शुक्रबार, वैशाख २८, २०८१

तस्बिरको व्यापार

मोती चामलिङ २०७९ वैशाख १७ गते १२:३९

माओको तस्बिर
खुव बिक्यो र बेचियो
एक खुनी जमानामा ।

मार्क्स लेनिन
स्टालिनका तस्बिरले
फ्लप खाए त्यो जमानामा
नाफा मुनाफाले
कुस्त मोटाए व्यापारीहरु
जब तस्बिर
बिक्न छोड्यो नेपालमा

तब नेहरु र गान्धीका
ध्वाँसाले पुरिएका
मलिन तस्बिरहरु फिँजारेर
बाटा र चोकहरुमा
ग्राहक बटुल्न ब्यापारीहरु
तँछाडमछाड
क्षेत्रफल ओगटन ओइरिए
खासै व्यापार चल्न चलेन ।


व्यापार नफस्टाएपछि
वासिङ्टन डीसीबाट
जर्ज वासिंगटनको
तस्बिर ल्याएर
लिलामको भाउमा
बेच्ने सोंचमा
पूरै व्पारीहरु सल्बलाउदै
तम्सिएका छन्।

कलाप्रेमी नेपालीहरुले
आफ्ना झुपडी महल
गल्ली बजार शहर
जताततै
कहिले माओको तस्बिरले
कहिले स्टालिनको
जुँगामुठे तस्बिरले,
कहिले पिल्सुते लेनिन
र दारिवाल माक्र्सको तस्बिरले
सजाउनसम्म सजाउन खोजे ।

अहँ ,सुन्दर देखिएन
गल्ली, बस्ती, बजार
सहर र पूरै देश ।

होर्डिङबोर्ड र भित्ताहरु
घर दलिन
बिजुलीका पोलहरु
जताततै झुण्डिएका ती
महँगा तस्बिरहरू
भूतजस्तै देखिए
अनि सर्लक्कै
कुरुप भयो देश ।

अहिले
जर्ज वासिंटनका
तस्बिरका बण्डलहरु
अमेरिकाको बन्दरगाहमा
धमाधम भरिँदैछ
पानी जहाज भरिभरी ।

काेलकत्ताको बन्दरगाहमा
ढुवानी मालबाहक
शक्तिमान ट्रकहरुको लाइन छ ।

चाँडै काँकडभिट्टा, जोगबनी
रक्सौलको नाका छिचोलेर
नेपाल आइपुग्ने छन्।

कलाप्रेमी नेपालीहरु
तस्बिर खरिद गर्न
लाइनमा छन् ।

ओइ नेपाली हो
के तस्वीर टाँगेर
देशको मुहार फेरिन्छ ?
यदि त्यसो हो भने विगतमा
तस्बिर त टाँगिएकै होइन ?

कहिले माओको,
कहिले लेनिनको
कहिले गान्धीको
कहिले राजाको
कहिले ओलीको
कहिले गोरुको
कहिले गाईको
कहिले भैंसीको ।

त्यसैले हे,
कलाप्रेमी नेपाली
छोडिदेउ,
महँगा तस्बिर किन्न
तस्बिर टाँगेर
देश सुन्दर हुन्न ।

प्रतिक्रिया