिपोर्टिङ केन्द्रलाई गरिसक्नुपर्ने निर्णय पनि गर्‍यो । बैठकले गाउँपालिका,जिल्ला र प्रदेशमा गठबन्धनको अवस्थाबारे रिपोर्टिङ केन्द्रलाई गर्नुपर्ने निर्णय गरेको हो । बैठकले पाँचदलीय गठबन्धन एक ठाउँमा उभिएर चुनावमा सहभागी हुने पक्कापक्की निर्णय गरेको हो।

प्रधानमन्त्री देउवा चैत १८ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा जाँदैछन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारदेखि हुने भारत भ्रमणबारे जानकारी गराएका थिए । त्यस्तै गठबन्धनमा रहेका दल नेताहरूले भ्रमणको सफलताको शुभकामना दिएको मन्त्री कार्कीले बताए । बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी नेतृ एवं सांसद दुर्गा पौडेलले भनिन्, ‘भारत भ्रमणका क्रममा सीमाको विषयलाई कुटनीतिक तवरले समाधान निकाल्न सत्ता गठबन्धनका अन्य दलका नेताहरुले प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।’

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रदेश,जिल्ला र गाउँपालिकामा पाँच दलका प्रमुखको नेतृत्वमा बन्ने समितिले प्रतिवेदन तयार गर्नुपर्नेछ । उनले भने, ‘बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनले तालमेल गर्ने निर्णय भएको छ । त्यसका लागि प्रदेशका दलहरु सम्मिलित नेताहरुको समिति बन्छ । प्रदेशस्तरीय काम प्रारम्भ गर्छ । जिल्लास्तरमा जिल्लाका प्रमुखहरुको समिति बन्छ । त्यो समितिले आफ्नो काम प्रारम्भ गर्छ । स्थानीयस्तरमा स्थानीयस्तरका प्रमुखहरुको समिति बन्छ । त्यो समितिले आफ्नो काम प्रारम्भ गर्छ । २२ गते भित्र आफ्नो प्रदेश, जिल्ला र गाउँपालिकामा पाँच दलको अवस्था कस्तो छ ? केन्द्रलाई विस्तृत रुपमा प्रतिवेदन पेस गर्छ । ‘

गठबन्धनको अर्को बैठक चैत ११ गते बस्ने बताइएको छ ।

प्रतिक्रिया