शुक्रबार, वैशाख २८, २०८१

सुखद मृत्यु

नारायण तिवारी २०७९ वैशाख १७ गते १५:३२

-मृत्यु सुखद पनि हुन सक्छ !
-कस्तो विचित्र कुरा‍‍‍‍…. !
मदनको घर कलहलाई मैले नजिकबाट महसुस गरेको हँ। उसकी स्वास्नीका फाटेका वस्त्र ! केटाकेटीको रुग्ण लालनपालन- मैले बारम्बार प्रत्यक्ष देख्दै आएको हुँ ।

तर अचानक सबैथोक बदलिएछ । मीठो गरी बदलिएछ भनौं सबैथोक कि नमीठो गरी..? आजकाल केटाकेटीका आँखामा आँसु छैनन् । उसकी श्रीमतीको आङमा फाटेको वस्त्र छैन । मानौँ खुसी छन् सबै …! तर भित्रभित्र नमीठो पीडा त सबैलाई हुँदो हो । किनभने मदनको अनुपस्थिति पनि छ त्यहाँ । यद्यपि सधैँको घरझगडा पनि छैन । चकमन्नता छ । शान्ति छ ।

मदन हवाईजहाजको दुर्घटनामा परेर मृत्युलाई वरण गर्न पुग्यो । तथापि स्वास्नी, छोराछोरीका निमित्त ‘जीवन’ छाडिदिएर…। बीस हजार डलरको जीवन । कस्तो सुखद मृत्यु…। बीस हजार डलर अथात् आजको खरिद दरले ने.रु.चौध लाख तेह्र हजार…।

मदनको घर–परिवार, व्यवहार, अवस्था आदिप्रति म अलि बढी नै आकर्षित भएँछु । सायद यस कारणले पनि कि मेरी पनि श्रीमतीका आङ फाटेका छन् । मेरा पनि केटाकेटीका आँखामा विपन्नताका आँसु छन् ।

मानिसहरू हवाइजहाज चढ्दा डराउँछन् । तर यस बेला म हवाईजहाजभित्र छु र मलाई कुनै डर छैन । म कामना गरिरहेको छु – प्लेन दुर्घटनाग्रस्त भइहालोस् । तथापि म भित्रभित्रै भने भक्कानो फुटिरहेकै छ– सधँै यो छैन, त्यो छैन भन्ने छुच्ची श्रीमतीको टीठलाग्दो अनुहार सम्झेर ! मृत्युवरण गरियो नै भने, मायालाग्दा छोराछोरीले बाबालाई नपाउँदा कतिबेरसम्म हिक्का छाडेर रोइरहने हुन् -.म कल्पीकल्पी सोचिरहेको छु….!

जेहोस १ मृत्यु सुखद हुनेछ, डलर हुनेछ र फाटेको वर्तमान हुनेछैन । छोराछोरीको भविष्य हुनेछस् प्रिये ! तिम्रो आँखामा आँसु हुनेछैन…मसितको सधैँको झगडा पनि हुनेछैन…!

मेरा आँखामा रहँदै–वस्दै, आँसु भरिँदै खस्दैछन् र प्लेन उडिरहेको छ – माथिमाथि धेरै माथि…!

प्रतिक्रिया