आइतबार, वैशाख ३०, २०८१

यतिबेला…

मिलन समीर २०७९ वैशाख २४ गते ८:४३

साँघुरो गल्लीमा भौंतारिँदै डुलिहिँड्ने
भुस्याहा लुते कुकुर जस्तै भएका छन्-
यो देशको भविष्यका कर्णधार भनिएका
तर काँडेतार बनेर मूलबाटोमा बसिरहेका
म जस्तै असंख्य नौजवान नवयुवकहरु
जसको केही पनि काम छैन
र, अलिकति पनि फुर्सद छैन !

माटो खाएर अनि दर्शनढुंगा चपाएर
सजिलैसँग पचाउन सक्ने युवा उमेरमा
चोक-चोकमा क्यारिमबोर्ड खेलेरै
आफ्नो अमूल्य आयु घटाइरहेका छन् –
म जस्तै असंख्य नौजवान नवयुवकहरु !

थोत्रो चप्पल लगाएर सडकमा ओर्लिएका
तथाकथित नेता भनाउदा जङ्गली मान्छेहरु
मैमत्त हुँदै गएका छन् – सत्तासीन भएसँगै
र, चलाइरहेका छन्- क्रमशः जंगलीराज
सडकमै अलपत्र परेर बसिरहेका छन् –
अहिलेसम्म पनि सर्वसाधारण भुइँमान्छेहरु !

संसार बदल्छु भन्ने कसम खाएर हिँडेकाहरु
स्वयं आफैं बदलिएका छन्- यतिबेला
अमुक दलका नेताको मुट्ठीमा छ- विधिको शासन
र, हराइसकेको छ- उनीहरूको शब्दकोशबाटै
अलिकति बाँकी रहेको लोकलाज शब्दको अस्तित्व !

नेपाली राजनीतिको चरम दुरावस्थासँगै
व्यवस्थाविहीन व्यवस्थाको पराकाष्ठाकै कारण
खाडीमा सबैभन्दा सस्तो श्रमका लागि
सबैभन्दा महँगो जोखिम मोलेर बाध्यतामा
रगत र पसिनाको बाढी बगाइरहेका छन्-
चरम निराशाको अकल्पनीय पीडासँगै
स्वदेशमै केही गर्न सकिन्छ कि… भन्ने
झिनो आशा र जीर्ण जागृतिको गाँठो
क्रमशः फुकेर असरल्लै पोखिएपछि
अहिलेसम्म पनि ओझेलमा परिरहेका
म जस्तै असंख्य नौजवान नवयुवकहरु !

अस्तव्यस्त अवस्थामै भए तापनि जसोतसो
आफ्नै पाराको नियमित दैनिकी बिताउने क्रममा
एकपछि अर्को बतासे फुलहरु मात्रै पारिरहेका छन् –
र, चल्ला कोरल्ने बहानामा ओथारो बसिरहेकै बेला
बालुवाटारभित्र पसेर मज्जाले निदाइरहेका छन् –
किरै परेर पनि अझै मर्न नसकेका कुम्भकर्णहरु !

सुनौलो सिउर भएको भालेको पहिलो डाक
सुन्ने पर्खाइमा कान ठाडो पार्दै व्यग्रतापूर्वक
बसिरहेका छन्- अहिलेसम्म पनि
अन्धकार कालरात्रिको अन्तिम प्रहरमा
भगवान भरोसामै बाचिरहेका भुइँमान्छेहरु !

अहिलेसम्म जसको झण्डा बोकेर हिँडिरहेका थिए
म जस्तै असंख्य नौजवान सुकुमार नवयुवकहरु
यतिबेला स्वयं उसैले फेरेको छ
छेपाराले रङ फेरेझैँ आफ्नो झण्डा
पुरानो झन्डा नफेरुन्जेलसम्म उसले
घरी यसो गर्न आइज भनेर बोलाइरहेको हुन्थ्यो
घरी उसो गर्न आइज भनेर बोलाइरहेको हुन्थ्यो !

अहिलेसम्म
केही लिटर पेट्रोल
थोत्रो बाइकमा हालेर कच्ची बाटोमा गुडाउँदै
केही बोतल बियर पिएर चुरोटको धुवाँ उडाउँदै
भट्टीवालीलाई फकाउदै, केही प्लेट सितन सकाउदै
केही थाल बासी बोइलर कुखुराको मासुभातसङ्गै
केही थान झुटा सपनाहरू साकार हुने आशमा
बन्धकीमा राखिदिएर आफ्नै बुद्धिविवेकलाई
सजिलैसँग बिकेर इज्जत फालिरहेकै कारण
चरम वेवास्ताको सदाबहार शिकार भएर
शरीरको हड्डी क्रमशः खिइँदै जान थालेपछि
हरियो पासपोर्ट थमाइदिएको छ- यतिबेला
राज्यसत्ताले अभागी युवाहरुको रित्तो हातमा !

खोलो तरिसकेपछि लौरो बिर्सिने बटुवाले जस्तै
देखाइदिएर समृद्धिका अनेकौं दिवासपनाहरु
अहिलेसम्म पनि जनताको आँखामा छारो हालेर
हावाको तालमा छेउ न टुप्पोको बकम्फुसे गफ दिएरै
बडो सजिलोसँग देश चलाइरहेका छन् –
सदाबहार सिकारु जड्याहा चालकहरुले
साघुरो ढोकामा उभिएर कराइरहेका छन् –
अन्धभक्त लम्पटदास झोले खलासी कार्यकर्ताहरु
शरीरको संवेदनशील अंग झ्यालबाहिर निकालेर
बेहोसीमै हौसिँदै ताली बजाइरहेका छन्-
रैतीभन्दा अलिकति मात्रै भए पनि माथि उठेर
आफू नागरिक भएको अनुभूतिसमेत गर्दै नगर्ने
२/४ पैसाको लोभमा आशामुखी मतदाताहरु !

हतारिँदै पल्लो घरमा डेरा सरेका छन्-
वल्लो घरमा अटाउनै नसकेका नरेहरु
क्रमशः हरिहीन हुँदै गइरहेका छन् हरेहरु !

सबैथोक फुस्किसकेको एउटा मरन्च्यासे खुस्केट
बर्बराइरहेको छ – यतिबेलै मध्येरातमा ब्युझिएर !

जन्मजात विरोधीहरुद्वारा सुनियोजित रूपमा
नाबालक विकासहरुलाई बेपत्ता पारिएसँगै
अपहरणमा परेका छन्- नाबालिका शान्तिहरु
बलात्कृत भएका छन्- आशा र समृद्धिहरु !

सुशासनलाई जरैदेखि विस्थापित गरेपछि
क्रमशः स्थापित हुँदै गएका छन् – दु:शासनहरु
र, चलाइरहेका छन् – कुशासनको हालीमुहाली !

सुखीको घरमा अड्डा जमाएर बसिरहेका छन्- दु:खीहरु
खुसीको घरमा हास्दै रमाएर बसिरहेका छन्- बेखुसीहरु !

अकल्पनीय दु:ख र हैरानीले पछ्याइरहदा
दसनङ्ग्रा खियाएर खानुपर्ने भुइँमान्छेहरुको
समयको अलिकति पनि मूल्य बाकी नरहेपछि…
हिउँदे आकाश जस्तै सुनसान हुँदै गएको छ –
भुइँमान्छेहरुको नाथे नाममात्रैको जिन्दगी
अनन्त आकाशमा छरिएका ताराहरु जस्तै
छरपस्ट भएका छन्- सीमित सपनाहरू !

प्रतिक्रिया