‘ऊर्जा विकासमा अन्तर्राष्ट्रिय निकायको सहयोग आवश्यक छ’

काठमाडौं । ऊर्जा एवं सिँचाइका क्षेत्रको विकासबाट नेपाललाई समृद्ध बनाउन सकिने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनाएकी छन् । एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष सिचिन छिनसँगको भेटमा उनले यस्तो बताएकी हुन् ।
मन्त्रालयमै आज भएको भेटमा भुसाल र छिनबीच एडीबीको लगानी रहेका ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे छलफल भएको थियो । भेटमा छिनसँग भुसालले अन्तर्राष्ट्रिय निकायसँग सहयोगको अपेक्षा रहेको बताएकी थिइन् ।
भेटमा मन्त्री भुसालले नेपालको विकासमा एडीबीले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा ऊर्जा उत्पादन र वितरणमा महत्त्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरिन् । ऊर्जा एवं सिँचाइका क्षेत्रको विकासबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले त्यसमा अन्तर्राष्ट्रिय निकायसँग सहयोगको अपेक्षा रहेको उनको भनाइ थियो ।
पछिल्लो समय नेपाल-भारतबीच ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण सहकार्य सुरु भइ विद्युत् व्यापार थालिएको बताउँदै भुसालले नेपालका ठूला आयोजना सम्पन्न गरेर अझै क्षेत्रीय स्तरमा व्यापार गर्न सकिने बताइन् । उनले भनिन्, ‘बंगलादेश, भुटान, भारत र नेपालमाझ ऊर्जा व्यापार गर्ने नीतिगत समझदारी जुटेको छ । केही वर्षभित्र नै हामीले ती देशमा विद्युत् निर्यात गर्ने अवस्था आउँछ ।’
आगामी दिनमा देशभर बाह्रैमहिना गुणस्तरीय विद्युत् उपलब्ध गराउने गरी ऊर्जा मन्त्रालयले तयारी गरिरहेको जानकारी गराउँदै मन्त्री भुसालले जलासयुक्त जलविद्युत् आयोजनामा लगानी गर्न एडिबीलाई आग्रह गरिन् । उनले पूर्व-पश्चिम प्रशारणलाई निर्माणमा पनि एडीबीको सहयोग विस्तार हुने विश्वास व्यक्त गरिन् ।
भेटमा एडीबीका उपाध्यक्ष छिनले नेपालले ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण काम गरेको र अन्तरदेशीय विद्युत् व्यापार नेपालका लागि महत्त्वपूर्ण भएको उल्लेख गरे । उनले भने, ‘भारतसँग ३६५ मेगावाट विद्युत् व्यापार गर्ने सहमति नेपालका लागि महत्त्वपूर्ण खुड्किला हो, यसले आगामी दिनमा फड्को मार्ने मैले विश्वास गरेको छु ।’
जलविद्युत् र जलस्रोतका क्षेत्रमा एसियाली विकास बैंकले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै अध्यक्ष छिनले एडीबीको लगानी रहेका महत्वपूर्ण १० वटा आयोजनाहरूको कार्यान्वयन अवस्थालाई आफूहरूले नियालीरहेको बताए । उनले विद्युतको आन्तरिक खपतमा जोड दिन सुझाव दिँदै कोइलाबाट सञ्चालन भएका उद्योगलाई पनि विद्युतले प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए ।
भेटमा मन्त्रालयका तर्फबाट सचिव देवेन्द्र कार्की, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, नेपाल विद्युत् प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एडीबीका तर्फबाट नेपालका लागि देशीय निर्देशक आरर्नौड काउसिसलगायत उच्च अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया