‘पूर्वाधार निर्माणमा राज्यले थप लगानी गर्दै यातायात सन्जालमा रारालाई छिट्टै जोड्नुपर्छ’

मुगु । नाडा अटोमोबाइल्स एसोेसिएशन अफ नेपालको एतिहासिक कार्यसमिति बैठक रारामा सम्पन्न भएको छ । एसोेसिएशनले शुक्रबार बिहान २ हजार ९९० मिटरको उचाईमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो ।
कर्णालीको विकट जिल्लामा रहेको मनोरम रारामा कार्यसमिति बैंठकलाई सम्बोधन गर्दै नाडा अटोमोबाइल्स एसोेसिएशन अफ नेपालका अध्यक्ष ध्रुब थापाले भने, ‘प्रकृतिको मनोरम स्थानमा नाडाले आफ्नो कार्यसमितिको बैंठक राखेर आन्तरिक पर्यटन विस्तारमा एक प्रकारको संदेश प्रदान गर्न खोजेको हो । यसमा सबै पक्षको सहयोग महत्त्वपूर्ण रह्यो ।’ अध्यक्ष थापाले कर्णाली साँचै सुन्दर रहेको तर, आवश्यक पूर्वाधार विकास हुन नसक्दा पछाडि परेको देखिन्छ भन्दै भने, ‘देशमा पूर्वाधार निर्माणमा राज्यले थप लगानी गर्दै यातायात संजालमा रारालाई छिट्टै जोड्नुपर्ने देखियो ।’
बैंठकसँगै कर्णाली प्रदेशको कर्णाली अटोमोबाइल्स एसोसिएशनसँग पनि रारा तालको परिसरमा अन्तर्क्रिया कार्यक्रम आयोजना भएको थियो । सो अन्तर्क्रिया कार्यक्रममा कर्णाली अटोमोबाइल्स एसोसिएशनका अध्यक्ष भद्र भण्डारीले यातायात पूर्वाधार निर्माण लगायत प्रदेश सरकार र केन्द्र सरकारको पहलमा ‘स्पेशल अटो जोन निर्माण’, ब्यवसायीको क्षमता अभिवृद्धि कार्यक्रम संचालन र अन्तर प्रदेश सम्बन्ध लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।
अन्तर्क्रिया कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै नाडाका अध्यक्ष थापाले बजेट निर्माणको समयमा पनि धेरै विषयमा आफूहरुले सरकारलाई लिखित रुपमा सुझाव दिएको जानकारी गराए । कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा बलियो बनाउन स्थानिय स्तरबाटै आउने समस्या समाधान गर्दै जानुपर्ने धारणा राखेका थिए । नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले कार्यक्रम संचालन गरेका थिए ।
यसैगरी नेपालगञ्ज आसपासमा रहेका अटोमोबाइल क्षेत्रका समस्याको विषयमा शनिबार नेपालगञ्जको सिद्धार्थ होटेलमा अन्तक्र्रिया कार्यक्रमसमेत सम्पन्न भएको थियो । उक्त कार्यक्रममा लुम्बिनी अटोमोबाइल्सका अध्यक्ष गणेशप्रसाद भट्टराइ समेतको उपस्थिति रहेको थियो ।
नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशमा रहेर पर्यटकको ओसार पसारमा काम गर्ने पदमबहादुर रावललाई आर्थिक सहयोग गरेको थियो । रावलका दुई बच्चाको पढाई लेखाईमा सहयोग पुगोस् भनेर नगद १५ हजार रुपैयाँसमेत प्रदान गरिएको थियो । साथै, नाडाका सदस्यहरुले निजको परिवारका सदस्यलाई काठमाडौं वा जनकपुर जहाँ भए पनि रोजगारी दिने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया