मंगलबार, जेठ ८, २०८१

भारत आइपुग्यो कोरोनाको एक्सई भेरियन्ट, नेपालमा खतराको घण्टी

नेपालखोज २०७८ चैत २४ गते ११:५३

काठमाडौं । कोरोनाले एकपटक फेरि टेन्सन बढाउने संकेत दिँदै छ । भारतको आर्थिक राजधानी मुम्बईमा कोरोनाको नयाँ भेरियन्ट एक्सई तथा कप्पाको एक-एक संक्रमित फेला परेका छन् । भारतमा एक्सई भेरियन्ट फेला परेको यो पहिलो घटना हो । मुम्बईका साथै भारतसँगको प्रत्यक्ष सम्बन्धका कारण यो नयाँ भेरियन्टप्रति नेपालमा बेलैमा सचेतता अपनाउनुपर्ने अवस्था छ ।

भारत सरकारको स्वास्थ्य मन्त्रालयले मुम्बईमा फेला परेको बिमारिको भेरियन्ट एक्सई नभएको बताउँदै INSACOG का जिनोमिक विशेषज्ञहरुले जाँचका क्रममा यो भेरियन्ट एक्सई भेरियन्टको जिनोमिक तस्बिरसँग मेल नखाने पाएको कुरा बताएको छ । यद्यपि मुम्बई मेट्रोपोलिटन सिटी प्रशासनले त्यो एक्सई भेरियन्ट नै भएको स्पष्ट पारेको छ भने त्यसको पुष्टिका लागि जिनोम सिक्वेन्सिङको डाटा NIBMG मा पठाएको छ ।

बीए. टु स्ट्रेनभन्दा घातक
कोरोनाको यो नयाँ म्युटेन्ट भेरियन्ट एक्सई ओमिक्रोनको सब भेरियन्ट बीए टुको तुलनामा करिब १० प्रतिशत बढी संक्रामक हुनसक्ने बताइँदै छ । यो नयाँ भेरियन्ट एक्सईका सम्बन्धमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चिन्ता जाहेर गरिसकेको छ । एक्सई ओमिक्रोनका दुई सबलिनेज बीए वान र बीए टुको रिकम्बिनेट स्ट्रेन हो । विश्व स्वास्थ्य संगठनका अनुसार जबसम्म यो नयाँ भेरियन्ट एक्सईको ट्रान्समिसन रेट तथा बिरामीको व्यवहारमा महत्त्वपूर्ण परिवर्तन देखिँदैन तबसम्म यसलाई ओमिक्रोनकै एउटा अर्को सब-भेरियन्टका रुपमा हेरिनेछ ।

बेलायतमा फेला परेको थियो एक्सई स्ट्रेन
एक्सई स्ट्रेन पहिलोपटक बेलायतमा १९ जनवरीमा फेला परेको थियो । अहिलेसम्म त्यहाँ यसका ६०० भन्दा बढी संक्रमित पुष्टि भइसकेका छन् । ब्रिटेनको स्वास्थ्य सुरक्षा एजेन्सी (एचएसए) का मुख्य चिकित्सा सल्लाहकार सुजेन हपकिग्सका अनुसार अहिलेसम्म यो नयाँ सब-भेरियन्ट एक्सईको संक्रामकता, गाम्भीर्य तथा यसका विरुद्ध कोभिड-१९ को खोपको प्रभावकारिताबारे निष्कर्ष निकाल्ने पर्याप्त प्रमाणहरु फेला परिसकेका छैनन् ।

एक्सडी भेरियन्टमाथि पनि डब्ल्यूएचओको नजर
डब्ल्यूएचओले एक्सईजस्तै रि-कम्बिनेट भेरियन्टबाट उत्पन्न हुनसक्ने खतरा सम्बन्धमा लगातार निगरानी गरिरहेको छ । भनिन्छ डब्ल्यूएचओले एक्सईका अतिरिक्त एउटा अन्य रि-कम्बिनेट भेरियन्ट एक्सडीमाथि पनि नजर राखिरहेको छ जुन डेल्टा र ओमिक्र‍नको हाइब्रिड हो । यसका बढी बिरामी फ्रान्स, डेनमार्क तथा बेल्जियममा देखिएका छन् ।

चीन तथा दक्षिण कोरियामा कोरोनाले पुन: एकपटक शिर उठाइरहेको छ । यस्तै सन्दर्भमा आईआईटी कानपुरले अनुमान लगाएको छ कि भारतमा पनि जुन २०२२ सम्म कोरोना संक्रमणको चौथो लहर सुरु हुन सक्छ । यद्यपि भारतीय विशेषज्ञहरु व्यापक स्तरमा खोप अभियान चलाइएकाले कोरोनाको नयाँ लहर पहिलेको जस्तो घातक नहुने कुरामा आशावादी छन् ।

प्रतिक्रिया