शुक्रबार, वैशाख २८, २०८१

एक्लो महारथीले हासिल गरेको महारथ

महेश बराल २०७९ वैशाख ३ गते ११:१५

कविता आख्यान हैन । लामो । कविता छोटो हुन्छ । थोरै र प्राय: सीमित हुन्छ। सीमित शब्दहरूको बुनोटमा खाँदिएर बस्छ कविता । तर तिनै सीमित शब्दहरूको सानो अंशबाटै पनि निस्किरहेको हुन्छ असीमित शक्ति । असीमित सौन्दर्य । विचारको सुनामी ल्याउन कहिलेकाहीँ कविताको एउटै सानो लाइन, सानो उक्ति या सानो पंक्ति नै काफी हुन्छ । ठूला-ठूला कुराहरू पनि एकदमै कम शब्दमा कसरी भन्नुपर्छ, त्यो कविताले सिकाउँछ । कविताले भन्छ । त्यो पनि एउटा वहावमा, रिदममा अनि मिटरमा ।

त्यो कविता अधुरो हुन्छ, जसमा कथा नहोस् । र त्यो कथा पनि निरस हुन्छ जसमा कविता नहोस् ।

त्यस्तै कथाहरूलाई कवितामार्फत सुन्दर तरिकाले भनेका छन् कवि ‘महेश कार्की क्षितिज’ ले आफ्नो कविता संग्रह ‘एक्लो महारथी’का माध्यमबाट ।

५२ कविताहरू संग्रहित यो कवितापुञ्‍ज सानो छ । सानो छ तर चोटिलो छ । अनि साथसाथै छ मौलिक पनि । हरेक कवितामा कविले कवितामार्फत संवाद गरिरहेझैँ लाग्छ । कवि र पाठक बिच । जिवनका विवध आयामहरूमा अक्षरका संवाद छन् । जुन हरेकका जिवनमा, हरेक उमेरमा, हरेक परिवेशमा कतै न कतै कुनै न कुनै रुपमा भोगिँदै अनि पार हुँदै आएको होस् । ग्रामिण जिवन, सहरी संघर्ष, मानविय भावना अनि संवेदना, प्रेम, यौन अनी यौन कुण्ठा । यस्ता धेरै कुराहरूको समष्टि ‘क्षितिज’ का कविताहरूमा पाउन सकिन्छ ।

भोजपुरमा जन्मिएर काठमाडौँलाई आफ्नो कर्मथलो बनाएका कवि गाउँलाई भुल्न सक्दैनन् । गाउँका गितहरू, गाउँका भाकाहरू, गाउँको संस्कृती, गाउँबाट निस्किएको देश अनी गाउँका मान्छेहरू । तिनै ग्रामिण परिवेश, ग्रामिण संस्कृती, लोक भाका अनी रनवन थर्किने आवाजहरूलाई अक्षरमा पोखेका छन् ।
संस्कारलाई राखेर शिरमा
चढेर गीतैगीतको सगरमाथा
छातीभरि कुँदेर आफ्नै देश
गितभरी उज्यालो गाइरका छन्- गाउँका मान्छेहरू । (गाउँमा छन् गीतहरू)

गाउँ र प्रकृतिको समिश्रण मिठो हुन्छ । अझ कवितामा त पकृतिको विम्ब प्राण बराबर हुन्छ । प्रकृति जति सुन्दर र मोहक छ त्यो भन्दा विध्वंशक हुन्छ । जुन यथार्थ हो । र यही अकाट्य यथार्थलाई कवितामार्फत कवि बोल्छन्- प्रकृति र मान्छे मार्फत ।

कंक्रिटको जंगलमा हराएको सहर, प्रविधीले टुटाउँदै गएको मानविय मूल्यमान्यताहरू, भर्चुअल बन्दै गएका सम्बन्धहरू, संवेदना बिलाउँदै गएका हृदयहरू । मान्छे गाउँ छोडेर जसै सहर पस्यो, सम्बन्ध र संवेदनालाई पनि गाउँमै छोडेर पस्यो । ‘सहरका मान्छेहरू’ कबिताले यस्तै विषमता र सहरबाट लोप हुँदै गएको मानविय गुणहरूलाई काव्यिक रूपमा व्याख्या गरेको छ ।

समाजलाई केलाउन र सामाजिक यथार्थलाई नाप तौल गर्न पनि कवि क्षितिजका कविताहरू काविल छन् । प्रेम, रोमान्स अथवा रोमान्टिक वयान उनका कवितामा दुर्लभ झैँ लाग्छन् । तर सम्बन्धहरू र तिनै सम्बन्धहरूले व्यक्तिको मनभित्र उत्पन्न हुने कुण्ठा र उहापोहहरूलाई मिहिन वर्णन भने गरेका छन् । जस्तो ‘स्वतन्त्रता’ कविता मार्फत बाउ, छोरी र नर्तकीका माध्यमबाट व्यक्तिभित्रको यौन आवेग र त्यसले निम्त्याउने कुण्ठालाई कथा भनेजसरी वर्णन गरेका छन् कविले ।

धर्म वैयक्तिक कुरा हो व्यक्तिको । धर्मभन्दा पर गएर संस्कृति अलिक सामाजिक कुरा हो । धर्म र संस्कृतीले समाजलाई एउटै मालामा गाँस्ने काम गर्छ । तर विखण्डनको अर्को रूप पनि हो धर्म । यसले समाजलाई बाँड्ने काम पनि गर्छ । धार्मिक विखण्डन या जातिय विद्वेषले समाजलाई चिर्ने काम मात्रै गर्छ । त्यही धार्मिक सहिष्णुता, जातिय सद्भाव अनि सांस्कृतिक अपनत्वका लागी ‘मैले हेरेको नाटक’ मार्फत कवि कवितामा पोखिएका छन् ।

मिथकले कवितालाई आकार दिन्छ । इतिहास दिन्छ । धेरै भन्नुपर्ने कुरालाई एउटै मिथकको प्रयोगले सहज बनाइदिन्छ । यस्ता मिथकहरूको सटिक प्रयोग ‘एक्लो महारथी’मा पनि देख्न सकिन्छ । कतै एउटै शब्दका रूपमा त कतै सिंगो कवितामै । खुलामंच, सम्बोधित कर्ण, पसिनाका हजार बुद्ध, अर्को एकलव्य, अर्को महाभारत लगायत कविताहरूमा कविले त्यस्तै मिथक अनि मिथकिय पात्रहरूलाई आवश्यक ठाउँ दिएका छन् ।

क्षितिजका कविता जति काव्यिक लाग्छन् त्यती नै बढि कतिपय कविताहरू निबन्धात्मक पनि लाग्छन् । कथात्मक बनाउँन खोज्दा कतिपय कविताहरू कविताको मूल मर्मबाट चिप्लिएझैँ भान पनि हुन्छ । त्यस्तै कतिपय कविताहरू छोटा लाग्छन् । भन्नुपर्ने कुरा भनिनसक्दै सकिए जस्ता । हतारोमा लेखिएझैँ लाग्ने । फेरी कतिपय कविता अनावश्यक शब्दहरूको थुप्रो जस्ता ।

तर पनि क्षितिजको कवितासंग्रह ‘एक्लो महारथी’ संग्रहणिय छ । युद्ध र बुद्धको समिश्रण, प्रेम र अवसादको वर्णन, गाउँ र सहरको मिलन अनि इतिहास र वर्तमानको संकथन एउटै संग्रहमा भेटिनु पनि सुन्दर छ । प्रकृति देखी लिएर मानविय भावना र संवेदनाहरूलाई नजिकैबाट नियालेका छन् । र पोखिएका छन् कविताभरी ।

निश्‍चय नै सिंगो संग्रह पढुन्जेल कवितासँग कवितामै संवाद गर्न कविताहरू स्वयंममा सक्षम छन् ।

प्रतिक्रिया