शुक्रबार, वैशाख १४, २०८१

‘हुने काम हुन्छ, नहुने काम यो कारणले हुँदैन भन्छु’

नेपालखोज २०७९ वैशाख १९ गते ९:५७

प्रदेश १ को इलाम जिल्लाको प्रशासनिक नेतृत्व अहिले काभ्रेका माधवप्रसाद ढुंगानाको काँधमा छ । २०७८ पुस २६ गतेदेखि इलामको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ढुंगाना कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, स्थानीय तह निर्वाचनको तयारी, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ ढुंगानालाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा झन्डै ३६ वर्ष बिताएका इलामका प्रजिअ ढुंगाना यसअघि गृह मन्त्रालयमा कार्यरत थिए ।
निजामती सेवामा चाँडो सरुवाले भनेको काम समयमै पूरा गर्न नपाउने र समग्र क्रियाकलापमा असर पर्ने उनको अनुभव छ । ‘अवधिभन्दा पहिले सरुवा भयो भने उसले सम्झौता गरेको काम पूरा गर्न पाउँदैन । प्राप्त जिम्मेवारी कार्यान्वयन हुँदैन,’ प्रजिअ ढुंगानाले नेपालखोजसँग भने, ‘काम पूरा नभएपछि दोस्रो व्यक्ति आएर कार्यान्वयन गर्नुपर्ने हुन्छ । त्यो व्यक्तिले उसको लय समात्न पनि सक्छ नसमात्न पनि सक्छ । समात्न सकेन भने त्यो योजना पूर्ण हुन पाउँदैन । यसले सम्पूर्ण क्रियाकलापमा असर गर्छ ।’
इलामका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) माधवप्रसाद ढुंगानासँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ५५औं शृंखला :

हाइलाइट्स :
-म मेरो कार्यालयमा आएका सेवाग्राहीलाई कालो मुख लगाएर फर्काउँदिनँ । हुने भए यो-यो हिसाबले हुन्छ भनेर तथा नहुने भए यसो गरेमा हुन्छ सक्छ यो गर्नुस्, यो गर्न बाँकी रहेछ अथवा तरिका सिकाएर पठाउँछु ।
-मान्छेको स्वभाव भएर पनि होला मलाई खासै दबाब आउने गरेको छैन । मैले धेरै दबाबको महसुस जीवनमै गरिनँ । प्रस्ट कुरा गर्ने मेरो बानीले पनि होला । हुने काम हुन्छ नहुने काम यो कारणले हुन्न भन्ने बानी छ ।
-संयन्त्र हाम्रो गेटबाटै सुरु हुन्छ । प्रवेश गर्नेबित्तिकै रिसेप्सन । कुन ठाउँ कुन सेवाका लागि कता जाने भनेर सोध्ने व्यवस्था छ । त्यहीँ दर्ता पनि हुन्छ त्यहीँबाट म यहाँ जानुपर्ने रहेछ भनेर सेवाग्राहीलाई थाहा पनि हुन्छ ।
-फ्रन्ट डेस्कमा बस्ने कर्मचारीले सहज जवाफ दिएपछि सेवाग्राहीलाई सहज सेवा प्रवाहमा मद्दत मिलेको छ । त्यसैले पनि हामीले रिसेप्सनलाई चुस्तदुरुस्त राखेका छौं ।
-आज भन्दा ३६ वर्ष अगाडि ०४३ सालमा म निजामती सेवामा प्रवेश गरेको हो । त्यो बेला शिक्षाको भर्सन पनि अलि परम्परागत थियो । अहिले शिक्षाका भर्सन एकदम आधुनिक छन् । त्यो बेला हामीसँग विकल्पहरु धेरै थिएनन् । निजी क्षेत्रमा छँदै थिएन । उद्योगधन्दा पनि थिएनन् । अध्ययनमा हामी जस्ता अब्बलको गन्तव्य नै निजामती सेवा थियो ।
-अहिलेको पुस्ताको निजामती सेवामा आकर्षण देखिन्छ । अहिले पनि धेरै यो क्षेत्रमा प्रवेश गरिरहेका छन् । केही युवा बाहिर पनि गएका छन् । यसको कारण, अप्सन धेरै छ । निजी क्षेत्रमा पनि विकल्प टन्नै छन् ।
-निजामती सेवामा कार्यसम्पादन सम्झौता गरेर कर्मचारी पठाएपछि यो अवधिमा यति काम गर्नुपर्छ भनेर जिम्मेवारी दिनुपर्छ जस्तो लाग्छ मलाई । न्यूनतम एक अथवा दुई वर्षको टार्गेट दिनुपर्छ । अहिले पनि हाम्रो वर्षिक योजना भनेर एक वर्षको बन्छ । यो नभएर दुई वर्ष तीन वर्ष हुनुपर्छ र निश्चित जिम्मेवारी दिनुपर्छ ।
-हामीले इलामका मतदान केन्द्रलाई अतिसंवेदनशील स्थान भनेर मूल्यांकन गरेका छौं । अतिसंवेदनशील, संवेदनशील र सामान्य स्थानमा वर्गीकरण गरेर त्यही हिसाबको सुरक्षा प्रबन्ध मिलाएका छौं ।
-शान्त र निष्पक्ष रुपमा चुनाव सम्पन्न हुन्छ । जनतालाई पनि निर्धक्क भएर आफ्नो अभिमत जाहेर गर्नुहोस् भन्ने अपिल गर्न चाहन्छु ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
म मेरो कार्यालयमा आएका सेवाग्राहीलाई कालो मुख लगाएर फर्काउँदिनँ । हुने भए यो-यो हिसाबले हुन्छ भनेर तथा नहुने भए यसो गरेमा हुन्छ सक्छ यो गर्नुस्, यो गर्न बाँकी रहेछ अथवा तरिका सिकाएर पठाउँछु । नहुने कामलाई यो हुँदैन यो बाटो समातेर काम छैन यो काम हुने सम्भावना छैन भनेर पठाउँछु । तपाईंको काम यो कारणले हुन सकेन भनेर पठाउँछु । यो हिसाबले कुरा गर्दा सेवाग्राही पनि खुसी भएको पनि देखिन्छ ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
मान्छेको स्वभाव भएर पनि होला मलाई खासै दबाब आउने गरेको छैन । मैले धेरै दबाबको महसुस जीवनमै गरिनँ । प्रस्ट कुरा गर्ने मेरो बानीले पनि होला । हुने काम हुन्छ नहुने काम यो कारणले हुन्न भन्ने बानी छ । धेरै दबाबको सामना गर्नुपरेन । हुने काम गर्न भने दबाब हुन्छ पनि होला । तर मैले नियमसंगतका काम फटाफट काम गरिदिने भएकाले दबाब नभएको होला ।

सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि कार्यालयमा कस्तो खालको संयन्त्र बनाउनुभएको छ ?
संयन्त्र हाम्रो गेटबाटै सुरु हुन्छ । प्रवेश गर्नेबित्तिकै रिसेप्सन । कुन ठाउँ कुन सेवाका लागि कता जाने भनेर सोध्ने व्यवस्था छ । त्यहीँ दर्ता पनि हुन्छ त्यहीँबाट म यहाँ जानुपर्ने रहेछ भनेर सेवाग्राहीलाई थाहा पनि हुन्छ । भाग्य नै भन्नु पर्छ हाम्रो कार्यालयको बनोट पनि मिलेको छ । सेवाग्राहीले बाहिरबाटै सेवा लिन सक्ने तीनवटा शाखा छन् । नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्र बाहिरैबाट र आजको आजै सेवा पनि लिन सकिने व्यवस्था छ । फोटो र सही गर्न मात्र भित्र जानुपर्छ । फ्रन्ट डेस्कमा बस्ने कर्मचारीले सहज जवाफ दिएपछि सेवाग्राहीलाई सहज सेवा प्रवाहमा मद्दत मिलेको छ । त्यसैले पनि हामीले रिसेप्सनलाई चुस्तदुरुस्त राखेका छौं । सेवाग्राहीलाई असल राम्रोसँग भनिदिँदा आधा काम पूरा हुने रहेछ ।

संघीयताअघि र अहिलेको सार्वजनिक सेवा प्रवाहमा के फरक पाउन सकिन्छ ?
संघीयताअघि र पछिमा अरु केही कार्यालयमा भने फरक छ । संघीयताअघि र पछि हाम्रो कार्यालयमा भने एउटै कार्यक्रम (काम) छ । हामी पहिला पनि गाउँपालिका गाविस नगरपालिकाको सिफारिसले नारिकता बनाउँथ्यौं । अहिले पनि हामी उनीहरुकै सिफारिसका आधारमा नागरिकता बनाउँछौं । उनीहरुको सिफारिसको आधारमा जन्म दर्ता, मृत्युदर्ताको सिफारिस बनाउँछौं । त्यसकारण हामीकहाँ संघीयताअघि र पछि फरक छैन । तर समग्र जिल्लाको कुरा गर्दा पहिला गाउँपलिकामा गर्ने कुरा अहिले वडामा गर्छन् । वडामै सिफारिस लिन्छन् । वडामा वडाध्यक्ष अथवा सचिव चिनेकै हुन्छ । त्यो हिसाबले अहिले अलिकति सरल हुन्छ जस्तो लाग्छ ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
आज भन्दा ३६ वर्ष अगाडि ०४३ सालमा म निजामती सेवामा प्रवेश गरेको हो । त्यो बेला शिक्षाको भर्सन पनि अलि परम्परागत थियो । अहिले शिक्षाका भर्सन एकदम आधुनिक छन् । त्यो बेला हामीसँग विकल्पहरु धेरै थिएनन् । निजी क्षेत्रमा छँदै थिएन । उद्योगधन्दा पनि थिएनन् । अध्ययनमा हामी जस्ता अब्बलको गन्तव्य नै निजामती सेवा थियो । १८ वर्ष पुग्नेबित्तिकै जाँच दिएको म पास भइहालेँ । त्यसपछि जागिर खाँदै शैक्षिक योग्यता पनि वृद्धि गर्दै गरेर यो अवस्थामा आइपुगियो । साँच्चै भन्दा धेरै अप्सन नभएर पनि हामी यता आयौं होला । यसतर्फ आकर्षण हुनुको कारण आफूभन्दा अगाडिको पुस्ता पनि हुन् । त्यो बेला निजामतीमा प्रवेश गरेपछि अलि इज्जत पाइन्थ्यो । अहिले यसको मान्यता अलिक कम भएको हो कि जस्तो छ ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
अहिलेको पुस्ताको निजामती सेवामा आकर्षण देखिन्छ । अहिले पनि धेरै यो क्षेत्रमा प्रवेश गरिरहेका छन् । केही युवा बाहिर पनि गएका छन् । यसको कारण, अप्सन धेरै छ । निजी क्षेत्रमा पनि अप्सन छन् । त्यसबाहेक अरुअरु पनि क्षेत्र छन् । आफैँ गर्छुभन्दा पनि नयाँ-नयाँ किसिमको पेसा व्यवासाय आएको हुनाले मान्छेहरुले निजी क्षेत्र, एनजीओ अँगालेको अवस्था छ । त्यसकारण निजामती क्षेत्रमा अलिकम आकर्षण देखिन्छ । पढाइमा अब्बल विद्यार्थीले चाहिँ अरु अप्सन खोजेको हो कि जस्तो देखिन्छ ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
निजामती सेवामा कार्यसम्पादन सम्झौता गरेर कर्मचारी पठाएपछि यो अवधिमा यति काम गर्नुपर्छ भनेर जिम्मेवारी दिनुपर्छ जस्तो लाग्छ मलाई । न्यूनतम एक अथवा दुई वर्षको टार्गेट दिनुपर्छ । अहिले पनि हाम्रो वर्षिक योजना भनेर एक वर्षको बन्छ । यो नभएर दुई वर्ष तीन वर्ष हुनुपर्छ र निश्चित जिम्मेवारी दिनुपर्छ । यति समयमा यति काम गर्नु भनेर तार्गेट दिँदा के हुन्छ भने आफूले गर्ने काम केके हो ज्ञान हुन्छ । अनि टार्गेटमा फोकस भएर त्यही बाटोमा लाग्छ । अवधिभन्दा पहिले सरुवा भयो भने उसले सम्झौता गरेको काम पूरा गर्न पाउँदैन । प्राप्त जिम्मेवारी कार्यान्वयन गर्न पाउँदैन । नपाएपछि दोस्रो व्यक्ति आएर कार्यान्वय गर्नुपर्ने हुन्छ । त्यो व्यक्तिले उसको लय समात्न पनि सक्छ नसमात्न पनि सक्छ । समात्न सकेन भने त्यो योजना पूर्ण हुन पाउँदैन । यसले सम्पूर्ण क्रियाकलापमा असर गर्छ ।

जिल्लामा चुनावी सरगर्मी बढेको होला, सुरक्षा संयन्त्र परिचालनको तयारी कसरी गरिरहनुभएको छ ?
इलाम जिल्लाको हकमा कुरा गर्नुपर्दा शान्ति सुरक्षा चुस्तदुरुस्त छ । हाम्रा सम्पूर्ण सुरक्षा निकायमा समन्वय गरेर योजना बनाएका छौं । यही योजनाअनुरुप हामी चुनाव सम्पन्न गर्छौं । अहिलेसम्म योजनाअनुसार नै काम भएको छ । यो बीचमा के-के चुनौती आउँछ त्यो पनि हामीले विचार गरेका छौं । त्यसका लागि समाधानको बाटो पनि खोजेका छौं । हामीले हाम्रा मतदान केन्द्रलाई अतिसंवेदनशील स्थान भनेर मूल्यांकन गरेका छौं । अतिसंवेदनशील, संवेदनशील र सामान्य स्थानमा वर्गीकरण गरेर त्यही हिसाबको सुरक्षा प्रबन्ध मिलाएका छौं ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
शान्त र निष्पक्ष रुपमा चुनाव सम्पन्न हुन्छ । जनतालाई पनि निर्धक्क भएर आफ्नो अभिमत जाहेर गर्नुहोस् भन्ने अपिल गर्न चाहन्छु । जसले पाँच वर्ष तपाईंलाई शासन गरोस् तथा सेवा गरोस् जस्तो लाग्छ उसलाई नै मत दिनुहोस् ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले गण्डकी प्रदेशको म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानासँग कुराकानी गरेका थियौं । यसपटक प्रदेश १ को इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानासँग कुराकानी गरेका हौं । आगामी सोमबार अर्थात् वैशाख २६ गते भने हामीले प्रदेश १ कै संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडासँग कुराकानी गर्नेछौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

चिरञ्जीवी राना, प्रजिअ, म्याग्दी – ‘सेवाग्राही आउनेबित्तिकै गुनासो सुनेर समस्या सम्बोधन गर्छौं’

काशीराज दाहाल, प्रजिअ, मोरङ – ‘प्रभावकारी सेवाप्रवाह गर्न कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्व बिर्सिनु हुँदैन’

कृष्णबहादुर शाही, प्रजिअ, रौतहट – ‘गाउँबाट आउने शिक्षितवर्गको पहिलो रोजाइ नै निजामती सेवा’

बाबुराम अर्याल, प्रजिअ, बाजुरा – ‘एकाधबाहेक सबै समस्या समाधान गरेको छु’

प्रतिक्रिया