बिहीबार, वैशाख २०, २०८१

यस्तो छ काठमाडाैं मेयर उम्मेदवारका नालीबेली, को होला मतदाताको मनमा हाबी

नेपालखोज २०७९ वैशाख १५ गते १४:४९

काठमाडाैं । देशकै राजधानी काठमाडाैंको महानगरमा कसले चुनाव जित्ला भनेर चिन्ता र चासोको विषय बनेको छ । महानगरको नेतृत्व हत्याउन दर्जनाैं उम्मेदवार लाइनमा छन् ।

देशकै राजधानी अझ राष्ट्रिय मर्यादाक्रममा पनि अन्य महानगरभन्दा महत्त्वपूर्ण स्थान दिइएको महानगर हो काठमाडाैं । यहाँका उम्मेदवारहरु पूर्वमेयर, मन्त्रीदेखि कलाकार हुँदै नेताका पत्ननीसम्म छन् । मनोनयन अगाडिदेखि नै र्‍यापर बालेन शाहले उम्मेदवारी दिने सर्वत्र हल्ला नै भइसकेको थियो । पेसाले इन्जिनियर शाहको उम्मेदवारी चर्चाको शिखरमा छ भन्दा फरक पर्दैन ।

काठमाडाैंको नेतृत्व आफ्नै पार्टीले गरोस भन्ने हरकोही नेताको चाहना हुन्छ । सोहीअनुरुप एमालेल‍े पनि हेबिवेट उम्मेदवार केशव स्थापितलाई अघि सारेको छ । यता गठबन्धनले सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ । राप्रपाले कलाकार मदन दासलाइ उम्मेदवार बनाएको छ भने विवेकशील साझाले समीक्षा बाँस्कोटालाई उम्मेदवार बनाएको हो । अन्य उम्मेदवार पनि चुनावी मैदानमा छन् । तर राजनीतिक विश्लेषकहरु यी पाँचमध्ये कसैको पोल्टामा नै महानगरको नेतृत्व पर्ने बताउछन् ।

बालेन शाह

बालेन शाह (बालेन्द्र शाह) नेपाली र्‍यापर, म्युजिक कम्पोजर, गीत लेखक, निर्देशक र स्ट्रकचरल इन्जिनियर हुन् । उनी आयुर्वेदिक चिकित्सक डा. राम नारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् । उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङ र कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रकचरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका थिए । उनले २०७९ वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको पदमा चुनाव लड्ने घोषणा गरेका छन् ।

आइतबार राष्ट्रिय सभागृहमा पुगी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि मिडियासँग कुराकानी गर्दै शाहले जित्ने ठोकुवा गरेका थिए । उनले भने, ‘म भोट काट्न उठेको हुँ। नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न आएको हुँ । उनीहरूको भोट काटेर म जित्न आएको हुँ।’

एउटा स्वतन्त्र तथा वैकल्पिक शक्तिले अर्को यस्तै शक्तिलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ । शाहले एउटा वैकल्पिक शक्तिले अर्को वैकल्पिक शक्तिलाई स्वीकार्नु पर्ने समेत बताउँदै आएका छन् । शाहले काठमाडौंको मेयरमा आफूले ९० हजार ८३५ मतले जित्ने दाबी गरेका छन् ।

अघिल्लो पाँच वर्षकोजस्तो दुःख नभोग्न मतदाताले आफूलाई मत दिनुपर्ने उनको भनाइ छ । व्यवस्थापनको कमजोरीले गर्दा काठमाडौंका जनताले सुख पाउन नसकेको बुझाइ उनको छ। युवा भएर मात्र भोट नमागेको उनले बताउँदै आएका छन् । स्थानीय निर्वाचन निर्दलीय हुनुपर्छ भन्ने सिद्धान्त बालेनको छ ।

काठमाडौं महानगरपालिकाभित्र साढे दुई लाख घर रहेको र सकेसम्म सबै घरमा कुनै न कुनै माध्यमबाट पुग्ने प्रयास उनले गर्ने बताउँदै आएका छन् ।

केशव स्थापित

केशव स्थापित काठमाडौँ महानगरपालिकाका पूर्वमेयर हुन् । २०५४ सालको स्थानीय निर्वाचनमा उनी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने नारा ल्याएका थिए । उनी मेयर भएकै बखतमा पशुपति क्षेत्र, माइतीघर, तीनकुने जस्ता ठाउँमा निर्माण भएका अव्यवस्थित घर-टहराहरू भत्काइएका थिए।

केशव स्थापित राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पुनः मेयर मनोनित भए । उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका नवौं सदस्य सचिव थिए । उनले वि.सं. २०५१ देखि वि.सं. २०५२ सम्म उक्त पदमा रहेर काम गरेका थिए ।

उनलाई सरकारले वि.सं. २०६९ सालमा काठमाडौँ उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तमा नियुक्त गरेको थियो । नौं महिना नबित्दै उनलाई पदमुक्त गरेको थियो । काठमाडौँ उपत्यकाका पूर्वमेयर केशव स्थापित विसं २०१६मा काठमाडौंमा जन्मिएका हुन्।

नेकपा एमालेको तर्फबाट मेयरको उमेदवार बनेका केशव स्थिापित र उपमेयरको उमेदवार बनेकी सुनिता डंगोल तामझामसहित उम्मेदवारी मनोनयनका लागि पुगेका थिए । मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग उनले बाटोमा आफ्ना योजना नसुनाउने बताए । उनले भने ‘होटेल एलो प्यागोडामा हाम्रो वार रुम बन्दैछ । बाटोबाटोमा योजनाको कुरा नगर्नु के । गहनता हुन्छ नि ! भोलि वार रुममा आउने सबै छर्लङ् हुन्छ ।’

स्थापितले आफूले २०५४ सालमा नै ८४ हजार भोट ल्याएकाले अबको चुनावमा गठबन्धनभन्दा दोब्बर मत ल्याउने दोहोर्‍याए ।

सिर्जना सिंह

सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले काठमाडौं महानगरपालिका प्रमुखका लागि सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ । उनी कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् । संघीय राजधानीस्थित काठमाडौँ महानगरपालिकाको मेयरमा गठबन्धनले महिला उम्मेदवार खडा गरेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँको मेयरमा एमाले र उपमेयरमा काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।

सिर्जनालाई एमालेको विरासत भत्काउन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको मन र मत जोड्नुपर्ने चुनौती छ । उनलाई उम्मेदवार बनाउन पार्टीका शीर्ष नेताहरुबीच सर्वसम्मत निर्णय भए पनि कार्यकर्ता तहमा विद्यमान गुटबन्दी तथा सम्भावित अन्तरघात रोक्न पनि उत्तिकै चुनौतीपूर्ण देखिन्छ सिर्जनालाई ।

त्यसो त, उनलाई कतिपयले परिवारवादका कारण टिकट पाएको आरोप पनि लगाएका छन् । लामो समय कांग्रेस राजनीति निष्क्रिय भएकी उनले प्रकाशमान सिंहको बलमा टिकट पाएको आरोप छ । उनले उम्मेदवारी दिँदै भनिन्, ‘सबैले मलाई ‘तिमी अगाडि बढ, पहिला तिमीले गरेको कामको अहिले पार्टीले मूल्यांकन गर्छ, पछाडि नहट भने । त्यसपछि मलाई पनि प्रेसर पर्‍यो । म पनि बिस्तारै मेयरका लागि तयार हुन लागेँ ।’

मदन दास

मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मदन दास श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेर मेयरमा मनोनयन दर्ता गराएका हुन्।

श्रेष्ठले नगरको हकहित र विकासका लागि आफूले उम्मेदवारी दिएको बताए । उनले भने,’ नगरको हकहित र विकाशका लागि कटिवद्ध भएर लड्छु। स्वास्थ्य र शिक्षामा विशेष जोड दिन्छु।’

समीक्षा बाँस्कोटा

विवेकशील साझा पार्टीका उम्मेदवार समीक्षा बाँस्कोटाले पनि काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् । आइतबार काठमाडौंको सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बाँस्कोटाले उमेदवारी दर्ता गराएकी हुन् ।

उम्मेदवारी दर्ता गराउँदै बाँस्कोटाले काठमाडौंमा बैकल्पिक राजनीतिक शक्ति विवेकशील साझा रहेको बताएकी छन् । उनले महानगरभित्रको समस्याको समाधानका लागि योजनाबद्ध ढंगले काम गर्ने दाबी पनि गरेकी छन् । ३८ वर्षीया बाँस्कोटा २०७४ को प्रदशेसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ ‘क’ बाट उम्मेदवार बनेकी थिइन् ।

प्रतिक्रिया